स्वामी आत्मो आनन्द, (प्रज्वल भण्डारी) : ओशोले सन् १९७० मा माउन्ट आबुको एक ध्यान शिविरका क्रममा सन्यास दिने घोषणा गर्नुभयो । त्यसपूर्व उहाँले प्रवचन र ध्यान शिविर गर्नुहुन्थ्यो तर सन्यासको अभियान सुरु गर्नुभएको थिएन। उहाँको दर्शन र ध्यान पद्धतिबाट प्रभावित हजारौँ मानिसहरुले सन्यास लिन थाले। भारत लगायत अन्य देशबाट पनि मानिसहरु आउन थाले, उहाँबाट ध्यान पद्धति सिक्ने र आफ्नो देशमा गएर ध्यान केन्द्र खोल्ने क्रम विश्वभर सुरु भयो।
नेपालका एक इन्जिनियरिङका विद्यार्थी पनि बर्षौ देखि ओशोको प्रेमी थिए तर सन्यास लिन पाएका थिएनन्। स्वामी आनन्द अरुण त्यतिबेला पटना विश्वविद्यालयमा पढ्नुहुन्थ्यो र एकदिन ओशोको प्रवचन प्रत्यक्ष सुन्न पाएपछि उहाँलाई आफ्नो आध्यात्मिक गुरुको खोजले पूर्णता पाएको महसुस भएको थियो। त्यसपछि उहाँ निरन्तर ओशोसँग पत्राचार गर्नुहुन्थ्यो र ओशो उहाँलाई शिविरमा आउन निमन्त्रण गर्नुहुन्थ्यो। पहिलो भेटमा नै ओशोले नेपालको धेरै आध्यात्मिक सम्भावना भएको र तिमी तयार भयौ भने पुरै नेपाल मरुन रङ्गमा रङ्गिनेछ भन्नुभएको थियो ।
सन्यासको निम्ति ओशोले नियन्त्रण गर्नु भए पनि विविध कारणहरुले मिलिरहेको थिएन। त्यो सौभाग्यको क्षण आजकै दिन ११ अक्टोबर १९७४ मा जुर्यो। सन्यास लिए पश्चात ओशोले स्वामी आनन्द अरुण लाई काठमाडौंको आफ्नो घरमा ‘आशिष रजनिश ध्यान केन्द्र’ खोल्न निर्देशन दिनुभयो।
७० को दशकमा ओशोको अभियान सर्वोच्च उचाईमा पुगेको थियो। विश्वभरबाट सन्यासी पुना आउँथे र ध्यान एबम् सन्यासमा आफ्नो जीवन रुपान्तरण गरिरहेका थिए। ओशोको नव सन्यासमा भौतिक जीवनको सम्पन्नता र आध्यात्मिक अन्तरबोधको समिश्रण थियो । संसार त्याग गरी पुरातन योगीको जस्तो एकाकी जीवन जिउन ओशोले सिकाउनु भएन।
पुना आश्रममा सन्यासीको संख्या बढ्दै जाँदा आश्रमको लागि नयाँ स्थानको खोजी भइरहेको थियो। भारतमा उहाँका विरोधीहरुले उहाँलाई राजनीतिक दाउपेचको शिकार बनाए र कहीँ पनि जग्गा खरिद गर्न दिएनन्। उहाँमाथि भौतिक आक्रमण पनि भयो।
नयाँ गन्तव्यको खोजीमा ओशो सन् १९८१ मा अमेरिका जानुभयो, ‘रजनिशपुरम’ भन्ने शहर नै बसाउनुभयो । एक लाख सन्यासीले त्यहाँ ध्यान गरून् भन्ने उहाँको परिकल्पना थियो। पुँजीवादी मुलुकमा कम्युनको यो प्रयोगबाट त्यहाँका धर्मान्ध व्यक्तिहरू डराए र सन् १९८४ मा उहाँलाई गिरफ्तार गरी १२ दिन थुनामा राखी भारत फिर्ता पठाइदिए। षड्यन्त्रकारी समुहका केही मानिसहरू उहाँको वरिपरि पुगिसकेका थिए जसले सन् १९९० मा पुना स्थित आफ्नै आश्रममा उहाँको हत्या गरे।
सो समूहले ओशोको देशना मेटाउन चाहन्थ्यो। ओशोको मृत्युपछि ओशो आन्दोलनको बागडोर उनीहरुकै हातमा पर्यो। उनीहरुले एक एक गर्दै विश्वभरका कम्युनहरु बन्द गराए, ओशो माथि कपिराइट लगाउने, उहाँको समाधि हटाउने, ओशो साहित्यको प्रकाशन बन्द गर्ने, उहाँको फोटो प्रयोग नगर्ने, माला प्रतिबन्ध गर्ने र पुराना सन्यसीहरुलाई आश्रम प्रवेशमा बन्देज गर्ने जस्ता कार्य भए। अहिले पुना आश्रम पनि बिक्री गर्ने कोसिस भइरहेको छ। ओशो जस्तो महान बुद्ध पुरुषलाई इतिहासको पाना बाट हटाउन हरसम्भव कोसिस भइरहेको छ।
त्यसको समानान्तर एउटा सकारात्मक प्रयास नेपालको भूमिबाट स्वामी आनन्द अरुणले ओशो देशना जोगाउन गरिरहनु भयो। ओशोले जीवनको उत्तरार्धमा अन्तिम प्रयासको रुपमा आफ्नो कार्य अब ‘मिस्ट्री स्कुल’ मार्फत गर्ने बताउनुभएको थियो, जस अन्तर्गत ४०-५० जनामात्र आश्रमको दैनिकी सञ्चालनमा कार्य गर्ने र बाँकी मानिसहरु ध्यान गर्न वर्षको केही समय आउनसक्ने अवधारणा विकास गर्नुभएको थियो। त्यसको ज्वलन्त उदाहरण आज ओशो तपोवन बनेको छ जहाँ हजारौं मानिसहरु संसारका विभिन्न राष्ट्रबाट ध्यान र आत्म रुपान्तरणको लागि आउने गरेका छन्। यहाँ उहाँका साहित्यको प्रकाशन, ध्यान पद्धति र थेरापीको निरन्तर अभ्यास, संन्यास दीक्षा र नयाँ ध्यान केन्द्र स्थापनाको लागि प्रेरणा दिइन्छ। नेपाल लगायत विश्वभर सातवटा कम्युन रहेका छन् भने सयौं ध्यान केन्द्रहरु स्थापना भइसकेका छन्। त्यस्तै तपोवनमा ओशोको समाधि संरक्षण गरी ओशोको जीवनका दुर्लभ वस्तुहरुको पनि संरक्षणको प्रयास भइरहेको छ।
भर्खरै सेप्टेम्बर २०२३ मा ‘अन्तर्राष्ट्रिय रजनिश साधना संघ’ दर्ता गरी विश्वभरका कम्युन एवं केन्द्रहरुलाई गोलबद्ध गरिएको छ जसले यस अभियानको औपचारिक अन्तर्राष्ट्रियकरण गर्ने कार्य गरेको छ। एकलाख भन्दा बढी सन्यासी दीक्षित भइसकेका छन् भने ओशोको ध्यान र उत्सवमा जोडिन चाहने मानिसहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ।
सन्यास, सत्संग र आरतीमा ओशोको प्रगाढ ऊर्जा महसुस गर्दै मानिसहरु ध्यानमा निमग्न हुन्छन्। कोरोना लकडाउनको विसम परिस्थितिमा ओशोले एउटा नयाँ प्रयोग सुरु गर्नुभयो जसमा इन्टरनेटको माध्यमले ध्यान एबम् सत्संगको क्रममा शक्तिपात हुँदा विश्वभर फैलिएका सन्यासीहरुले आफ्नै कोठामा ओशोको ऊर्जा महसुस गरेका थिए। त्यस समय पश्चात यो प्रयोग निरन्तर जारी रहेको छ। यसरी हेर्दा ओशोको देशना मेटाउन चाहनेहरूलाई चुनौती दिँदै ओशो अझ जीवन्त भएर आउनु भएको छ। बुद्ध पुरुषहरु संग असिम शक्ति हुन्छ तर उहाँहरुले त्यसको प्रयोग जगत कल्याणको निम्ति मात्रै प्रयोग गर्नु हुन्छ। साथै त्यसको लागि उहाँहरुलाई उपयुक्त माध्यमको पनि जरुरी हुन्छ। यस्ता समर्पित माध्यमको निकट बस्नु पनि परिवर्तनकारी हुन्छ, गुरुको ऊर्जा र आभामा एकाकार भई ध्यान गर्न उत्प्रेरणा मिल्दछ।
बोधिसत्व स्वामी आनन्द अरुणज्यूको पाँच दशक लामो गुरुसँग निकटस्थ सम्बन्ध, गुरुप्रेम र आफ्नो अनवरत प्रयासले आज ओशो देशना जीवित छ। ध्यान, धर्म र अध्यात्म मार्फत ओशोले गर्न चाहनुभएको रुपान्तरण र जगत कल्याणको लागि ओशोले आजकै दिन आफ्नो लिला सहचारीको रूपमा बोधिसत्व स्वामी आनन्द अरुणलाई चयन गर्नुभएको थियो।
मनुष्यलाई दुःखबाट मुक्त गर्न प्रत्येक युगमा बुद्ध पुरुष यस धरतीमा आउने गर्छन् र तिनको कार्यमा बाधा पुर्याउन नकारात्मक शक्ति पनि उत्तिकै सक्रिय रहन्छ। अनेक कष्ट, आक्रमण र चुनौती सामना गर्दै प्रतिकुल परिस्थितिमा पनि गुरुप्रेममा ओतप्रोत एक सच्चा भक्तले ओशोको देशनालाई पुरार्जिवित गरि सदा सदाको लागि यस धरतीमा स्थापित गरिदिनु भएको छ। यस मार्गमा हिँड्ने हामी सारा सन्यासी स्वामी जीकाे यो अतुलनिय योगदान प्रति ऋिणि रहने छौँ र यो महत्वपूर्ण दिनको स्मरण गरि रहने छौँ ।