एक वर्षअघिको रिस फेर्न साथीले नै बोलाएर गरेका थिए बरुण घिमिरेको हत्या

एक वर्षअघिको रिस फेर्न साथीले नै बोलाएर गरेका थिए बरुण घिमिरेको हत्या

Badigad Online
3 Min Read

भनिन्छ, साथीभाइको विवाद र झगडाको रिस लामो समय रहन्न । केही दिनमा दुबैले बिर्सिन्छन् । तर, बर्दियामा भने गत वर्षको देउसीभैलोको झगडाको रिसइवी साँध्न २३ वर्षीय बरुण घिमिरेको निर्मम हत्या गरिएको खुलेको छ ।

२६ कात्तिक लक्ष्मीपूजाको राति घरमै बसिरहेका बरुणलाई देउसीभैलो हेर्न जाउँ भनेर लगेर हत्या गरिएको थियो । हत्यामा अघिल्लो वर्षको देउसीभैलोमा झगडा भएका उनकै साथीहरू संलग्न पाइएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

लक्ष्मी पूजाको राति साढे ११ देखि १२ बजेको बीचमा बरुणलाई उनकै साथीहरूले लखेटी–लखेटी खुकुरी हानेर हत्या गरेका थिए । टाउकोमा हेल्मेट र पेटमा खुकुरीले हानेर बरुणलाई गम्भीर घाइते बनाएर उनीहरू भागेका थिए । गुलरिया नगरपालिका वडा नं. ५ सोहेलहवास्थित एक जुस उद्योगनजिकै बरुणमाथि आक्रमण गरिएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा बरुण भाग्न खोजेको र आक्रमणकारीले घेरेर जथाभावी कुटपिट र धारिलो हतियार चलाएको देखिएको प्रहरीले जनाएको छ । उनी बेहोस भएर ढलेपछि आक्रमणकारी भागेका थिए । स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका बरुणको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मृत्यु हुनुअघि उनले प्रहरीलाई आफूमाथि आक्रमण गर्नेहरूबारे बयान दिएका थिए ।

कसरी भयो घटना ?

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, बरुणको एक वर्षअघि तिहारकै बेला आफ्नै साथीहरूसँग झगडा भएको थियो । गुलरिया बजारस्थित जिल्ला अदालत छेउका सुलभ थापा र सुरेश थापासँग त्यतिबेला भएको झगडाको बदलामा अहिले उनीको हत्या गर्ने योजनासहित आक्रमण भएको हो ।

गतवर्ष बरुण र उनका साथीहरूले थापालाई घाउचोट लाग्नेगरी कुटपिट गरेका थिए । सो विवाद प्रहरीमा समेत पुगेको थियो । प्रहरीले घाउचोटको उपचार खर्च भराएर कानुनी प्रक्रियाबाटै मेलमिलाप गराएको थियो । त्यतिबेला मेलमिलाप भए पनि थापा दाजुभाइले एक वर्षपछि रिसइबी साध्नेगरी आक्रमण गरेको खुलेको हो ।

घटनामा संलग्नताको आरोप लागेका युवाहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले सो हत्याको प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताए । ‘प्रारम्भिक अनुसन्धानले साथीभाइबीचको पुरानो रिसइबीले घटना भएको देखिन्छ । मुख्य अभियुक्त पहिचान भइसकेको छ । केही दिनमै घटनाको सम्पूर्ण तथ्य प्रष्ट हुनेछ’ उनले भने ।

बरुणको हत्यामा संलग्न भनिएका सुलभ थापा र सुरेश थापा दाजुभाइ हुन । बरुण र उनीहरूको घर ५ सय मिटरको दुरीमा छ । घरमै परिवारसँग बसिरहेका बरुणलाई देउसीभैलो हेर्न भन्दै बोलाएर लगिएको थियो । विभिन्न टोल घुमाएर मध्यरातमा कसैले पत्तो नपाउनेगरी हत्या गरिएको थियो । यो घटनालाई नजिकबाट बुझेका छिमेकीले योजनाबद्ध रुपमै हत्या गरेको दाबी गरेका छन् । प्रहरीले भने घटना सुनियोजित हो वा आकस्मिक आवेगमा गरिएको हो पत्ता लगाउने भनेको छ । प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित