बागलुङ । बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विपेन्द्रप्रताप केसीलाई दुर्व्यहार गर्नेमाथि नेपाल स्वास्थ्यकर्मी संघ नेपालले कारबाहीको माग गरेको छ ।
सोमबार संघले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य शाखा प्रमुख केसीमाथि गरिएको दुर्व्यहारको भत्सना गर्दै कारबाहीको माग गरेको हो । आइतबार कार्यालय समयमा मोहन वैद्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शाखा प्रमुखलाई मोसो दलेका थिए ।
नेपाल स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष विष्णुप्रसाद शर्मा, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका जिल्ला अध्यक्ष उमेश सर्वुजा, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, राष्ट्रिय एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका जिल्ला अध्यक्ष टुकनाथ शर्मा र नेपाल स्वास्थ प्राविधिक संघ जिल्ला अध्यक्ष सोमराज पाण्डेले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई बिना कारण गरिएको दुर्व्यवहारप्रति घोर भर्त्सना गरेको छ ।
घटनाको सत्यतथ्य बुझी संलग्न जो सुकैभए पनि प्रचलित स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ का साथै प्रचलित कानुन बमोजिम हदैसम्मको कानुनी कारवाही गर्न संघले माग गरेको छ । यसै गरी नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष देव प्रकाश घिमिरेले पनि प्रेस विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाहीको माग गरेका छन् ।