ओशो तपोवनमा रहेको ओशो समाधिको रहस्यमय इतिहास

ओशो तपोवनमा रहेको ओशो समाधिको रहस्यमय इतिहास

Badigad Online
4 Min Read

प्रज्ज्वल भण्डारी: ओशोले बोधिसत्व स्वामी आनन्द अरुण ज्यू लाई काठमाडौँको आसपासमा एउटा कम्युन बनाउन निर्देशन दिनुभएको थियो, र त्यसका लागि केही सर्तहरू भन्नुभएको थियो जस्तै कि त्यो स्थान सहरभन्दा नजिक पनि नहोस् र टाढा पनि नहोस्। डाइनामिक लगायतको ध्यान गर्दा कथार्सिस गर्नु पर्ने भएकोले छिमेकीलाई समस्या नहोस्, पानीको समस्या नहोस् र प्रकृतिको बीचमा होस्। चार वर्षदेखि यस्तो स्थान खोजिरहे पनि स्वामी आनन्द अरुणले सबै सर्तहरू पूरा हुने ठाउँ भेटिरहनुभएको थिएन।

स्वामीजी एकदिन साथीहरूसँग यस स्थानमा वनभोज मनाउने क्रममा आउनुभएको थियो। यो अहिले तपोवन भएको ठाउँमा त्यतिबेला डाँडा मात्रै थियो र बस्नलाई अलि समथर ठाउँ यही अहिले ओशो समाधि रहेको ठाउँ थियो। उहाँहरूले यही ठाउँमा पिकनिक मनाउनुभयो र स्वामीजीलाई यस रुखको मुनि ध्यान गरौँ जस्तो लाग्यो। उहाँलाई यस रुखमुनि गहिरो ध्यान लाग्यो र त्यही ध्यानकै क्रममा ओशोले दिनुभएको कम्युनको सर्तहरू यस स्थानमा पुरा हुने उहाँलाई स्मरण भयो।

त्यसपछि यही स्थानलाई उहाँले कम्युनको रुपमा विकसित गर्दै लानुभयो र यो रूख भएको स्थानलाई पनि संरक्षण गर्न थाल्नुभयो। पहिले यस स्थानमा यहाँका स्थानीय मानिसहरूले वनदेवी भनेर पूजा गर्ने गर्दथे र आश्रम बन्ने भएपछि स्वामीजीलाई यस स्थानलाई सुरक्षित राख्न आग्रह गरेका थिए। स्वामीजीले यसको संरक्षण गर्दै यहाँ नियमित ध्यान गर्न थाल्नुभयो।

ध्यानको क्रममा उहाँलाई यस स्थानमा आध्यात्मिक घटनाहरू भएको दृश्यहरू देख्न थाल्नुभयो। तपोवन बन्ने पछि विभिन्न सन्तहरूले यस स्थानमा आएर ध्यान गर्नुभएको छ। उहाँहरूका अनुसार पनि यस स्थानमा पहिले बौद्ध भिक्षु नागार्जुन आउनुभएको थियो जसलाई बुद्धको एक प्रसिद्ध भिक्षु मानिन्छ। नालन्दा विश्वविद्यालयका प्रधानाध्यापक रहनुभएका उहाँ बुद्धको आदेश अनुसार आफ्ना केही शिष्यहरूका साथ यही स्थानमा आउनुभएको थियो र २७ वर्ष बस्नु भएको थियो। यहाँ ध्यान गर्ने क्रममा नागार्जुनलाई यही स्थानमा बुद्धत्व प्राप्त भएको थियो। पहिले रुख अर्कै थियो यो त्यही रुखको शाखा वृक्ष रहेको छ। स्वामी आनन्द अरुणले ओशोको अस्तु यही रुखमुनि राखेर यस पुरै क्षेत्रलाई ओसो समाधिको रुपमा विकास गर्नुभयो।

Osho Samadhi

यो स्थान बुद्ध भिक्षुहरूले बनाउने स्तुपाको आकृतिमा रहेको छ। यहाँ आएर ध्यान गर्ने विभिन्न रहस्यदर्शीहरुले बताए अनुसार नागार्जुनसँग आएका अरु भिक्षुहरूको पनि यही स्थानमा समाधि बनाइएको थियो। त्यसैले यस स्थान अत्यन्तै पवित्र भएकोले हो, उहाँहरुले यसलाई सधैं सफा र शुद्ध राख्न स्वामी जीलाई आग्रह गर्नुहुन्थ्यो।

एक दक्षिण भारतीय सन्त परम ज्योति ओमाहनले आफ्ना २० जना शिष्यहरूसँग यस स्थानमा भ्रमण गर्ने क्रममा स्वामीजीलाई आफूले देखेका केही अचम्म लाग्दा कुराहरू बताउनु भएको थियो। उहाँले ध्यान गर्ने क्रममा यस स्थानमा पहेलो वस्त्र लगाएका सयौं बुद्ध भिक्षुहरू यस समाधिको वरिपरि ध्यान गरिरहेको देख्नुभयो। त्यसै गरी त्यो दिन परम ज्योति ओमाहनका ५ जना शिष्यहरूलाई यस समाधि स्थलमा ध्यान गर्दा Out of Body experience भयो। अर्थात् उनीहरूले आफ्नो शरीरबाट निस्केर सूक्ष्म जगतको यात्रा गर्न सफल भएका थिए। परम ज्योति ओमाहनका अनुसार अन्य स्थानमा वर्षौं साधना गर्दा पनि उनीहरूलाई यस्तो अनुभव भएको थिएन तर ओशो समाधिमा त्यस्तो अनुभव सहजै भएको थियो।

उहाँका अनुसार नागार्जुनासँगै आएका बुद्ध भिक्षुहरू उच्चचेतना भएका थिए र केही बुद्धत्व प्राप्त पनि भएका थिए। उनीहरूको समाधि पनि यही स्थानमा बनाइएको छ। त्यही कारण यस समाधिस्थल स्तुपा आकृतिको रहेको छ। ती महान बुद्ध भिक्षुहरूको साधनाका कारण यस स्थान अत्यन्त पवित्र रहेको ओमाहनले बताउनुभयो।

यस स्थानको उद्घाटन दलाई लामाले यस समाधिस्थलको तस्बिरमा हस्ताक्षर गरेर गरिदिनुभएको थियो। स्वामीजी दलाई लामालाई भेट्न उहाँको धर्मशाला जानुभएको थियो र नेपाल आएर यस स्थानको उद्घाटन गरिदिन आग्रह गर्नुभएको थियो। दलाई लामाले राजनीतिक कारणले अहिले नेपाल जान नमिल्ने र पछि मौका मिले आफू तपोवन आउने बताउनुभएको थियो र त्यही समाधिको तस्बिरमा हस्ताक्षर गरेर उद्घाटन गरिदिनुभएको थियो।

दलाई लामाले पनि यस स्थानलाई पवित्र मान्दै आफ्नो गुरुको समाधिस्थल मान्नु हुन्छ। नागार्जुनले महायान को दर्शन यही स्थानमा सुरु गर्नु भएकोले बुद्ध भिक्षुहरूको लागि पनि यो स्थान पवित्र रहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित