सागर भण्डारी, गुल्मी । पौदीबासीहरुले घरमा नयाँ बालि भित्र्याएको खुसीयालीमा प्रत्येक वर्ष मनाउँदै आएको न्वागी पर्वको यस वर्षको शुभ साईत मसिंर ३ गते परेको छ । बडिगाड गाउँपालिका वडा नं ५ वडा कार्यालयले आज एक सुचना जारी गर्दै न्वागीको शुभ साईत सार्वजनिक गरेको हो ।
वडाध्यक्ष विष्णु प्रसाद आचार्यद्धारा जारी गरिएको सुचनामा न्वागी खाने शुभ साईत मसिंर ३ गते आईतबार बिहान ९ बजेर ३४ मिनेटमा न्वागी खानु शुभ रहेको उल्लेख गरिएको छ । न्वागी खाँदा पूर्व मुख गरेर खान पनि आग्रह गरिएको छ ।
पौंदि क्षेत्रका वासिन्दाहरुले न्वागीलाई स्थानीइ पर्वको रुपमा मनाउँदै आएका छन् । नयाँ धान भित्राएपछि सोहि धानको नयाँ चामल दहिमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ । विशेष गरि रैथाने जडन जातको धानको चामल विशेष मसलाहरुको प्रयोग गरि दहिमा भिजाएर खाने गरिन्छ ।
इश्मा राज्य अन्तरगत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रलाई पौंँदि क्षेत्र भनिने गरेको छ । यसै विच न्वागी पर्वको अवसर पारेर हरेक वर्ष पौँदी न्वागी मेला संस्कृति संरक्षण समितिले न्वागी मेला आयोजना गर्दैै आएको छ । यसवर्षको न्वागी मेला मसिंर ३ गतेदेखि ८ गतेसम्म आयोजना गरिएको छ ।