बागलुङमा स्वास्थ्यकर्मीमाथि जातिय विभेद, दलितले दिएको औषधी खान्न भनेपछि स्वास्थ्य केन्द्र बन्द

बागलुङमा स्वास्थ्यकर्मीमाथि जातिय विभेद, दलितले दिएको औषधी खान्न भनेपछि स्वास्थ्य केन्द्र बन्द

Badigad Online
2 Min Read

बागलुङ : बागलुङ नगरपालिका १३ को पैयुँपाटा शहरी स्वास्थ्य केन्द्र बास्कोटमा कार्यरत अनमी सोनम परियारमाथी जातिय विभेद भएको छ । स्वास्थ्य केन्द्रमा आएका एक विरामीले आफु दलित भएकै कारण औषधी नलिएको परियारले बताउनु भयो ।

बागलुङ नगरपालिका ७ स्थित तितौरे शहरी स्वास्थ्य केन्द्रमा कार्यरत सोनम भदौ १ गते पैयुँपाटा शहरी स्वास्थ्य केन्द्रमा सरुवा हुनु भएको थियो । भदौ ३ गते आइतबार स्वास्थ्य केन्द्रमा हाजिर भएकी सोनमले बुधबार आफुमाथी जातिय विभेद भएको बताउनु हुन्छ ।

‘बुधबार एक स्थानिय महिला ग्यासट्राइटिसको चेकजाँच गर्न स्वास्थ्य केन्द्र आउनुभएको थियो,’ अनमी सोनमले भन्नुभयो ‘उहाँले नानी नयाँ हुनु हुँदो रहेछ, नाम के हो, घर कहाँ हो थर के हो भनेर सोध्नुभयो मैले सबै कुराको सहजै जवाफ दिए, त्यसपछि उहाँले दमिनी पो रहिछौं तिमीले दिएको औषधी त कसरी खाने लैजान्न भन्नुभयो ।’

आजसम्म गाउँको स्वास्थ्य केन्द्रमा उपल्ला जातका स्वास्थ्यकर्मी मात्र आएको अहिले किन दलित पठाएका होलान भनेर कानेखुसी गरेको देखेपछि आफु झसँग भएको सोनमको भनाई छ । सुरुवा भएर गएको एक साता नहुँदै जातकै कारण विरामीले औषधी नलिएपछि कार्यलयबाटै रुदै नगर स्वास्थ्य शाखामा जानकारी गराएको उहाँको भनाई छ ।

अनमी सोनमले रुदै फोन गरेपछि बागलुङ नगर स्वास्थ्य शाखाले नगरपालिकामै बोलाएर घटनाबारे जानकारी लिएको छ । बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले सोनममाथी जातिय विभेद गर्ने महिलाको सोधखोज गरिरहेको बताउनुभयो । खनालका अनुसार स्वास्थ्य केन्द्र केही दिन बन्द रहने छ ।

‘सोनमको जात सोधेपछि बिरामीले आफ्नो नाम थर नबताई गएको पाईएको छ,’ खनालले भन्नुभयो ‘सबैभन्दा पहिले विभेद गर्नेको पहिचान गर्दैछौ ।’ बागलुङ नगर क्षेत्र भित्र स्वास्थ्यकर्मीमाथी भएको जातिय विभेद अमानवियताको पराकाष्ट भएको दलित अधिकारकर्मी धनबहादुर परियारको भनाई छ । उहाँले दलित भएकै कारण सोनममाथी विभेद गर्नेलाई खोजि गरि कारबाही गर्नुपर्ने बताउनु भएको छ । सिर्जना पन्त, बागलुङ

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित