सागर भण्डारी, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले पालिकाका दुर्गम तथा भौगोलिक रुपमा दुर्गम रहेका क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्धेश्यले सुरु गरेको एकीकृत ग्रामीण मोबाईल स्वास्थ्य सेवा कार्यक्रम वडा नं ४ जलजलामा सम्पन्न गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्ष २०७९/०८० मा महत्वपूणर् कार्यक्रमको रुपमा यो कार्यक्रमको सुरुवात गरेको थियो । सोही कार्यक्रम अन्तर्गत सोमबार गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले जलजलाको साउनेडाडा पुगेर विभिन्न स्वास्थ्य चेकजाँच, उपचार तथा परामर्श सेवा दिएका छन् ।
जसमध्ये ८ जना गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे, १० जना शिशुको तौल अनुगमन, ३६ जनाको मधुमेहको लागि रगत परिक्षण, ११ जना शंकास्पद बिरामीको खकार नमुना संकलन, ५१ जनाको डेङ्गी तथा नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिक्षा र परामर्श सेवा सहित ६८ जनाको स्वास्थ्य जाँच र उपचार सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य सयोंजक बिपेन्द्र केसीले जानकारी दिनुभयो ।
बडिगाड स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र जलजला स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको उपस्थितिमा उक्त स्वास्थ्य सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । उक्त ठाउँ स्वास्थ्यचौकी सगैं भोगोलिक हिसाबले पनि अत्यन्तै टाढाको वस्ती रहेको केसीको भनाई छ ।
भौगोलिक रूपमा विकट रहेको बडिगाड गाउँपालिकाले मातृ तथा शिशु मृत्युदर घटाउँदै जिरो ‘होम डेलिभरी’ गराउने र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाभर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम ल्याएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।
स्वास्थ्य शाखाले प्रत्येक महिना वडा कार्यालय, स्वास्थ्य चौकी, गाउँघर क्लिनिक र खोप क्लिनिकमा पुगेर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रमको सम्पूणर् सेवा प्रदान गर्दै आईरहेको छ ।
यस कार्यक्रम अन्तर्गत गर्भवती महिलाको निशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रगत परीक्षण, बालबालिकाको तौल अनुगमन, स्वास्थ्य जाँच, उपचार तथा परामर्श, पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार नियोजन सम्बन्धी सेवा, शङ्कास्पद बिरामीको खकार नमुना सकंलन गर्ने गरिएको छ ।
विभिन्न समयमा १० वटै वडामा पुगेर स्वास्थ्य सचेतना एवम् उल्लेखित स्वास्थ्य सेवा गर्ने गरिएको भण्डारीले बताउनुभयो ।