बागलुङ : निर्वाचित भएको एक बर्ष भयो । गत बर्षको स्थानीय तह निर्वाचनमा आफ्नै दलको बागीसहित ५ उमेदवार हराएर वडा अध्यक्षमा निर्वाचित हुँदा उनी कान्छो जनप्रतिनिधि थिए ।
उनले आफ्नै बाबुआमा सरहका उमेदवार पराजित गर्दा टिकाटिप्पणी आयो ‘चुनाव त जित्यो, कसरी काम गर्छ हेरौंला’ । तर एक बर्षमा उनले पाको उमेरकालाई समेत दंग पार्ने काम गरेर देखाएका छन् ।
गलकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष पवन हमालले छोटो समयमा देखिने गरी काम सम्पन्न गरेका छन् । झण्डै १५ बर्षदेखि अलपत्र रहेको खहरे खोलाको ‘राजाको पुल’ पक्की बनाए । वडा, नगर र बिदेशमा बस्ने युवाको समेत रकम परिचालन गरेर २० लाखमा पुल बनेको हो । यो पुल बनेपछि वडामुकाम र नगरपालिकाबीच सिधा यातायातले जोडिएको छ ।
यो पुल नहुँदा बर्षातमा सास्ती हुन्थ्यो । हरेक बर्ष ४ देखि ५ लाख खर्चेर अस्थायी पुल बनाउँदा जोखिम थियो । अहिले भने पक्की पुल बनेपछि यात्रा सहज भएको स्थानीय तुलसी निउरेले बताए ।
हमालकै नेतृत्वमा खहरे खोलाकै कौलेनीदेखि श्रद्धाखेत जाने पैदल पुल त एक लाख रुपैयाँमै सम्पन्न भएको छ । यो पुल नहुँदा बर्षेनी घाँसदाउरा गर्ने किसान र बिद्यार्थी बगाउने गथ्र्यो । कतिपय त खोलामै बेपत्तासमेत भए । ‘बर्षातमा कति बालबालिकाले पढाइ नै छाड्नुपथ्र्यो’ स्थानीय नारायणध्वज मल्लले भने, ‘काम गर्ने हो भने एक लाखमा पनि पक्की पुल बन्ने रहेछ ।’ सिमेन्ट र रड मात्रै खरिद गरी सबै काम श्रमदान गर्दा पैदल यात्रा गर्ने पक्की पुल बनेको हो । रेलिङका लागि समेत पुरानो खानेपानी आयोजनाको पाइप प्रयोग भएको छ ।
एकबर्ष भयो अत्यावस्यक कामले एकदुइ पटक सदरमुकाम जानेबाहेक उनले टाढाको यात्रा गरेका छैनन् । बरु बाढीपहिरो गएको स्थानमा आँफै ढुंगा बोक्छन् । पाइपलाइन बिच्छ्याउने काममा अग्रसर हुन्छन् । टोल सफाइमा दैनिकजसो जुट्छन् । उनको सक्रियता देखेर अरु युवा पनि काममा खटिने गरेका छन् ।
पुरानो सदरमुकाम रहेको हरिचौर बजार एक बर्षमा पक्की सडक र नाली सहितको बनिसकेको छ । ‘बजारदेखि टेउवाको मुर्तिकलासम्म ८ किमी सडक कालोपत्रे गर्ने तयारी छ’ उनले भने, ‘ग्राभेल भैसकेको छ, बजेट जुटाउने काम भैरहेको छ ।’ टेउवामा ४ बर्षअघि १० देशका १५ कलाकारले ढुंगाका मुर्ति कुँदेका छन् । यहाँ २ देखि ३ घण्टाको पैदलमा घुम्टे पहाड चढ्न सकिन्छ । ११ हजार फिटको घुम्टे यहाँको अग्लो पहाड हो । घुम्टेमा सिद्द भैरव मन्दिर छन् । गलकोटेले भैरवको पूजा गर्दा आँटेताकेको पुग्ने विश्वास गर्छन् ।
‘घुम्टेका पर्यटकीय पूर्वाधार पनि बनाउन लागेका छौं’ स्थानीय झंकबहादुर बस्नेतले भने, ‘वडा अध्यक्षले धेरै सहयोग गरेका छन् ।’ गतबर्ष गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको ८० लाख भने प्राविधिक अभावमा फर्ता भयो ।
हमालले वडाको सानो सानो बजेट परिचालन गरेर ६ वटा खेल मैदान बनाइसकेका छन् । टेउवा, श्रद्दाखेत, दानसिं, हरिचौर, सिमलबोट र भैंसे लगायतका स्थानमा भलिबल मैदान बनाउन लगाएका हुन् । कतिपय काममा उनी आँफै गएर माटो फाल्ने कामसमेत गरेका थिए । टेउवा नजिकै फूटबल मैदान बनेको छ । व्यवस्थापन गर्न सकेमा मेयरकप फूटबल प्रतियोगिता यहीं गर्न उनले प्रस्ताव राखेको बताए ।
वडा अध्यक्षकै नेतृत्वमा असहाय र असक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता पु¥याइदिने काम पनि भएको छ । जेष्ठ नागरिकका लागि घरघरमै स्वास्थ्य सेवा अभियान सम्पन्न भएको हो । शाखाका स्वास्थ्यकर्मी र नगर अस्पतालका डाक्टर पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधी बितरण गरिएको थियो ।
वडाका सबै ग्रामीण सडक हरियाली र वातावरणमैत्री बनाउने उनको तयारी छ । अधिकांस सडक छेउमा ८ हजार बिरुवा रोपिसकेका छन् । ‘पहिरो रोक्ने र वातावरणमैत्री वडा बनाउने लक्ष छ’ हमालले भने, ‘वन कार्यालयबाट केही बिरुवा पायौं, केही किनेर ल्यायौं ।’ बस्ती भएको सडकमा भने गमलामा फूल रोपेर सजाउने काम शुरु भएको हो ।
सार्वजनिक सम्पत्ति संरक्षण गर्ने भन्दै साउन महिनाभर खोजी गर्दा हरिचौर बजारमा ८ आना जग्गा वडाको संरक्षणमा ल्याइसकेका छन् । बालमैत्री नगरका लागि चाहिने उद्यान निर्माण गरेका छन् । जेष्ठ नागरिक उद्याम निर्माणाधिन छ ।
तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले अस्पताल बनाउने निर्णय गरेपछि डाक्टर भित्राउने, उपकरण खरिद, देश बिदेशबाट सहयोज जुटाउनेजस्ता काममा हमालले पहल गरे । अहिले सदरमुकामको धौलागिरि अस्पतालजस्तै दैनिक २ सयसम्म बिरामीले यो अस्पतालमा उपचार पाउन थालेका छन् । ‘व्यवस्थापनमा वडा अध्यक्षहरु र नगरप्रमुखले सहयोग गर्नुभएको छ’ अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने, ‘गाउँको अस्पताल भएपनि जनप्रतिनिधि सचेत बन्दा सहरजस्तै सेवा दिन सकियो ।’ अहिले यो अस्पतालमा अपरेशनसहित भिडियो एक्सरे र माइनर अर्थोपेडिकको उपचार समेत हुने गरेको हो ।
व्यवस्थापन संकायको स्नातक हमाल कांग्रेसको गलकोट नगरपालिका वडा नं. ५ को सभापतिसमेत हुन् । उनी सभापतिमा भने निर्विरोध चुनिएका थिए । गलकोटका अधिकांस युवा जापान र युरोपमा छन् । हमाललाई पनि बिदेश जाने दवाव थियो । तर उनले राजनीतिक क्षेत्रमा क्रियाशिल हुने बताए । बाबु टेकबहादुर र आमा लीलाले पनि छोरो राजनीतिमा सक्रिय भएर गाउँमै बसेकोमा खुसी व्यक्त गरे । ढोरपाटन राष्टिय दैनिकबाट