बागलुङ । निजी क्षेत्रको विद्युत् कम्पनीले राष्ट्रिय राजमार्ग अतिक्रमण गरेको छ । गलकोट नगरपालिका-११ को मनेवामा निर्माणाधीन दरमखोला जलविद्युत आयोजनाले मध्यपहाडी लोकमार्गको एक किलोमिटर सडक खण्ड अतिक्रमण गरेको हो । जिल्ला समन्वय समितिले राजमार्ग अतिक्रमण भएको भन्दै आयोजनाको ध्यानाकर्षण गराएको छ । जिल्ला सभाले सडक अतिक्रमणमा परेकाले आयोजना कार्यालयले तत्काल अतिक्रमण हटाउनुपर्ने निर्णयसमेत गरेको छ ।
‘दुइटा गाडी पनि गुड्न नसक्ने गरी सडक अतिक्रमण भएको छ‚’ जिसस प्रमुख अमरबहादुर थापाले भने, ‘मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले पनि समयमा अनुगमन गरेको देखिएन ।’ आयोजनाले सडकमा पाइपलाइन बिछ्याएर पक्की संरचनासमेत बनाएको छ ।
लोकमार्ग राष्ट्रिय राजमार्ग भएकाले कम्तीमा सडकको मध्यभागबाट २५ मिटर संरचना बनाउन रोक लगाइएको छ । तर यहाँ कुल सडक ७ मिटर मात्र बाँकी छ । केही स्थानमा त ५ मिटर मात्रै सडक बाँकी रहेकाले दोहोरो सवारी गुड्नै नसक्ने अवस्था भएको थापाले बताए । जिल्लास्थित विकास कार्यक्रमको समीक्षामा पनि लोकमार्ग अतिक्रमण रोक्न आयोजनाको ध्यानाकर्षण गराउने निर्णय भएको समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए ।
संस्थागत रूपमा भएका अतिक्रमण रोक्न आयोजनाले पत्राचार गरे पनि अटेर भएको आयोजनाका सूचना अधिकारी पवन सुवेदीले बताए । अटेर गर्ने संस्था वा व्यक्तिलाई आयोजनाले कारबाही भने गरेको छैन । ‘हामीले कतिपय स्थानमा पत्राचार गरेर निर्माण रोक्न भनेका छौं भने कतिपय स्थानमा मापदण्ड पालना गर्न सम्झाएका छौं‚’ सुवेदीले भने, ‘जबर्जस्ती गर्नेलाई रोक्ने कानुनी आधार बनेको छैन ।’
राष्ट्रिय राजमार्गको दायाँबायाँ कम्तिमा २५ मिटर मापदण्ड हुनुपर्नेमा सरकारले मध्यपहाडी लोकमार्गको लागि राजपत्र प्रकाशित नगरिदिँदा कारवाही गर्न नसकेको उनले बताए । मापदण्ड बाहेक पनि राजमार्ग छेउमा घर तथा पक्की संरचना बनाउनु परेमा ६ मिटर सेटब्याक छाड्नुपर्ने प्रावधान समेत छ ।
आयोजनाले भने केही खण्डमा सडकमै पाइइपलाइन समेत बिछ्याएको छ । दशकअघि लिइएको अनुमतिका आधारमा काम गरेको दाबी गरेको जलविद्युत् आयोजनाले सडकको नाली बनाउने स्थानमै ठूला पाइपलाइन र आरसीसी संरचना बनाएको हो । ‘हामीले अनुमति लिएर बनाएका हौं, मापदण्ड पनि पूरा भएको छ‚’ आयोजनाका प्रमुख संचालक निरज पुनले भने, ‘राजमार्गलाई प्रशस्त जग्गा बाँकी छ ।’ तर आयोजनाले पाइपलाइन गाडेको कतिपय स्थानमा दोहोरो गाडी गुड्न नसक्ने बनेको छ ।
लोकमार्ग आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी सुवेदीले भने पहिला मापदण्ड नपुगेको र पत्राचार पनि पुर्याएको दाबी गरे । ‘पहिला मापदण्डमा काम गर्न लागेको देखेपछि पत्राचार गरेका हौं, अहिले केही पछि सार्नुभएको छ‚’ सुवेदीले भने, ‘६ मिटर सेट ब्याक छाड्ने मापदण्ड भने पालना भएको छैन ।’ आयोजनाले अधिकांश खण्ड निर्माण सक्न लाग्दा समेत सरकारबाट राजपत्र प्रकाशित नभएकोले जबर्जस्ती रोक्न नसकेको उनले बताए ।
९.८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले झन्डै १ किमि सडकको छेउमा पाइपलाइन बिछ्याएको हो । ‘सडकको कालोपत्रे मापदण्ड साढे ७ मिटर मात्रै भएको र दायाँबायाँ एक-एक मिटर गर्दा साढे नौ मिटर हो‚’ पुनले भने, ‘हामीले कतिपय स्थानमा १० मिटर छाडेर संरचना बनाएका छौं ।’ सडक छेउमा ६ मिटर सेटब्याक छाड्ने नियम भने जानकारी नभएको उनले दाबी गरे ।
यहाँको बायाँतर्फ दरमखोलाको भीर भएकाले सडक बढाउने ठाउँ छैन । जलविद्युतको पाइपलाइनका लागि बनाइएका आरसीसी संरचनाले अगाडिको सडक नै नदेखिने बनेकाले सवारी चलाउँदा जोखिम रहेको सवारीचालक कर्णबहादुर कार्कीले बताए । कान्तिपुर