भाइरल होमनाथ सर निजामति सेवा छाडेर लागेका थिए शिक्षण सेवामा : यस्तो छ परिवार

भाइरल होमनाथ सर निजामति सेवा छाडेर लागेका थिए शिक्षण सेवामा : यस्तो छ परिवार

Badigad Online
3 Min Read

काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयकको विरुद्धको आन्दोलनमा एक शिक्षकको भिडियो सामाजिक सञ्जालभरी सार्वजनिक भयो । सिलाएको झोला बोकेर आन्दोलनमा अगुवाइ गरिरहेका उनको भिडियो भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा असल शिक्षकको रुपमा प्रशंसासहित सार्वजनिक भएका तिनै शिक्षक होमनाथ न्यौपानेको बारेमा नेपाल प्रेसले थप जानकारी लिएका छौँ ।

४० वर्षका होमनाथ न्यौपाने माध्यामिक तहका शिक्षक हुन् । विज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर न्यौपाने देवचुली नगरपालिका १५ मा रहेको जनज्योती माध्यामिक विद्यालयका गणित शिक्षक हुन् ।

२०७१ सालको शिक्षक सेवा आयोगमा स्थायी नाम निकालेर माध्यामिक विद्यालयमा अध्यापनको लागि प्रवेश गर्नुअघि उनी निजामती सेवाका कर्मचारी थिए । प्रशासन तर्फका खरिदार पदमा ३ वर्ष सेवा गरेपछि उनी निजामती सेवा छोडेर शिक्षण पेशामा फर्किएका हुन् ।

‘जिल्ला हुलाक कार्यालयको खरिदारको रुपमा पोष्टिङ भएपनि मेरो काज प्रधानमन्त्री कार्यालयमा थियो, शिक्षक न्यौपानेले भने, ‘विद्यार्थीबीच रमाउने बानी परिसकेकोले निजामती सेवामा रमाउन सकिन र शिक्षणमै फर्किएँ ।’

जनज्योती माध्यामिक विद्यालयबाट नै कक्षा १२ सम्म न्यौपानेले विज्ञान विषयमा प्रथम भएर उत्तीर्ण भएका थिए । भरतपुरको बीरेन्द्र बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण हुँदासम्म उनले चितवन र नवलपरासीका विभिन्न विद्यालयमा शिक्षण अनुभव बटुलिसकेका थिए ।

त्यतिबेलासम्म अध्यापनमा रमाइसकेका उनी जब स्नातकोत्तर पढाइका लागि कीर्तिपुर पुगे त्यहाँ साथीहरु लोकसेवा पढ्ने माहौलले मात्रै उनलाई लोकसेवा तयारीको लागि प्रेरित गरेको थियो । त्यसैले निजामती सेवाभन्दा पढाउने पेशाले नै उनलाई तान्यो ।

२०७१ सालमा स्थायी बनेर शिक्षण सेवा प्रवेश गरेका उनी विद्यार्थीमाझ लोकप्रिय छन् । धेरैजसो शिक्षकहरु सरकारी पोशाकमा चट्ट परेर विद्यालय जान लाग्दा आफ्ना सन्तानलाई निजी विद्यालय छोडेर निस्किएका दृष्य सामान्य झैँ देखिन्छन् ।

तर, न्यौपानेको अर्को सिद्धान्त छ । आफूले पढाउने शिक्षा गुणस्तरीय छ भने आफूले पढाउने विद्यालयमा आफ्ना सन्तान पढाउन सक्नुपर्छ । त्यसैले उनको छोरी पनि आफ्नै विद्यालयमा पढाउँछन् ।

छोरी प्रकृति न्यौपाने कक्षा १० की छात्रा हुन् । उनी कक्षा मात्रै होइन विद्यालयकै प्रथम पनि छन् । जिल्लामा भएका अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुन्छिन् ।

न्यौपानेका श्रीमती छविकला न्यौपाने पनि सरकारी विद्यालयकै शिक्षक हुन् । प्राथमिक तह स्थायी उनी घर भएको देवचुली १४, को जनज्योती नमुना माध्यामिक विद्यालयको शिक्षक हुन् ।

‘श्रीमान श्रीमती नै भावी प्रधानमन्त्री, प्रशासक, नेता, विज्ञ पढाइरहेका छौँ, न्यौपाने भन्छन्, – सबैभन्दा ठूलो आत्मसम्मान हो, आत्मसन्तुष्टि हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित