शनिबारलाई इजरायलीहरूले ‘शवात्’ भन्छन् । इजरायलीहरूको शवात् शुक्रवार दिउँसो २ बजेपछि सुरु हुन्छ । शवात् सुरु भएसँगै सरकारी कार्यालय र उद्योगधन्दा बिदा हुन्छ । सो दिन ८० प्रतिशत प्रहरी पनि बिदामा हुन्छन् । ट्याक्सी बाहेकका अन्य सार्वजानिक सवारी चल्दैन । उनीहरू शवात् मनाउन घर भित्रै बस्छन् । मौन हुन्छन् भने भगवानको आराधना गर्छन् । आराम गर्छन् । पारिवारिक जमघटमा रहन्छन् । यो अवधि शनिवार उत्तरार्द्धसम्म चल्छ । त्यसपछि आवश्यक पर्ने व्यक्ति बाहिरी काममा निस्किन्छन् ।
प्यालेस्टाइनको आतङ्कवादी समूह हमासले गत शनिवार ठ्याक्कै त्यही दिन आक्रमण गर्यो, जल जमिन र हवाई तीनै क्षेत्रबाट । आक्रमणको सुरुवाती समयमा धेरै व्यक्तिहरू ओछ्यानमै थिए । यसमा पनि हमासले बडो गज्जबको रणनीति लिएको देखिन्छ । इजरायली आकाशमा क्षेप्यास्त्र (मिसाइल) प्रवेश गर्ने बित्तिकै लक्षित क्षेत्र आसपासमा साइरन बज्छ । साइरन बजेपछि नागरिकहरू सुरक्षाको लागि बंकर भित्र छिर्छन् । र, ९० सेकेन्ड भित्र इजरायलको प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र आकाश मै ध्वस्त पार्छ । हमासले शनिवार बिहान २० मिनेट भित्रै २ हजार वटा रकेट इजरायली आकाशमा प्रहार गर्यो।
हमासले गाजापट्टी सीमा सहित इजरालयका विभिन्न शहरमा ती क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यति नै बेला अधिकांश व्यक्ति बंकर सुरक्षा खोज्न पुगेका थिए । यसअघि आकाशमा मात्रै युद्ध गर्दै आएको हमासले जमिनका लागि पनि गोप्य रूपमा सेना पठाइसकेको थियो । नेपालका लागि इजरायली राजदूत हनान गोडरका अनुसार हमासले प्याराग्लाइडिङबाट आफ्ना सेना इजरायल छिराएका थिए । प्याराग्लाइडिङबाट उडेर आउँदा कुनै पनि प्रणालीले ‘ट्रयाकिङ’ गर्न सक्दैन । त्यसैले पनि इजरायली इन्टेलिजेन्स ब्युरो ‘मोसाद’ले सो कुरा चाल नै पाएन । साइरन बज्दा बंकर पुगेका धेरै व्यक्तिलाई हमासले छोटो समय नै हत्या गर्न भ्याए । शवात्को बिहान आकाशमा क्षेप्यास्त्र पठाएर साइरन बजाउने, साइरन बजाएर बंकर पठाउने, अनि बंकरबाट हत्या गर्ने हमासको रणनीति सफल भएको देखिन्छ । र, सुरक्षित भइन्छ भनेर पुगेको थलो नै एकाएक चिहानका रूपमा रूपान्तरण भएको देखिन्छ ।
ठ्याक्कै त्यही भयो १० नेपाली विद्यार्थीको हकमा पनि । उनीहरू गाजापट्टी नजिक नितिवोदको नेगेभस्थित अलमिम किबुजमा काम गर्थे । त्यहाँ कुल १७ नेपाली थिए । आकाशमा विस्फोट हुँदा बंकर छिर्नु पर्छ भन्ने सुनेका उनीहरूले पहिलो पटक मिसाइलको आवाज पनि सुन्दै थिए, आकाशतिर मिसाइलको दृश्य चट्याङ परेको जस्तै गरी देखिँदै थियो । इजरायल पुगेको २६ दिनमा उनीहरू पहिलो पटक मिसाइल विस्फोट हुँदा रोमाञ्चक पनि भएका थिए । तर त्यो माहौल क्षणभरका लागि थियो । जमिनमा तैनाथ हमासका सेनाले उनीहरूलाई बंकर मै छिरेर एकाएक गोली हान्न थाले, विस्फोटक पदार्थ बंकरमा फ्याँके । हमासको आक्रमणले त्यहाँ २ नेपालीको ‘अन द स्पोर्ट’ मृत्यु भयो । ५ जना नेपाली घाइते भए । केहीबेरमा त्यहाँ तीन जना मेडिकल पुलिस आए । उनीहरूले बाँकी १० जनालाई अर्को बंकरमा जान भने । र, गम्भीर घाइते भएका ५ जनाको उपचार गर्न थाले ।
अर्को बंकरमा २२ जना जति थाइल्यान्डका नागरिक थिए । १० नेपाली त्यहाँ थपिए । त्यस दिन हमासले इजरायलको नेटवर्क सिस्टम पनि ह्याक गरेका थिए । नेटवर्क अवरुद्ध भएपछि मेडिकल पुलिसले माथिल्लो निकायमा खबर गर्न सकेनन् । नेपालीको उपचार गर्दै गरेका ती तीन जना प्रहरीलाई पनि हमासले आक्रमण गरेको हुनसक्ने नेपाली विद्यार्थीको अनुमान छ । हमासले अर्को बंकरमा पनि अन्धाधुन्ध आक्रमण गर्न थाले । नेपाली र थाइहरु छटपटाइ रहेका थिए । आक्रमण हुँदा प्रमोद केसी, वीरेन्द्र चौधरी र विपिन जोशीलाई मात्रै चोटपटक लागेको थिएन । हमास सेनाले बंकरमा विस्फोटक पदार्थ फ्याँकेर बाहिरिने क्रममा रहेको थियो । तर विपिनले भने त्यो विस्फोटक पदार्थलाई बंकरबाट झिकेर बाहिर फ्याँके । त्यो अवस्थालाई हमासका सेनाले देखिरहेका थिए । र, विपिनलाई हमासले पक्राउ गरेर लिएर गयो । सकुशल रहेका केही थाइलाई पनि हमासले गिरफ्तार गर्यो ।
‘विपिनलाई हामी बस्ने घर गेटसम्म लिएर गएको मात्रै हामीले देखेका हौँ, बाँकी हामीलाई केही थाहा छैन,’ किचेनको र्याक साइडमा बसेर ज्यान जोगाएका प्रमोद केसी भन्छन्,‘त्यसपछि घाइते साथीहरू एकपछि अर्काको मृत्यु भयो, यो सबै मेरो आँखा अघि भयो ।’ हमास नियन्त्रित समयसम्म धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दीपेश राज विष्ट, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष् चौधरीको पनि मृत्यु भइसकेको थियो ।
प्रविन डाँगी, हिमाञ्चल कट्टेलको भने श्वास चल्दै थियो । विधान सेजुवाल र धन बहादुर चौधरी छटपटाइ रहेका थिए । आक्रमणको १२ घण्टा पछि मात्रै इजरायली प्रहरीले किवुज आलमिमलाई हामासको पन्जाबाट फुत्काउन सफल भयो । त्यसपछि मात्रै बाँकी घाइते चारै जना नेपाली र केही घाइते थाइलाई अस्पताल लगियो । हाल सेजुवाल डिस्चार्ज भएका छन् भने चौधरी नेपाल फर्किएका छन् । डाँगी र कट्टेल अस्पताल मै छन् । प्रमोदसँगै वीरेन्द्र चौधरी सकुशल रहँदा विपिन अझै अज्ञात छन् । सकुशल रहेका प्रमोद, वीरेन्द्र र केही थाईलाई फेरि अर्को बंकर सारियो । त्यहाँ पनि उनीहरूले आक्रमणको आवाज सुनेर आतङ्कित बनिरहेका थिए ।
‘एकातिरबाट इजरायलको अर्कोतिरबाट हमासको आक्रमण हुन्थ्यो, हामी बिचमा थियौँ, आँखै अघि गोली खसिरहेका हुन्थे’ प्रमोद भन्छन्, हामी खाना खान पनि सक्दैन थियौँ, शौचालय जान पनि सक्दैन थियौँ, घटनाको ४० घण्टा पछि मात्रै म र वीरेन्द्रको रेस्क्यु भयो, अनि मात्रै जीवित छु भन्ने महसुस भयो।’ आइतबार साँझसम्म आधिकारिक सूचना थिएनन् । विद्यार्थीहरू बोल्न डराइरहेका थिए । आइतबार साँझबाट राजदूतावासले बिस्तारै आधिकारिक सूचना जारी गर्दै गयो । विद्यार्थीहरू बोल्न थाले । दाङका विपिन सुवेदीले बंकरबाटै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरे । उनले आफूहरूलाई तत्काल नेपाल फिर्ता लैजान आग्रह गरे । त्यसपछि इजरायलमा विद्यार्थीको अवस्था के रहेछ भन्ने सबैलाई थाहा हुन थाल्यो ।
यता चितवनका सुरज भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुला पत्र लेखे । अबको आशा प्रधानमन्त्री मात्रै भएको भन्दै आफूहरू इजरायलमा मर्न नचाहेको कुरा लेखे । अन्य विद्यार्थीहरूले पनि एकपछि अर्को गर्दै आफ्ना समस्याहरू बोल्न थाले । अनि मात्रै सरकार उद्धारको लागि कसिएको हो । निकै असुरक्षित स्थानमा रहेका नेपालीलाई केही सुरक्षित मानिएको स्थानमा सारियो । तैपनि तनाव भने झनै बढेको थियो । सरकारको कमजोर कूटनीति र कानुनी अल्झनका कारण बुधवार राति उड्ने भनेको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान मात्रै उड्यो । त्यतिन्जेल तेलअभिवमा रहेको एम्बेसीले विभिन्न फार्ममा रहेका विद्यार्थीहरूलाई बेन गुरियन एअरपोर्टमा जम्मा गर्न थाल्यो ।
सेनाको स्कर्टिङमा विद्यार्थीहरूलाई एयरपोर्ट ल्याइएको थियो । करिब ३५० किलोमिटर टाढाबाट विद्यार्थी ल्याउन सकस थियो । बीचबाटो मै आतंककारी हमला होला भन्ने अर्को तनाव थियो । यद्यपि त्यहाँ रहेका विभिन्न सामाजिक संस्था, एम्बेसी तथा इजरायली डिफेन्स फोर्स (आईडिएफ)को सहायतामा २ घण्टा अघि नै विद्यार्थीहरू एयरपोर्ट जम्मा भए । नेपालबाट त्यहाँको समय अनुसार पौने २ बजे (नेपाली समय १६ः४५) पुग्यो । दुई घण्टामा सबै विद्यार्थी प्लेनमा हारेर पौने चार (नेपाली समय १८ः४५) बजे त्यहाँबाट फिर्ता भयो ।
‘बेन गुरियन एयरपोर्टमा आउँदासम्म पनि डर थियो, जब इजरायलको आकाश छोडेर जोर्डनको आकाशमा प्लेन आयो भन्ने अनाउन्स भयो अनि मात्रै हामी ढुक्क भयौँ’, प्रमोदले भने । त्यसरी फिर्ता भएको जहाज २५४ जना विद्यार्थी शुक्रवार बिहान ३ः४२ मा नेपाल आइपुग्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरात १२ बजेदेखिनै इजरायलबाट आउने विद्यार्थीलाई लिन आफन्तहरू पुगेका थिए । चिसो हुँदै गरेको काठमाडौँ मौसममा करिब साढे तीन घण्टाको प्रतीक्षापछि विद्यार्थीसँग भेट भएको थियो । जहाज अवतरण गरेको २० मिनेट पछि विद्यार्थी लिन इजरायल नै पुगेका परराष्ट्र मन्त्री एनपी साउद आगन्तुक कक्षमा आइपुगे । यस पटक उनले भिआइपी/भिभिआइपी मार्ग प्रयोग गरेनन् ।
सँगै थिए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, इजरायली राजदूत हनान गोदर र केही परराष्ट्रका अधिकारीहरु ।
मन्त्री साउदले आगमन कक्षमै विद्यार्थी ल्याउँदाका फेहरिस्त सुनाए । मंगलबारदेखि नै राम्रोसँग नसुतेका मन्त्री साउदले चर्को स्वरमा मृतक नेपालीको शव छिट्टै फर्काउने, हराएका विपिन जोशीलाई खोज्ने र आवश्यक परे अन्य नेपालीलाई पनि स्वदेश ल्याउने भनेर सञ्चारकर्मीलाई जानकारी गराए । त्यतिन्जेल आफ्ना लगेज लिन सफल रहेका विद्यार्थीहरू बाहिर आउने क्रम चलिरहेको थियो । लगेज उतै छोड्न बाध्य विद्यार्थी रित्तो हात फर्किए । बाहिर थुप्रै आफन्तहरू स्वगतका लागि बसेका थिए । एयरपोर्टमा भने उनीहरू आइपुग्दा छुट्टै खुसीको सञ्चार भएको थियो । हाँसो, खुसी, आँसु अंकमाल सबैको संगम बनेको थियो एयरपोर्ट ।
आफ्नी बहिनी रेशुना श्रेष्ठ नेपाल आइपुगेपछि दिदी लक्ष्मी श्रेष्ठले आँसु थाम्न सकिनन् । उनले यो आँसु खुसीको आँसु भएको बताइन् । रेशुनाले पनि आफू सकुशल स्वदेश फर्किन पाइन्छ भन्ने आशा मारेको बताइन् । ‘त्यहाँ जे जस्तो अवस्था थियो, त्यो अवस्थाले हामी स्वदेश फर्किन पाउँछौ भन्ने सोचेका थिएनौ,’ उनले भनिन् । त्यस्तै घाइते भई ह्विलचियरमा नेपाल फर्किएका धनबहादुर चौधरीले समय मै रेस्क्यु भएको भए त्यति धेरै साथीहरुको मृत्यु नहुने बताए । आफ्ना १० जना साथीको मृत्यु देखेका वीरेन्द्रले आफू मानसिक रूपमा निकै विक्षिप्त रहेको र घटनाबारे केही सम्झिन नचाहेको बताए । ‘प्रमोद र मेरो त के कुरा गर्नु, कोही कसैलाई पनि यस्तो नहोस्’ वीरेन्द्रले भने ।
यता चितवनका वसन्त भट्टराईले अब देशमै केही गर्ने सोचको विकास भएको बताए । ‘हामीले नसोचेको घटना व्यहोर्नु पर्योअ, अब देशमा नै केही गर्नुपर्छ’, उनले भने । यता काठमाडौँ, भक्तपुर र ललितपुरमा जानेका लागि नेपाल प्रहरीले बस सेवा थियो । इजरायलबाट आएकाहरूका लागि नै भनेर यो सेवा सञ्चालन गरिएको थियो । आवश्यक पर्नेहरू त्यही गाडीमा चढे । त्यति बेलासम्म बिहानको ४ः३० भएको थियो । त्यतिन्जेलसम्म प्रमोदको भने अझै आँखा ओबाएको थिएन । चार्टर उडानबाट नेपाल आइपुगेका उनी त्यो घटना सम्झियो कि आँखाभरि आँसु पारिहाल्छन् । ‘हामीले जे घटना भोग्यौँ, जे देख्यौँ, आगामी दिनमा अन्य दाजुभाइले भोग्नु र देख्नु नपरोस्’ जाँदाजाँदै प्रमोदले भने । लाेकान्तरबाट