काठमाडौं । सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।
जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई शव संकलन गरेर सडकमा ल्याइएको र बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ । बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।
सुर्खेतमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ३ का तन्त कामी, वीरेन्द्र विक, नवराज विक र दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ का महेन्द्र शाहीको दुर्घटनामा मृत्यु भएको हो।