सागर भण्डारी, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं – १० स्थित बल्देडाँडामा होली मेलाका क्रममा दुई जनाको ज्यान जाने गरी भएको घटनाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
घटनामा संलग्न आरोपमा जिल्ला अदालत बागलुङबाट मिति २०७९/०९/ २६ गतेको फैसला बमोजिम २३ वर्ष ८ महिना २४ दिन कैद सजाय सुनुवाई भई फरार रहेका बडिगाड गाउँपालिका वडा नं १० का २९ वर्षीय तेजपाल भन्ने तेजेन्द्र छन्त्याल र १५ वर्ष २ महिना ९८ दिन कैद सजाय सुनुवाई भई फरार रहेका सोही ठाउँका १९ वर्षीय राज कुमार घर्तीलाई पक्राउ गरि जिल्ला अदालत बागलुङ पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उक्त घटनाका ८ जना अभियुक्तलाई प्रहरीले यस अगाडी नै सार्वजनिक गरेको थियो । बागलुङ, गुल्मी र प्युठानको सीमानामा पर्ने दर्लिङ बल्देधुरीमा फागु पूणर्िमाको दिन बर्षेनि लाग्ने मेलामा दुई गाउँका युवाबीच झडप भएको थियो ।
युवतीलाई जबर्जस्ती रङ दलेको विषयमा सुरु भएको झडपमा २ जनाले ज्यान गुमाउनु परेको थियो । घटनामा मृत्यु हुनेमा बागलुङकै निसी खोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइले ज्यान गुमाएका थिए ।