सागर भण्डारी,बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले पालिकाको आफ्नै लोगो अर्थात प्रतिक चिन्ह निर्माण गर्ने भएको छ ।
असौज ४ गतेको गाउँ कार्यपालिका बैठकको निणर्य अनुसार गाउँपालिकाको सामाजिक, आर्थिक, राजनितिक, साँस्कृतिक तथा भौगोलिक लगायत विशेषता झल्किने लोगो निर्माण गर्न लागिएको हो ।
लोगो निर्माणका लागि गाउँपालिकाले असौज ७ गते सार्वजनिक सूचना जारी गरेको छ । सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र तोकिए अनुसार लोगो निर्माण गरी गाउँपालिकाको कार्यालयमा बुझाउन भनिएको छ ।
कार्यालयमा आएका लोगो मध्ये उत्कृष्ट लोगो छनौट हुने र उत्कृष्ट लोगो निर्माणकर्तालाई २५ हजारले पुरस्कृत गरिने प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।
पालिकाको लोगोमा नेपालको निशान छापको आकारमा बडिगाड गाउँपालिकाको मौलिक विशिष्टता झल्कने हुनुपर्ने भण्डारीले जानकारी दिनुभयो । पालिकाको लोगोको मूल्यांकन समेत कार्यपालिकाले गर्ने बताईएको छ ।
स्थानीय तहहरुले आफ्नै लोगो निर्माण गर्न पाउने व्यवस्था छ । सोही अनुसार बडिगाड गाउँपालिकाले आफ्नै लोगो निर्माण गर्न लागेको हो ।