सागर भण्डारी, बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाका दुई महत्वपूर्ण बजार खर्बाङ र भिमगिठेमा प्रभु बैंकको शाखा खुल्ने भएको छ । गाउँपालिकाको वडा नं २ स्थित खर्बाङ र वडा नं ७ स्थित भिमगिठे बजारमा बैंकको शाखा खुल्न लागेको हो ।
बैंकले मसिंर १९ गते आर्थिक राष्ट्रिय दैनिकमा बैंकको कार्यालय भवनको आवश्यकता सम्बन्धी शिललबन्दी प्रस्ताव आह्वान सहितको सुचना प्रकाशित गरेको छ । उक्त सुचनामा एक्सटेन्सन काउन्टर भनि सुचना आह्वान गरिएकोमा २० गते प्रकाशित सुचनामा भुलसुधार भएको भन्दै एक्सटेन्स काउन्टर नभइ शाखा कार्यालय रहेको स्पष्ट पारेको छ ।
बडिगाड गाउँपालिकाको खौलार बजारमा एउटा मात्रै बैंक हुँदा सेवाग्राहीलाई सास्ती हुने र टाढा टाढा बाट सेवा लिन आउँदा खर्च समेत हुने कुरालाई मध्येनजर गरेर लामो समयको प्रयास पछि खर्बाङ र भिमगिठेमा बैंकको शाखा खोल्ने प्रयासले सार्थकता पाएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकामा २ वटा शाखा स्थापना भएसंगै नागरिकलाई आर्थिक कारोबारका लागि सहजता हुने र गाउँपालिकाले समेत सामाजिक सुरक्षा भत्ता वितरण संगै अन्य बैङ्किङ कारोबारमा सहजता आउने उहाँको भनाई छ ।