काठमाडौं: झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले कर्मचारीलाई जंगलमा डेटिङमा लगेको भन्दै जिम्मेवारीबाट हटाएपछि श्रीमतीले बचाउ गरेकी छिन्।
‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको थियो।
उनीमाथि नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेको र हटाउने तयारी गरेपछि स्वास्थ्य शाखा प्रमुख बस्नेतकी श्रीमती प्रतिमा कोइराला बस्नेतले नै आफ्ना पतिले महिला कर्मचारीलाई डेटिङ नलगेको दाबी गरेकी छिन्। जबकि उनैले आफ्ना पति डेटिङ गएको अवस्थामा फेला पार्दै भिडिओ बनाएर सार्वजनिक गरेकी थिइन्।
पतिको जागिर जाने देखिएपछि पत्नी प्रतिमाले उक्त दिन आफू अवेशमा आएको र मिडियामा आएको जस्तो डेटिङ नभएको बताएकी छिन्। आफूले सो दिन आवेशमा आएर श्रीमानसँग भेटिएकी युवतीलाई नानाथरी गाली गरेको भन्दै उनले आत्मालोचना गरेकी छिन्।
यस्तै महिला कर्मचारीसँग आफ्नो लेनदेन रहेको र सडक किनारामा बसेर छलफल गरिरहेको समयमा कसैले आफूलार्ई उक्साएर घटना भएको बताएकी छन्।