कांग्रेसको भवन बनाउन १४ लाख दिने तमानखोलाको निर्णय उल्टियो

कांग्रेसको भवन बनाउन १४ लाख दिने तमानखोलाको निर्णय उल्टियो

Badigad Online
2 Min Read

बागलुङ । नेपाली कांग्रेस बागलुङको (वीपी स्मृति ) भवन निर्माणका लागि बजेट दिने तमानखोला गाउँपालिकाले गरेको निर्णय उल्टिएको छ । बुधबार बिहान बसेको सर्वदलीय बैठकले गाउँसभाबाट विनियोजित १४ लाख रुपैयाँ वीपी स्मृति भवन निर्माणका लागि खर्च नगर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित तमानखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष झगबहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वीपी स्मृति भवन निर्माणका लागि गरिएको निर्णयलाई उल्टियाउँदै सहमतिमा योजना छनोट गर्ने निर्णय भएको वडा नम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद श्रीपालीले न्यूज खरीलाई जानकारी दिए ।

‘गाउँपालिका अध्यक्षको आग्रहपछि वडाध्यक्ष झगबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले वीपी स्मृति भवनका लागि छुट्याइएको बजेटको निर्णयलाई उल्ट्यिाउँदै सर्वदलीय सहमतिका आधारमा नयाँ योजना छनोट गरी कार्यान्वयन गर्ने लिखित सहमति भएकाे छ,’ उनले भने ।

बैठकले नेपाली कांग्रेसको (वीपी स्मृति) भवन निमार्णका लागि विनियोजन बजेट गाउँपालिकाभन्दा बाहिर नपठाउने र उक्त बजेट सर्वदलीय सहमतिबाट नयाँ कार्यक्रम छनोट गरी कार्यापालिकामा पेश गर्दै कार्यान्वयन गर्ने सहमति भएको वडा नम्बर ३ का वडाध्यक्ष झगबहादुर बुढाले जानकारी दिए । साथै, अन्य विषयमा राजनीतिक सहमतिबाट अगाडी बढ्ने र गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधाहरु सूचारु गर्ने समेत सर्वदलीय बैठकबाट निर्णय भएको उनको भनाइ छ ।

‘बिहान बसेको सर्वदलीय बैठकले सर्वपक्षीय बैठक बसी आम जनताको सुझावबाट कार्यक्रम छनोट गर्ने र गाउँपालिकाबाट प्रवाह हुने सेवाहरुलाई अवरोध नगर्ने निर्णय भएको छ,’ उनले भने । राष्ट्रिय सभाको निर्वाचनका लागि गाउँपालिका अध्यक्ष जोकलाल बुढा र उपाध्यक्ष हिराकुमारी छन्त्याल पोखरा गएको हुनाले उनीहरू आएपछि सर्वदलीय बैठक फेरि बस्ने उनले बताए ।

माघ ४ गते भएको गाउँसभाले बागलुङमा बन्दै गरेको नेपाली कांग्रेसको (वीपी स्मृति) भवन निर्माणका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमा असहमति जनाउँदै नेकपा माओवादी केन्द्रबाट निर्वाचित ११ जना कार्यापालिका सदस्यले तालाबन्दी गरेका थिए ।

गाउँपालिकाको सो निर्णय जनताको हितविपरित भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शनसमेत गरेका थिए । विरोध प्रर्दशनपछि गाउँपालिकाले वीपी स्मृति भवन तमानखोलामै बनाउन बजेट विनियोजन गरेको जानकारी दिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित