सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ । नगर उप-प्रमुख गगां श्रेष्ठको नेतृत्वमा मंगलबार पहिलो दिन वडा नं ७ वामीटक्सार स्थित पल्टार बजारका विभिन्न पसल व्यवसायहरुको अनुगमन गरिएको हो ।
मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले पहिलो दिन खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगर उपप्रमुख गंगा श्रेष्ठले जानकारी दिनुभयो ।
वामीटक्सार बजारका २२ वटा पसलहरुमा गरिएको अनुगमनका क्रममा कतिपय व्यवसायीले व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको, नविकरण नगरेको, होडिङ वोर्ड नराखिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था कमजोर रहेको मूल्य सूची नराख्ने गरेको भेटिएको छ ।
नगरपालिकाले विभिन्न आधारमा बजार अनुगमनको क्रममा मापदण्ड नपुगी सञ्चालन गर्ने विभिन्न व्यवसायीहरुबाट २ हजार २ सय रुपैयाँ जरिवाना समेत असुल गरेको छ ।
जरिवाना पहिलो पटक भएकाले न्यूनतम तोकिएपनि आगामी दिनमा पुन ः गल्ती कमजोरी दोहोराउने व्यवसायीहरुलाई भने जरिवानाको दायरा समेत बढ्ने नगरपालिकाका प्रशासन सहायक सुमन खरेलले बताउनुभयो । नगरपालिकाले नियमित रुपमा बजार अनुगमन कार्यलाई अगाडी बढाईरहेको भन्दै चाडपर्वहरु समेत नजिकिँदै गर्दा सबै वडामा रहेका पसल तथा व्यवसायहरुको क्रमिक रुपमा अनुगमन गरिँदै जाने उहाँले बताउनुभयो ।
अघिल्लो पटकको बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामाग्रीहरु विक्री वितरण गर्ने गरेको पाईएपनि यसपटक भने म्याद गुज्रेका सामाग्रीहरु न्यून भेटिएका छन् ।
अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल र खरिद बिल राख्न, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न, साईनबोर्ड राख्न निर्देशन समेत दिएको छ ।
नगरपालिकाले गत जेठमा वडा नं ७ को टार बजार, वडा नं ६ को भुवाचिदी बजार र वडा नं १ को पौँदीअमराई बजारमा अनुगमन गरेको थियो ।
अनुगमनमा मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठ सहित, प्रशासन सहायक एवम् वडा नं ७ का वडासचिव सुमन खरेल, कृषि अधिकृत जनक पौड्याल, भेटेनरी डाक्टर अनिषा गौतम, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष गोपिकृष्ण खरेल, सचिव सुन्दर प्रधान, होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्ले, पत्रकार सागर भण्डारी लगायत नगरप्रहरीहरुको उपस्थिति रहेको थियो ।