ओशो जन्मोत्सवको महत्व !

ओशो जन्मोत्सवको महत्व !

Badigad Online
3 Min Read
  • स्वामी आत्मो आनन्द (प्रज्वल भण्डारी)

भनिन्छ यस धरतीमा बुद्ध पुरुषहरुको उपस्थिति सधैं रहिरहेको हुन्छ। प्राय बुद्ध पुरुषहरु अज्ञात जीवन बाँच्नु हुन्छ । जनमानसमा परिचित बुद्ध पुरुषहरूले धर्म चर्चा त गर्नुहुन्छ तर अन्तर यात्राको लागि मानिसहरूलाई दिक्षित गर्नु हुन्न। तर दिक्षा दिएर आत्मरुपन्तरणमा सघाउने ब्यक्तिको जन्म समग्र मनुस्यजाति कै निम्ति कल्याणकारी हुनेगर्दछ । ओशो पनि यस युगका त्यस्तै करुणावान पुरुष एबम् सदगुरु हुनुहुन्छ।

ओशोको जन्म सन् १९३१ डिसेम्बर ११ अर्थात् आज कै दिन भारतको मध्य प्रदेश स्थित कुचवाडा भन्ने सानाे गाउँमा भएको थियो। जैन परिवारमा जन्मनु भएका ओशोको बाल्यकालको नाम भने चन्द्रमोहन जैन थियो।

आफ्नो जीवनको प्रारम्भिक कालमा उहाँ आफ्नै साधना र रुपान्तरणमा लागि पर्नुभएको थियो। सन् १९५३ मा २१ वर्षको उमेरमा आफूलाई निर्वाण प्राप्त भएको ओशोले बताउनु भएको छ। निर्वाण प्राप्ति पश्चात् १७ वर्ष सम्म यस घटना बारे उहाँले कसैलाई बताउनु भएन बरु मानव मन, सोच र मनोविज्ञान बारे गहिरो अध्ययन गर्नु भयो। मानवको कल्याण गर्ने ठूलो अभियानको लागि उहाँ तयारी गर्दै हुनुहुन्थ्यो भनेर सहजै बुझ्न सकिन्छ।

त्यही क्रममा ध्यान शिविरहरु सञ्चालन गर्दै उहाँले नवीन ध्यान पद्धतिहरु विकास गर्नुभयो। मानव मनमा भएका दमन र आघातहरु हटाउँदै अध्यात्मको बिज रोप्न ओशोले नव-सन्यासको अभियान सुरु गर्नुभयो । ओशोको नव-सन्यासमा भौतिक सम्पन्नताको स्वीकारोक्ति सँगै आफ्नो स्वभाव अनुकुल आध्यात्मिक मार्ग चयन गर्न पाउने स्वतन्त्रता छ । श्रद्धा, ध्यान, भक्ति सबै मार्गहरु ओशोले खुल्ला गरिदिनु भएको छ । हरेक प्रकारका मानिसले ओशोको मार्ग बाट परमतत्वको बोध प्राप्त गर्न सक्दछन् ।

सार्वजनिक जीवन सुरू हुँदा ओशो ‘आचार्य रजनिश ‘ को नामले परिचित हुनुहुन्थ्यो । उहाँले १९७४ मा पुना आश्रम निर्माण गर्नु भयो भने आफ्नो ध्यान र नव-सन्यासको अभियान लिएर १९८१ मा उहाँ अमेरिकाको ओरेगन जानु भयो, रजनीशपुरम नामको विशाल कम्युन त्यहाँ निर्माण गर्नु भयो । तर राजनैतिक हस्तक्षेप भएपश्चात उहाँ पुना आश्रम फर्कनु भयो ।

सन् १९९० मा ओशोले शरिर छाड्नु भएता पनि उहाँले सुरु गर्नु भएको अभियान निरन्तर जारि नै रहेको छ । नेपालमा ओशो तपोवन मार्फत विभिन्न स्थानमा ध्यान केन्द्रहरु स्थापना भएका छन् जहाँ प्रत्येक दिन उहाँले दिनुभएको ध्यान तथा थेरपीहरुको प्रयोग हुन्छ । मानिसहरु यी पद्धतिहरु बाट आफु आनन्दित बनेको बताउँछन् । ध्यान पश्चात् मानिसहरुले ओशोलाई अझै सजीव एबम् निकट महशुस गर्ने गरेका छन् ।

मानव जातिलाई स्वयंको बोध गराउन ओशोले आफ्नो जीवनभर प्रयास गर्नुभयो । करुणा र चेतनाको शिखरको रूपमा ओशोको मुल्यांकन हुने गरेको छ र आगामी दिनहरूमा उहाँको महत्व बढ्दै जाने निश्चित छ । सन्ताप, पीडा र दुःखबाट मानिसलाई मुक्त गराई अन्तर यात्राका अनेक मार्ग देखाउन यस धरतीमा जन्म लिनुभएका ओशोको जन्मदिवशको सबैमा हार्दिक शुभकामना ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित