कञ्चनको छोरा प्रवृति माथिको क्रान्ति :आमाको मृत्युपछि गरिन् किरिया

कञ्चनको छोरा प्रवृति माथिको क्रान्ति :आमाको मृत्युपछि गरिन् किरिया

Badigad Online
6 Min Read

टोपलाल अर्याल, गुल्मी : २० बर्षीया कञ्चन रोका मगरले भर्खरै आमाको किरिया सकिन् । हाम्रो समुदायमा केश मुण्डन र सेतो बस्त्रलाई दुखसंग जोडिन्छ । तर, त्यसलाई कञ्चनले छोरा प्रवृति माथिको क्रान्ति भनिन् । परिवारमा छोरा नभएकोमा जीवन जीवन जस्तो नभएर चुक्चुकाइरहेका कैयौ दम्पती छन् । छोरी भएकै कारण भ्रूणर् हत्या हुन्छ । नेपाली समुदायका कैयौँ संस्कार छोरा केन्द्रित छन् । तर, कञ्चनले पुरै कपाल फालेर किरिया बसिन् । ‘कतिपयले थोरै कपाल फाल्न पनि भने ।

मेरो मनलेनै मानेन,’उनले भनिन,‘कपाल फर्किन्छ आमा फर्किनु हुँदैन् ।’ मालिका गाउँपालिका ७ की कञ्चन चार छोरीहरु मध्येकी साँइली हुन । दुई जना दिदिहरुले बिहे गरे । परदेशी बुवा । आमा र सानी बहिनीसंगैको परिवार । उनले परिवारका सवै दुखमा असल छोरीको भूमिका निर्बाह गरिन् । बुबालाई कहिल्यै छोराको महसुस हुन दिइनन् । सानैदेखि क्रान्तिकारी स्वभाव भएकी कञ्चनले छोराहरुमा मात्रै पौरख र संस्कारका कर्म निरन्तरता देख्ने पितृसत्तात्मक सोँच र समुदायका लागि आमाको उपचारदेखि घाट र किरियासम्म परिवर्तनको सन्देश प्रबाह गरेकी छन् । किरिया बसेकी कञ्चनको घरमा थुप्रै महिलाहरु आउँछन् ।

घरदेखि पधेँरासम्म महिलाहरुकै सहयोग पाएकी छन् । किनकी कञ्चनको आमा हुमकला गाउँका थुप्रै समुह र संघसंस्थाको अगुवा थिइन् । क्षेत्री र ब्रहामण जातीको बाहुल्यता भएको गाउँमा मगर चेलीले देखाएको क्रान्तिबाट समुदायनै खुसी छन् । ‘छोराछोरीमा केहि फरक छैन । फरक त केवल हाम्रो सोँच हो,’उनले भनिन,‘सवैको स्याबासीले पीडामा पनि उर्जा थपेको छ ।’ स्थानीय तथा अगुवा समाजसेवी सन्तोष लम्सालले दुखद क्षणमा कञ्चनले गरेको सुखद क्रान्तिको सम्मान गरे ।

छोराहरुले मात्रै चलाउन पर्ने किरिया कर्मको गलत सोँचलाई कञ्चनले तोडेको लम्सालले बताए । बुबा तारा बहादुर रोकामगरले पनि आफुहरुले कहिल्यै छोराको महसुस गर्न नपरेको बताए । आमाको उपचारदेखि किरियाकर्मसम्म छोरीले देखाएको उर्जा र हिम्मतले आफु निकै प्रभावित भएको प्रतिक्रिया मगरले दिए ।

आँसु लुकाएर आमा र आफन्त सम्झाएँ

कञ्चनको हजुरआमा ७२ बर्षीया ओमकुमारी रोकामगर बिरामी थिइन् । बुटवलमा महिनादिन उपचारपछि ज्यान २८ साउनमा ज्यान गयो । घरमा आमा ४५ बर्षीया हुमकला बिरामी परिन् । परदेशबाट बुबा तारा बहादुर रोकामगर घर आए । तीन दिनपछि आमाको किरियामा बसे । कञ्चनलाई हजुरआमाको शोकमा आमा बिरामी भएको पीडा थियो ।

उनले २ भदौमा आमालाई उपचारको लागि गुल्मी अस्पताल तम्घास पुराइन् । जण्डिसले गालेकाले डाक्टरहरुले तुरुन्त बुटवल लैजान सुझाव दिए । कञ्चनलले एक्लै एम्बुलेन्स र पैसाको जोहो गरेर बुटवल लगिन् । अवस्था झनै बल्झिएपछि बुटवलबाट पनि डाक्टरहरुले काठमाण्डौ जान भने । कञ्चनको मनमा चिसो पस्यो । आमा अवस्था । कहिल्यै नपुगेको काण्माण्डौ र उपचार । कञ्चनले हिम्मत जुटाइन र हतपतमा आमालाई दौडाएर काठमाण्डौ पुराइन् । काठमाण्डौ त पुराइन तर डाक्टर झस्किए ।

अवस्था गम्भिर भएको सुनाएँ । कञ्चनको खुट्टा सेलाउँदै गए । अस्पतालले कहिल्यै सुखद कुरा सुनाउन सकेन । डाक्टरहरुले आफन्तहरु भेट्न लगाए । कञ्चन आफुले बुझ्थिन तर, आमालाई भन्थिनन् । घरबाट बुवालाई बोलाइन् । फोनमा सानी बहिनीसंग केहिबेर बोलेपछि आमा शिथिल बनिन् । अवस्था बल्झिदै गएपछि अस्पतालले भेन्टिलेटरमा राख्ने वा नराख्ने भने । तर, कञ्चनले झिनो आशा गर्दै राखिन । आमाको पीडा अचाक्ली थियो । उनले डाक्टरलाई दुखाई कम गर्न भन्थिन ।

त्यसका लागि १० हजार खर्चेर औषधी ल्याइन । रगत खोजिन, औषधीको दौडधुप र न भोक न निद्रा । कञ्चनले आमाको माया मारिन । आमाले भेट्न पुगेका श्रीमान चिनिनन् । कञ्चनले शिथिल बुवालाई उर्जा भरिन र भनिन्,‘बुबा जीवन हो भोग्नपर्छ, म छु केहि चिन्ता नलिनुस् ।’ अन्तत १३ भदौमा अस्पतालले कञ्चनलाई आमा नभएको सुनाए । केहिबेर स्तब्ध बनिन् । तर, आँसु लुकाएर बाबा र आफन्त सम्झाइन् ।

आमाको मंगलशुत्र बुझेपछि मुर्छा परेँ

घर व्यावहार बुझेकी कञ्चन । छोरीहरुको भविष्य सम्झिएका बाबा-आमा । उनलाई आफुहरुको सधै खुसी खोज्ने आमाको गलामा मंगलशुत्र देख्ने रहर थियो । एकदिन कञ्चनलेनै जोड गरेर आमालाई मंगलशुत्र लगाइदिएकी थिइन् । बिरामी आमा थला पर्दै गएपछि कञ्चनलाई अस्पतालले बोलाएर त्यहि मंगलशुत्र हातमा दिए र कागज गराए ।

अस्पताल अध्याँरो बन्यो । केहि सोच्न सकिनन् । उनले आफैले जिद्धि गरेर आमाको घाँटीमा पहिर्‍याइदिएको पलको स्मरण गरिन् । मनले माया मार्‍यो । फर्किदा आमाको याद र त्यहि मंगलशुत्र मात्रै रह्यो । ‘घरदेखि काटमाण्डौसम्म सयौ पीडा खेपेँ । तर, अस्पतालले मंगलशुत्र बुझाउँदा मुर्छा परेँ,’उनले भनिन,‘आमा छोडेर गहना मात्रै बोकेर फर्किनुपर्नेमा विश्वस्त भएँ ।’

शोक र पीडाले कठोर बनायो

कञ्चनले आमा मरेपछि बाबा सम्झाइन । त्यसपछि बाबाले कञ्चनलाई सोधे कसरी दाहा संस्कार गर्ने भनेर । कञ्चनले काठमाण्डौनै मृत्यु भएकाले पशुपतिनै लैजाने भनेर बुबालाई सहमत गराइन् । त्यसपछि आफन्तमा दागबत्तिको चर्चा चल्यो । कञ्चन आफैले आमाको दागबत्ति र किरिया गर्ने निणर्य सुनाइन् । कञ्चनको शाहसमा कसैले टिप्पणी गरेनन् ।

अस्पतालदेखि घाटसम्मको व्यावस्थापनमा सक्रिय कञ्चनले आमाको दागबक्ति दिइन् । उनले २८ साउनमा मृत्यु भएकी ७२ बर्षीया हजुरआमा ओमकुमारी रोकामगरको पनि दागबत्ति दिएकी थिइन् । ‘आफ्नै आमालाई आगो लगाउँदा पनि एक थोपा आँसु झरेन । मैले शोकभन्दा छोरासरहको बाँकी कर्म सम्झेर कठोर थिएँ,’उनले भनिन,‘हजुरआमाको शब पनि मैलैनै हस्ताक्षर गरेर बुझेकी हुँ ।’ दाहासंस्कार गरेर घर फर्किदाँ दिदिहरु पीडाले अचेत थिए । कञ्चनले दिदिहरुको शोकलाई पनि शक्तिमा बदल्ने हिम्मत दिइन् । २० बर्षीया कञ्चन रोका मगरको मनमा आमाका अतित छन् । तर, अब देख्नको लागि दैलो नजिकको तस्विर बाहेक अरु केहि छैन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित