सर्वोच्चको परमादेशपछि रिगलले गरेका थिए प्रहरीसँग आत्मसमर्पण

सर्वोच्चको परमादेशपछि रिगलले गरेका थिए प्रहरीसँग आत्मसमर्पण

Badigad Online
2 Min Read

सर्वोच्च अदालतले कैद मिनाहा बदर गरेसँगै बाँकेका योगराज ढकाल (रिगल) ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपालगञ्जको सेतु विक चोकमा रिगलले बिहीबार अपराह्न बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए।

‘सर्वोच्चको आदेशपछि हामीले रिगलको खोजी गरेका थियौं। उहाँले सेतु विक चोकमा प्रहरीसँग आत्मसमर्पण गर्नुभयो,’ डिएसपी डाँगीले सेतोपाटीसँग भने, ‘उहाँले सर्वोच्चको आदेश पालना गर्ने बताउनुभएको छ।’ रिगललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। ‘माथिबाट आदेश आएपछि उहाँलाई कहाँ पठाउने हो टुंगो लाग्छ,’ उनले भने।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए। सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ। पक्राउ पर्नु अघि रिगलले पत्रकारसंग आफ्नो बारेमा अनौंठो घटना भएपनि कानुनको पालनार्थ आत्मसमर्पण गर्न लागेको बताएका थिए । ‘मेरो विरुद्ध विशुद्ध राजनीतिक प्रतिरोध साँधियो र मेरो कैद मिनाहाका विरुद्ध धर्नाहरू भए, रिट दायर भयो,’ रिगलले पत्रकारसँग भनेका थिए, ‘अहिलेसम्म नेपालमा म मात्रै कैद माफी पाएर छुटेको एक्लो व्यक्ति होइन र यसअघि छुटेकाहरुको हकमापनि यस्तै भए के हुन्छ ?’

सरकारले दिएको माफी विरूद्ध सर्वोच्चको फैसला अनौठो लाग्ने भएपनि लोकतन्त्रवादी चरित्र आफूमा भएको हुँदा त्यसको सम्मान गर्ने उनले पत्रकारलाई बताएका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित