विमल खड्का । हिमालयन मोदी ड्रिकिङ वाटर पिउँदै हुनुहुन्छ ? रोकिएर एकपटक हेनुहोस् । बजारमा जारको पानी भन्दा मिनिरल वाटरको पानी बढी प्रशोधित हुन्छ भन्नेमा पक्कै विश्वास गर्नुहुन्छ नि ? हो, तपाईंको त्यो विश्वास गलत हुन सक्दछ ।
त्यसै गरी आम मानिसले विश्वास गरी खाइरहेको हिमालयन मोदी ड्रिकिङ वाटरले तपाईंको जिवनमा पिउने पानीमार्फत गम्भीर खेलवाड गर्दैछ ।
पर्वतको कुश्मा नगरपालिका-८ मा रहेको पञ्चमुल स्प्रिङ वाटर कम्पनी लिमिटेडबाट उत्पादित हिमालयन मोदी ड्रिकिङ वाटरले उपभोक्ताको जिवनमा खेलवाड गरिरहेको छ । उसले प्रशोधित गरी बजारमा पठाएको मिनिरल वाटरमा किरा भेटिएको छ । अब भन्नुहोस् त्यो पानी पिउन कतिको उपयुक्त छ । यसले मानव जिवनमा कतिको असर पार्छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद २ को १ मा भनिएको छ प्रत्येक उपभोक्तालाई गणुस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार हुनेछ । तर उपभोक्ताको अधिकारलाई कुन्ठित गर्दै कम्पनीले गुणस्तर हिन वस्तु (पिउने पानी) बजारमा पठाएको हो ।
उसले बजारमा पठाएकाे पानीकाे उत्पादित मिति २० जुलाइ २०२३ रहेकाे छ। उत्पादन भएकाे ६ महिनासम्म प्रयाेग गर्न सकिने पनि उल्लेख गरेकाे छ । तर उत्पादन मिति बाँकी रहँदै उसले उपभाेक्ताकाे जिवनमा गम्भीर खेलवाड गरेकाे छ ।
०००
मंगलबार बागलुङ गलकोट नगरपालिका १० पाण्डबखानी घर भएका विष्णु काउचाले बडिगाड गाउँपालिका -२ को हाँडीखोलाको एक पसलबाट पानी किने । किनेको पानीमा किरा देखियो । तत्काल पसलेलाई भने तर पसले अक्कमक्क भए । पानी उत्पादन गर्ने पञ्चमुल स्प्रिङ वाटर कम्पनी गरेको बदमासी पसलेलाई थाहा हुने कुरै भएन ।
विष्णुले २५ रुपैयाँ हालेर किनेको पानी नखाइ त्यसलाई सुरक्षित राखेको बताएका छन् । ‘दिउँसो तिर्खा लाग्यो र बोतलको पानी किनेको (मिनिरल वाटर) किरा भेटियो’ उनले भने । ‘कहिले काहीँ समाचारमा देख्थे आज आफै भोगे,’ उनले भने, ‘ पञ्चमुल स्प्रिङ वाटर कम्पनीको लाप्रबाहीले नागरिकको स्वास्थ्यमा कस्तो असर परेको होला ?’
उनले उपभोक्ताको हित विपरित उत्पादन भएका वस्तुहरु उत्पादन गर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् । हाडिखोला जस्तै अन्य ठाउँका बजारमा पनि सोही कम्पनीले पानी वितरण गर्दै आइरहेको छ । यता, उपभोक्ता संरक्षण हित बागलुङ वाणिज्य निरीक्षक सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गुणस्तरहिन वस्तु (पानी) फेला परे कारबाही गरिने बताएका छन् ।
न्यूज खरीसँग कुराकानी गर्दै उनले भने-‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने खालको वस्तु भेटिए उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाही हुन्छ ।’ गुणस्तरहिन वस्तु वा अखाद्य वस्तु भेटिए जिल्ला प्रशासनमा खबर गर्न समेत उपभोक्तालाई उनको आग्रह छ । ‘लेबलिङ तथा गुणस्तरहिन वस्तु फेला परे हामीलाई जानकारी दिन आग्रह गर्दछु’ उनले भने, ‘हामीले त्यसको परीक्षण गरी कमजोरी भेटिए कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
सिल प्याक गरिएको पानीको बोटल जिल्ला प्रशासनमा पठाउन समेत उनले आग्रह गरेका छन् । ‘त्यस्तो भेटिएको मिनिरल वाटर हामीकहाँ पठाइदिन आग्रह गर्छु हामी चार्डपर्व लक्षित अनुगमन पनि गरिरहेका छौं । ’
के छ कारबाहीको व्यवस्था
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३३ अनुसार कुनै ठाउँमा असुरक्षित, असरयुक्त वा गुणस्तरहीन वस्तुको उत्पादन वा विक्रि वितरण भइरहेको वा सेवा प्रदान गरेको बखत निरीक्षण अधिकारीले जुनसुकै बखत जाँचबुझ गरी त्यस्तो काम गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा हेर्न अधिकारीको अनुमति लिइ ७ दिनसम्म थुनामा राख्न सक्नेछ ।
उपदफा ३ अनुसार निरीक्षण वा जाँचबुझ गर्दा गुणस्तर नभएको वस्तुको उत्पादन वा विक्रिवितरण भइरहेको वा सेवा प्रदान भइरहेको भए निरीक्षण अधिकृतले त्यस्तो वस्तुको नमुना लिई तोकिएको अवधिसम्मका लागि वस्तुको उत्पादन वा विक्रि वितरण रोक्न लगाउन सक्नेछ ।