पर्वत : जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा बग्दै मोदी खोलामा मिसिने तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका दुई जनाको खाजी कार्य आज तेस्रो दिन पनि जारी छ।
गत शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा रोकिएको बेलामा अचानक आएको बाढीले बगाएको थियो। बाटो पार गर्ने क्रममा लेदोमा जिप फसेपछि चालक वसन्तबहादुर थापा जिपबाट ओर्लिएर ‘टायर’ मा लागेको अवरोध हटाउन पुगे। त्यही बेलामा बाढी आएपछि थापाले ज्यान बचाउन सके तर जिपभित्रै रहेका तीनजना यात्रु भने जिपसँगै बगे।
जिपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ बर्षिया गोपाल बस्याल, कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का विजय भनिने २७ वर्षीय माधव पौडेल र बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा । घटना भएकै रातमा तिलोत्तमाका बस्यालको शव भेटिएको भए पनि पौडेल र थापाको अवस्था अझै पनि अज्ञात छ। मृत अवस्थामा भेटिएका बस्यालको शव भने पोस्टमार्टम सहितका कानुनी प्रक्रियाहरू पूरा गरेर आफन्तलाई बुझाइएको छ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले घटना भएदेखि नै तीव्र रूपमा खोजी जारी राखेको भए पनि अझैसम्म बेपत्ता दुईजनाको अवस्थाका बारेमा कुनै सूचना मिलेको छैन। यद्यपि जिपको केही भागका पार्टपुर्जा भने खोलाकै ढुङ्गा, लेदो र गेगरमा पुरिएको अवस्थामा भेटिएका छन्।
सुरक्षाकर्मीको गोताखोर टोली र तालिम प्राप्त कुकुर सहितको तमादी खोला तथा उक्त खोला मिसिने मोदी खोलामा समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए।
‘आज तेस्रो दिनमा पनि हामीले खोजीमा कत्ति कमी गरेका छैनौँ। अस्ति साँझ घटना भएलगत्तैबाट सुरक्षाकर्मी र आम नागरिकले पनि निकै मिहिनेतका साथ खोजी गर्दा पनि उहाँहरू भेटिनुभएको छैन,’ उनले भने, ‘यहाँको जनशक्तिको मिहिनेत सँगसँगै कुकुरहरूको सहायताबाट पनि भेट्टाउन सहज हुने भएकोले पोखराबाट कुकुर ल्याएर तमादी र मोदी खोला सहित खोलाकातिर र सम्भावित क्षेत्रहरूमा खोजी भइरहेको छ।’
यसअघि २०७८ सालको असार २२ गते साँझमा तमादी खोलापछि आउने दोबिल्लामा रहेको सुन्दरे खोलामा यसैगरी आएको बाढीले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित तीन जनालाई गाडी सहित बगाएको थियो। त्यो बेलाको बाढीले पनि जिपलाई करिब पाँच सय मिटर तल मोदी खोलाको किनारमा पुर्याएको थियो।
अहिले तमादी खोलाले बगाएको जिप घटनास्थलबाट करिब चार सय मिटर तल पुगेको थियो।