स्वामी आत्मो आनन्द (प्रज्वल भण्डारी): २१ मार्च १९५३, ओशो सात दिनदेखि पूर्ण अकर्ताको प्रवृत्तिमा विश्रान्त भएका थिए। वर्षौंको आफ्नो साधना र खोज निस्फल भएको कारण खोजको ‘प्रवृत्ति’लाई नै तिलाञ्जली दिएर उनी बिना कुनै उद्देश्य र आकांक्षाको एक निस्फिक्री अस्तित्व मात्र बनेका थिए। त्यसरी विश्रान्तिमा बाँचेको सातौं दिन बिहानी प्रहरमा उनलाई आफूभित्र कुनै कुरा विस्फोट हुन लागेको अनुभूति भयो। उनलाई आफ्नो कोठामा बसिरहन संकुचन महसुस भयो । कोठाबाट निस्किएर विराट आकाश मुनि पुग्न उनी बाध्य भए ।
नजिक रहेको एउटा बगैंचामा एउटा रुखतर्फ उनी आकृष्ट भइरहेका थिए। कुनै अन्जान शक्तिले उनलाई जोडले त्यस रुखतर्फ तानीरहेको थियो। बगैंचाको पर्खाल नाघी उनी त्यस रुखमुनि पुगे र आँखा बन्द गरी बसे। त्यस रुखमुनि पुगेपछि उनमा घटिरहेको आन्तरिक विस्फोट शान्त हुँदै गयो र त्यसले सुमधुर अनुभूतिको आभास दिन सुरु गरिरहेको थियो । यो प्रक्रिया करिब ३ घण्टा चलेको थियो र उनको आँखा खुल्दा बिहानको करिब ३ बजेको थियो।
आखिर के भएको थियो ओशोलाई त्यस दिन ?
ओशोले आफ्नो बोध प्राप्तिको वर्णन गर्ने क्रममा आफूले जन्मौ देखि सत्यको खोज गरिरहेको बताएका छन्। आफ्नो विगत जन्मको कमै मात्र चर्चा गर्ने ओशोले १६औँ लामा कर्माप्पाको केही खुलासा पछि भने आफ्नो पूर्व जन्मका विषयमा केही अपत्यारिला घटनाहरूको चर्चा गरेका छन्, जस अनुसार उनी पूर्वजन्ममा तिब्बतमा साधनारत रहँदा करिब करिब निर्माण अवस्थामा पुगेको थिए । तथापि त्यस जीवनमा उक्त कार्य पूर्ण हुन सकेन। २१ दिनको उक्त साधना पूरा हुन तीन दिन बाँकी रहँदै उनको हत्या हुन पुग्यो। उक्त तीन दिनको साधना पूरा गर्न उनलाई यस जन्ममा २१ वर्ष लागेको बताउँछन्। त्यस जन्मको वृद्ध अवस्थामा तीन दिनमा जे सम्भव थियो त्यसलाई यस जन्ममा युवा अवस्थामा २१ वर्ष लागेको थियो। रोचक पक्ष के पनि छ भने बाल्य अवस्थामा एक प्रसिद्ध ज्योतिषले उनको भविष्यवाणी गर्दै प्रत्येक सात वर्षमा उनलाई मृत्युको खतरा रहेको बताएका थिए।
भगवान गौतम बुद्धको बुद्धत्वको चर्चा गर्ने क्रममा ओशोले बताएका छन् कि बुद्धको बुद्धत्व पनि त्यस्तै विश्रान्तिको अवस्थामा घटेको थियो। बुद्धग्रन्थहरूमा वैशाख पूर्णिमाको उक्त दिन बुद्धले सत्य प्राप्त गरी छाड्ने दृण संकल्प गरेका कारण उनमा बुद्धत्व घटेको व्याख्या पाइन्छ । तर ओशोले त्यसको खण्डन गर्दै बुद्धले पनि विश्रान्तिमा नै बुद्धत्व प्राप्त गरेको बताएका छन् ।
सानाे निरञ्जना नदी तर्न नसकिरहेको आफ्नो कमजोर शारीरिक अवस्थाले कसरी भव सागर तर्न सक्छ भन्ने बुद्धलाई बोध भयो। आफ्नो कमजोर अवस्था र साधनाको यस्तो कठिन प्रयासले बोध प्राप्ति नहुने निष्कर्ष निकालेर बुद्धले ज्ञान प्राप्तिको ‘प्रयास’लाई नै त्याग गरे। उनी पूर्ण विश्रान्तिमा गए र त्यही विश्रान्तिको अवस्थामा उनलाई ज्ञान प्राप्ति भयो। ओशोका अनुसार संकल्प मनकै परिधिमा परिभ्रमण गर्दछ। तर बोधमा मनको स्थान हुँदैन ।
सम्बोधिका सन्दर्भमा ओशोका विविध प्रवचनहरू रहेका छन् र उनका सम्पूर्ण प्रवचनहरूको सारलाई एक अर्थमा बुझ्ने प्रयास गर्ने हो भने उनका हरेक प्रवचनले श्रोतालाई बोधकै बाटोतर्फ उत्प्रेरित गरिरहेको पाउन सकिन्छ। ओशो तपोवनले ओशोद्वारा अभिव्यक्त सम्बोधि सम्बन्धि विविध प्रवचनहरूलाई संग्रह गरी Art of Enlightenment पुस्तक प्रकाशित गरेको छ।
ओशोले मानव जीवनको उद्देश्य आफ्नो बोध साथै आफूभित्र परमात्माको बोध भएको बताएका छन्। ओशोलाई आत्मबोध भएपश्चात उनले अरूलाई पनि आत्मबोध गराउन चाहन्थे। सम्भावित साधकहरु खोज्न उनले भारतका विभिन्न स्थानहरूमा भ्रमण गर्दै प्रबचनहरु दिन थाले। १८ वर्षको निरन्तर यात्रा पश्चात उनले १९७० मा नवसन्यास र ध्यानका प्रयोगहरु सुरु गरे र १९७४ मा पुनामा आश्रम स्थापना गरे । उनको निकटमा लाखौं मानिसहरु एकत्रित भइसकेका थिए जो आत्मरुपान्तरण र आत्मबोधको यात्रा गर्न तयार थिए। भारत भन्दा बाहिरका देशहरू, युरोप र अमेरिकाबाट पनि मानिसहरू उनीसँग ध्यान सिक्न आउन थाले।
१९७१ मा अमेरिका गई ‘रजनीशपुरम’ शहर निर्माण गरे र त्यहाँको कम्युनमा पनि हजारौं सन्यासीहरु स्थायी बसोबास गर्दै ध्यानपूर्ण जीवन जिउने कला सिक्न थाले। १९८६ मा पुना फर्किए पश्चात पनि यो क्रम निरन्तर चलिरह्यो । उनका ध्यान पद्धतिहरू सरल र सहज छन् । ओशोको चेतनाले आज पनि ध्यानका मुमुक्षुहरुलाई प्रेरणा दिइरहेको छ। पाठकहरुलाई पनि ध्यान र आत्म साक्षातकारमा प्रेरणा मिलोस्, ओशो सम्बोधी दिवसको शुभकामना।