काठमाडौँ : गोरखाका दीपक अधिकारी र दिया अधिकारी सोमबार दिउँसो चितवनका सामाजिक अभियन्ता अर्जुन भुसालको भरतपुरस्थित कार्यालयमा पुगे। तनावग्रस्त देखिएका उनीहरुले हतार हतार भुसालको कार्यालयमा पुगेर भने, ‘सर, हामीलाई सहयोग चाहियो। हाम्रो क्यानाडाको भिसा लागेको राहदानी र चार लाख २० हजार रुपैयाँ हरायो।’
उनीहरुले पोखराबाट भरतपुर आएपछि अटो चढिरहेका बेला आफूहरुको राहदानी र ४ लाख २० हजार रुपैयाँ हराएको बनावटी कथा भुसाललाई सुनाए। १० वर्षदेखि सयौँ असहाय र आपत्मा परेकाहरुलाई सहयोग गरिसकेका भुसालले पनि प्रहरी रिपोर्टसहितका विवरण नमागी तत्कालै सहयोग गर्ने निर्णयसहित भिडिओ बनाए।
यी अधिकारी दम्पतीको राहदानी र ४ लाख २० हजार रुपैयाँ हराएको विवरणसहित भुसालले आफ्नो ८ लाख ८९ हजार फलोअर भएको फेसबुक पेजमा तत्कालै पोस्ट गरे। उनले १ लाख १० हजार फलोअर भएको टिकटक एकाउन्टमा पनि उक्त भिडिओ हालेपछि धेरैले सामान भेटियोस् भन्ने कामनासहित प्रतिक्रिया दिइरहेका थिए।
उनले उक्त भिडिओ पोस्ट गरेको केही घण्टा नबित्दै भाइरल भइसकेको थियो। उक्त भिडिओ आएपछि नारायणगढ क्षेत्रमा अटो चलाउनेहरु पनि झस्किए। केही बेरमै खैलाबैला भयो। भुसाललाई बनावटी कथा सुनाएर भाइरल भइसकेका दीपक त्यसपछि मादक पदार्थ पिउन निस्किए। मादक पदार्थले लर्बरिएको स्वरसहित उनी आफ्नो मोबाइल फोन बेच्न भरतपुरकै एक मोबाइल पसलमा पुगे।
उनी उक्त पसलमा पुग्नुअघि नै भुसाले हालेको भिडिओ भाइरल भइसकेको थियो। त्यही बेला शंका लाखेर ती मोबाइल पसलेले दीपकको जीमेल आईडीको इनबक्स पनि चेक गरेँ। जहाँ क्यानाडासम्बन्धी कुनै पनि डकुमेन्ट र विवरण थिएनन्। मोबाइल पसलेले शंका गरेपछि दीपक त्यहाँबाट भागेर हिँडे। सामाजिक अभियन्ता भुसाललाई फसाइसकेका दीपकले चलाखी गरेर भागेपछि ती मोबाइल पसलेले उनलाई केही परबाट समातेर ल्याए।
त्यहीबीचमा दीपकले काम गर्दै आएको घरबाट सामाजिक अभियन्ता भुसाललाई फोन आयो। भरतपुरकै अञ्जना भण्डारीले दीपक र दीया आफ्नो गोठमा काम गर्ने मजदुर रहेको बताएपछि झुटो विवरण दिएर आफूलाई फसाइएको अर्जुनले चाल पाए। त्यसलगत्तै उनलाई दीपकलाई समातेर राखेका मोबाइल पसलेले फोन गरे। आफूलाई गलत सूचना दिएर फसाएका दीपक मादक पदार्थ पिएर लर्बरिएको अवस्थामा समातिएको थाहा पाएपछि अर्जुन त्यहाँ पुगे।
ती मोबाइल पसलेलाई पनि म माफी माग्छु आठ वर्ष भयो क्यानाडा बसेर आएको भनेका थिए। तर केरकार गरेपछि उनले ढाँटेको पोल खुल्यो। सामाजिक अभियन्ता भुसाल १० वर्षमा पहिलो पटक आफू फसेकोमा पछुताइरहेका थिए। उता दीपक भने आफूले कुनै गल्ती नगरेको बताइरहेका थिए। ‘नैतिकता छैन? इथिक्स छैन? मेरो कार्यालयमा आएर मलाई नै फसाउने? झन् दु:ख पर्यो होला भनेर सघाएको। गोठमा काम गर्ने मान्छेले क्यानाडाको भिसासहितको राहदानी र पैसा हरायो भनेर मलाई झुक्याइयो’, भुसालले भने।
तर उता दीपक भने अबदेखि फटाहा बोल्दिनँ, गल्ती गरेँ भन्दै अर्जुनको खुट्टा ढोगिरहेका थिए। उनले यो प्रकरणमा अर्जुनका खुट्टा सात पटकसम्म ढोगेर माफी मागे। ‘दीपकले झुटो बोलेर दुनियाँलाई सहयोग गर्ने मेरो बदनाम गरे। कति मान्छेलाई चिन्ता भयो। अटो चालक चोर हुन्छन् भन्ने म्यासेज पनि गलत तरिकाले गयो’, भुसालले भने, ‘मलाई सयौँले हराएका सुन र मोबाइल ल्याएर बुझाएका छन्। कयौँ मानिसको उद्धार गरेको छु, घर बनाइदिएका छौँ। तर मलाई पहिलो पटक मेरो कार्यालयमै आएर मिसयुज गरे।’
दीपकले मोबाइल पसलेलाई पनि आफूहरुको हराएको सामान बुटवलमा भेटिएको भन्दै आफूहरु त्यतातिर जान लागेको बताएका थिए। यो प्रकरणमा अर्जुनले दीपकलाई प्रहरीकहाँ बुझाउन लैजाने भन्दा उनी हामी एकै जातको भन्दै खुट्टा ढोगिरहेका थिए।
अर्जुनले १० वर्षदेखि सामाजिक काममा लागिरहँदा पहिलो पटक झुक्किएको सुनाए। उनले पुलिस रिपोर्ट नमाग्दा पनि झुक्किन पुगेको उल्लेख गरे। ‘गोठमा काम गर्ने हुनु हुँदो रहेछ। अबका दिनमा कसैले नझुक्याइदिनु होला’, दीपकले अन्तिम पटक खुट्टा ढोग्दै गर्दा अर्जुनले भने। nepalkhabar