अनिश शर्मा गैरे, गुल्मी ०९ मँसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता गगन कुमार थापाले हालको सरकारले देशलाइ ढुक्क हुने अवस्थामा राख्न नसकेको आरोप लगाएका छन । नेपाली काँग्रेस बडिगाड २ ले दनियामा आयोजना गरेको चुनावी आमसभा कार्यक्रमलाइ सम्बोधन गर्दै उनले हालको सरकारले अहिले केही डरलाग्दा संकेतहरु देखाएको र ती संकेतहरुलाइ अहिले नै नरोके देशमा डरैडर हुने बताए । हालको सरकारले धेरै अनुकुलता पाउँदा पनि दुइ बर्षको अवधिमा केही गर्न नसकेको थापाको भनाइ छ । ‘न त शान्ती प्रक्रियाको चिन्ता छ, न त संविधान बनाउने चिन्ता छ न त चुनाव बनाउने चिन्ता छ’ थापाले भने ‘सबै काम सकिएको यस्तो अवस्था आउँदा पनि कम्युनिष्ट सरकारले केही गर्न सकेन’ । उनले हाल प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका प्रतिवद्धता पुरा गर्ने काम छोडेर प्रतिवद्धताको बारेमा जनताले सोधेको खण्डमा जनतालाइ नै खिसी गर्ने गरेको बताए ।
उनले काँग्रेसले बढाएको ढुकुीटी बाट अहिलेको सरकारले राज गरेको बताउँदै काँग्रेसले ढुकुटी बढाउन जानेको तर कम्युनिष्टले ढुकुटी घटाउने र खर्च गर्ने काम मात्र जानेको बताए । सीमा विवादको बिषयमा बोल्दै थापाले भारतले आफ्नो नक्सामा नेपालका भुभाग राखेको बिषयमा सरकारले एक शब्द पनि बोल्न नसकेको बताए । बरु काँग्रेसले सरकारलाइ पुर्ण रुपमा साथ दिने बताएको खण्डमा पनि सरकारले केही गर्न नसकेको बताए । उनले कम्युनिष्ट पार्टीले आफुहरु गरीबको पार्टी भन्ने तर देशलाइ गरीब मात्रै गराउने बताउँदै आफ्नो पार्टी सुखीहरुको पार्टी भएको र देश तथा जनतालाइ पनि सुखी बनाउने बताए । बर्षै देखी पछि परेको राना समुदायको उत्थानको निम्ती काँग्रेसले हाल बडिगाड दुइमा डिल बहादुर रानालाइ वडाध्यक्ष पदको उम्मेद्वार बनाएको भन्दै उनले राना समुहदायलाइ आएको यो अवसर नछुटाउन आग्ह गरे । उनले अहिले पनि राना समुदायले यो अवसर गुमाए भने उनीहरु झन पछि पर्ने बताए ।
कार्यक्रममा बोल्दै उम्मेद्वार डिल बहादुर रानाले बर्षै देखी पछि पारेको समुदायको उत्थान गर्ने गरी काँग्रेसले आफुलाइ उम्मेद्वार बनाएको भन्दै पछि परेका हरेक समुदायको उत्थानको निम्ती आफुले काम गर्ने बताए । सो अवसरमा काँग्रेस बाग्लुङ्ग जिल्ला कार्य समितिका सदस्य गण्डकी थापा, फम बहादुर खत्री, नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेका मुसिकोट नगर सचिब मोहन घिमिरेले लगायतले बोलेका थिए । काँग्रेस दगातुम्डाडा गाँउकार्य समितिका सभापति सुवेदार सत्न बहादुर क्षेत्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस बडिगाड गाँउपालिका सभापति अर्जुन खरेलको स्वागत रहेको थियो । भने सञ्चालन सहसचिब रन बहादुर भुजेलले गरेका थिए ।दनियाको कार्यक्रम सकिएपछि वामीटक्सारमा पनि छोटो कोणसभा सम्पन्न गरिएको थियो । महेन्द्र आदर्श माविको विद्यालय पछाडी भएको कोणसभा सम्बोधन गरेका उनले महेन्द्र आदर्श माविमा पनि थोरै समय सम्बोधन गरे ।