इजरायलबाट नेपाली भन्छन्, ‘हमासले बम हानेको हान्यै छ, राति त रकेटले आकाशै छेक्याे’

इजरायलबाट नेपाली भन्छन्, ‘हमासले बम हानेको हान्यै छ, राति त रकेटले आकाशै छेक्याे’

Badigad Online
5 Min Read

सोलुखुम्बु लोदिङका कामी शेर्पा इजरायलको तेलअभिवमा ‘केयर गिभर’ हुन् । सन् २०१५ मा भारत हुँदै इजरायल पुगेका उनले पहिलो पटक आफू बसेको घरमाथिको आकाशमा प्यालेस्टाइनले छाेडेका दर्जनौँ रकेट बम एकसाथ उडेको देखिरहेका छन् । तेलअभिव आर्ट्स संग्रहालयपछाडिको घरमा बस्ने शेर्पा हिजो राति आकाशभरि रकेट उडेको देखेर डराएका थिए । तर, दस वर्षभन्दा बढी समयदेखि इजरायलमा बसेर काम गरिरहेका उनका साथी निमा लामाले ‘डराउनु पर्दैन, यो सामान्य हो’ भनेपछि उनको डर कम भएको छ ।

प्यालेस्टाइनकाे हतियारधारी संगठन हमासले अहिले तेलअभिवसहित इजरायलको दक्षिणी क्षेत्रमा रकेट आक्रमण गरिरहेको छ । ‘घर माथिबाट झिरझिर गर्दै रकेट उडेको देख्दा मरिने भैयो भन्ने लागेको थियो’, टेलिफोनमा कामी शेर्पाले भने, ‘निमाले केही हुँदैन, नडराउनु भन्यो । यहाँको आर्मीले आइरन डम हानेर आतंकवादीका ती सबै रकेट निष्क्रिय पारिरहेकाले डर अलिक कम भएको छ ।’

इजरायल बसेर काम गर्दै आएकी पर्वत कुश्माकी दीपिका भुसालका अनुसार तेलअभिवमा रातभर सयौं रकेट प्रहार गरिएका छन् । झण्डै एक दशकदेखि इजरायलमा रहेकी उनले भनिन्, ‘गत सोमबार इजरायलमा सन् १९६७ को युद्धको स्मृतिमा बिदा दिइएको थियो । यही मौका पारेर हमासले जेरुसेलमबाहेकका क्षेत्रमा रकेट हानेको हो । उताबाट (हमासले) बम हानेको हान्यै छ । धन्न, अहिलेसम्म कुनै नेपालीले क्षेति बेहोर्नुपरेको छैन ।’ सन् १९६७ मा इजरायलले पूर्वी जेरुसेलम आफ्नो नियन्त्रणमा लिएको थियो ।

इजरायलमै रहेका पर्वतका राज क्षेत्रीले आक्रमणमा परी एक भारतीय महिलाको मृत्यु भएको बताए । उनका अनुसार इजरायलमा रहेका नेपालीहरूबारे नराम्रो खबर छैन । ‘म दूतावासको सम्पर्कमा छु । नेपालीहरू पनि अहिलेसम्म सुरक्षित छन् । ‘यहाँ (इजरायलको) प्रतिरक्षा प्रणाली अब्बल छ । त्यसैले अहिल्यै धेरै डराउनुपर्ने स्थिति छैन’, उनले भने ।

यद्यपि, इजरायल र हमासबीचको तनाव भने तत्काल साम्य हुने नदेखिएको उनको अनुमान छ । इजरायली सञ्चारमाध्यमका अनुसार स्थिती भयावह छ । इजरायलको पूरै क्षेत्रमा रकेट हानिएको छ । यसपालि तेलअभिव क्षेत्रलाई निशाना बनाइएको छ । अहिलेसम्म इजरायलतिर पाँच जना मरिसकेका छन् । मर्नेमा भारत केरलाकी २३ वर्षीया युवती पनि छन् । २६ जनाभन्दा बढी घाइते हस्पिटल भर्ना गरिएका छन् ।

‘२४ घण्टामा ३ सय ५० भन्दा बढी रकेट आक्रमण भएको छ’, जेरुसेलम पोस्टले उल्लेख गरेको छ । इजरालयमा करिब २५ सय नेपाली रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार ११ सय जना ‘लिगल’ छन् । तर, योभन्दा बढी संख्यामा ‘इलिगल’ रहेको अनुमान गरिन्छ । इजरायलको उत्तरी क्षेत्र बेइतसनका किसान अभि बाराजानीले दक्षिणी क्षेत्रतिर आक्रमण भइरहेको बताए । ‘उत्तरी क्षेत्रमा त्यस्तो केही छैन’, उनले भने, ‘पहिला हमासले आक्रमण गरेपछि इजरायल अघि बढेको हो ।’

उनका अनुसार इजरायलमाथि यस्ता आक्रमण भइरहने भएकाले नेपालीहरूले धेरै डराउनुपर्दैन । ‘सन् २०१४ मा आक्रमण भएकै हो, २०१८ मा पनि भएको हो । तर, उनीहरूलाई हाम्रो सेनाले कहिल्यै सफल हुन दिएको छैन, दिँदैन’, उनले भने । इजरायलले पनि गाजापट्टी क्षेत्रमा आक्रमण गरी १३ तले भवन ढालिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार प्यालेस्टाइनतिरका २८ जना मारिएका छन् । प्यालेस्टाइनी अधिकारीहरूले मारिनेमा धेरैजसो बच्चाहरू रहेको बताएका छन् । सुनसरी तरहराकी रुबी थारुसँग विवाह गरेका इजरायली युवा बेनी पर्शिनका अनुसार तेलअभिव र आसपासका क्षेत्रमा रातभर रकेट र चेतावनीको साइरन बजेको थियाे । उनले आस्केलन क्षेत्रमा बढी तनाव रहेकाे बताए ।

प्रल्हाद प्रसाईं सन् २०१२ देखि २०१६ सम्म इजरायलका लागि नेपाली राजदूत थिए । उनका अनुसार सन् २०१४ मा पनि प्यालेस्टाइनका तर्फबाट यस्तै आक्रमण भएको थियो । ‘त्यो बेला ५२ दिनसम्म लगातार हमासले बम हानेको थियो ।’

तर, इजरालयसँग बलियो प्रतिरक्षा प्रणाली भएकाले क्षति हुन नपाएको उनले स्मरण गरे । ‘उताबाट हानेको बम घर भएको क्षेत्रमा खस्ने देखियो भने इजरायलले आइरन डम हानेर त्यसलाई माथि नै खत्तम पारिदिन्छ । तर, खुला चौरमा भने बमहरू खस्न दिइन्छ । किनकि, प्रतिरक्षामा प्रयोग गरिने आइरन डम निकै महँगो हुन्छ ।’ उनका अनुसार चाहे इजरायली हुन् वा विदेशी, यस्ता युद्धकाे असर खासै धेरै पर्दैन ।

इजरायल र प्यालेस्टाइनबीचकाे विवाद खासगरी जेरुसेलमकाे विषयमा हाे । याे पुरानाे विवादमा अरबी मुलुकहरू प्यालेस्टाइनकाे पक्षमा छन् । जाेर्डन भने इजरायलसँग कतिपय सम्झाैताले बाँधिएकाे बताइन्छ । जेरुसेलम अहिले इजरायलकाे राजधानी हाे । तर, प्यालेस्टाइन पूर्वी जेरुसेलमलाई आफ्नो भावी राष्ट्र मान्छ । संसारको सबैभन्दा पुरानो यो शहरलाई मुस्लिम, यहुदी र क्रिस्चियनहरू आफ्नो पवित्र धार्मिक स्थल मान्छन् । प्यालेस्टाइन याे भूभाग इजरायलले छाेडाेस् भन्ने चाहन्छ । तर, इजरायलले यो भूमिमा आफ्नो अधिकार रहेको र फिर्ता नहुने बताउँदै आएको छ । शिलापत्र

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित