सुनसरी : ‘मेरो बेटा ल्याइदेऊ छिटो, एक पटक त मुख हेर्न देऊ,’ इजरायल हमलामा परि छोरा गुमाएकी सुनसरी बराह क्षेत्र वडा नं. ११ (साविक मधुवन) ५५ वर्षीय कैलाशदेवी स्वर्णकार सान्त्वना दिन जाने सबैसँग एकोहोरो भनी रहन्छिन्। दुई दिनदेखि उनी एकोहोरो ‘बेटा हेर्न पाउ’ भनेर कराई नै रहेकी छन्। कैलाशदेवीका रुँदा रुदै आँखाबाट आँसु आउन छाडि सकेका छन्।
पुरै गला भासिएको छ। बोल्न खोज्दा ओढ पुरै काम्छन्। साइला छोरा २६ वर्षीय सुन्दर भनेर चिनिने राजेश स्वर्णकारको आइतबार इजरायल हमलामा परि मृत्यु भएको खबर पाएपछि उनी पुरै भाव विह्वल छिन्। कैलाशदेवीले राजेशलाई सारै माया गरेर हुर्काएकी थिइन्। खाना–लाउनका लागि कुनै दिन दुःख नभए पनि छोराका लागि भनेर उनले कहिल्यै राम्रो पनि लगाइनन्।
‘आमाले सारै दुःख गरेर पढाउनुभयो भनेर दाजुले डेढ लाख रुपैयाँ पैसा पठाई दिने वचन दिएको थियो,’ राजेशका भाइ चन्दनले भने, ‘दाजुले आमालाई लाउन र खाना मन लागेको कुरा गर्नु भनेको थियो।’ तर विडम्बना पैसा आएको खबर नआईकन छोराको मृत्युको खबर कैलाशदेवीलाई आयो। यति बेला बराह क्षेत्र वडा नं. ११ को मधुवन गाउँ शोकमा डुबेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस कैलालीमा चार वर्षे एग्रीकल्चर बीएससीएजीको कोर्ष पुरा गरेर इजरायलमा कमाई गर्दै इन्टर्नसिपका लागि क्याम्पसले नै राजेशसहित ३९ जना विद्यार्थीलाई लगेको थियो।
उनी इजरायल जानका लागि मधुवन घरबाट भदौं २२ गते बिदा भएर काठमाडौँ गएका थिए। काठमाडौँबाट भने भदौ २८ गते इजरायलका लागि उडेका थिए। ‘शुक्रबारदेखि भाइसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन,’ जेठो दाजु मुकेश भन्छन्, ‘निरन्तर भाइसँग फोन सम्पर्क गर्न खोज्दा सम्भव भइरहेको थिइन्। हिजो (आइतबार राति) समाचारमा मृत्यु हुनेको सूचीमा भाइको नाम पनि सुन्दा सपना जस्तो लागेको छ।’ ‘दाजु ! ऋणको केही चिन्ता नगर्नुहोला । म अब कमाई गर्न थाले भनेर भन्थ्यो,’ राजेशका दाजु मुकेशकुमारले भने, ‘भाइलाई सुदूरपश्चिम पढाउनका अनुमति दिने काम नै ठूलो गल्ती गरिएछ!’
मुकेशसहित परिवारमा चार जना दाजुभाइ छन्। राजेशबाहेक अरु सबैले सिभिल इन्जिनियरिङ पढे। ‘मैले जे पढे, अरु दुई जना भाइलाई त्यही पढ्न लगाए,’ मुकेशले भने, ‘मैले कृषि पढ्ने अनुमति नदिएको भए न सुदूरपश्चिमको टीकापुर भाइ जान्थ्यो न त इजरायल नै जान्थ्यो।’ कहिल्यै निराशको कुरा नगर्ने राजेश इजरायलमा ११ महिने इन्टर्नसिप सकेर नेपाल फर्किएपछि अष्टेलिया जाने योजना बनाएका थिए। ‘घरमा सबै जनालाई पढाउँदा लागेको ऋण तिर्छु भनेर भनी रहन्थ्यो,’ मुकेश भन्छन्, ‘क्याम्पसको लापरबाहीले गर्दा हामीले भाइलाई गुमायौँ।’
उनले क्याम्पसले इन्टर्नसिप गर्न लादा त्यस्तो सुरक्षाको हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा लानु नै मुख्य कमजोरी भएको बताए। उनी सुदूरपश्चिम कलेजमा छात्रवृत्ति पाएपछि त्यही पढ्ने जाने भनेर मरिहत्ते गरेपछि परिवारले अस्वीकार गर्न सकेन्। राजेशले कक्षा ८ सम्म स्थानीय माउन्ट भ्यु स्कुलमा पढेका थिए। कक्षा ९ र १० इनरुवाको नवयुग एकेडेमी बोडिङ् स्कुल पढेका थिए भने कक्षा ११ र १२ विराटनगरको शिक्षादीप पढेका थिए। त्यसपछि पढाइको सिलसिलमा काठमाडौं गएर एम्स कन्सलटेन्सीको परामर्शका आधारमा सुदूरपश्चिम विद्यालयमा पढ्न पुगेका थिए।
‘मेरो छोरा पढाइमा सारै अब्बल थियो, जहिले सफल नै सफल हुने गरेको थियो,’ राजेशका बाबु राजकुमारले पीडा पोख्दै भने। राजकुमारले सुरक्षाको आधारमा संवेदनशील क्षेत्रमा विद्यार्थीलाई इन्टर्नसिपका लागि जाने क्याम्पसलाई सरकारी नियमनकारी निकायले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखे। राजकुमार पनि कोशी गाउँपालिकाको खानेपानी संस्थाका कर्मचारी हुन्। उनी केही महिनादेखि बिसन्चो छन्। छोरा राजेशको पीडाले बोल्दाबोल्दै कतिपय कुरा विर्सछन्। उनको परिवारमा अब तीन छोरा, एक श्रीमती, एक बुहारी र एक नाति छन्। तर, छोरा राजेशको पीडाले गर्दा परिवार सदस्यको संख्या पनि निकै बेर अड्किएर बताउँछन्।
एकातिर छोराको मृत्युको खबरले विक्षिप्त बनाइरहेका बेला अर्कोतिर शव नेपाल ल्याउने थप पीडामा स्वर्णकार परिवार छ। सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मी र बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले स्वर्णकार परिवारलाई भेटेर सक्दो चाँडो शव नेपाल ल्याउन पहल गर्ने बताएका छन्। नागरिक दैनिकबाट