कमल पौडेल,गल्कोट (रिघा) – गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचाले शिक्षाको विकास त्रिकोणात्मक सम्बन्धबाट हुने बताउनु भएको छ। रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११, रिघाको हिरक महोत्सवमा सम्बोधन गर्दै काउचाले शिक्षक, विद्यार्थी तथा अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर वृद्धिहुने बताउनु भएको छ। काउचाले पहिलेका अभिभावक शिक्षीत नभएपनि वच्चा पढाउन तल्लीन रहेको अहिले अभिभावक आफै पढेलेखेको भएकोले थप जिम्मेवार हुनुपर्ने बताउनु भएको छ।
आफैले पढेको विद्यालयमा प्रमुख अतिथि बनेर पुग्नुभएकि उपमेयर काउचाले विद्यालयको भौतिक तथा शैक्षिक स्तरवृद्धिको लागी सवै एकजुट हुन आह्वान गर्नुभएको थियो। त्यस्तै विद्यालयले बैदेशिक रोजगारीको सिलसिलामा रहेर हाल महोत्सवमा आएका पूर्व विद्यार्थी तथा सहयोगीहरु संग राखेको शैक्षिक अन्तरक्रियामा उपमेयर काउचाले सवै पूर्व विद्यार्थीहरु विद्यालयको प्रगतिको लागी एकतावद्ध हुनेवेला आएको भन्दै हिँजो के भयो छोडेर आजैवाट नयाँ योजनाका साथ विद्यालय विकासमा लाग्न अनुरोध गर्नुभएको छ।
सो अन्तरक्रियामा डा. भिम बहादुर पुन, सोम श्रीस, मेजर जिवन पुन, सानोरिघा आ.वि.का प्रधानाध्यापक नरेन्द्र पुन लगाएतले शैक्षिक गुणस्तर वृद्धिको लागि सुझाव सहित धारणा व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा प्रधानाध्यापक तुल बहादुर श्रीसले विद्यालयको भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सोहि अवसरमा गोर्खा व्रिटिस वेयलफेयरको तर्फवाट विद्यालयका शिक्षक नारायण पौडेललाई उत्कृष्ठ शिक्षकको रुपमा सम्मान समेत गरिएको थियो।
अन्तरक्रिया कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता तथा शिक्षक नारायण पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो। उता महोत्सवको अवसरमा खुल्ला फुटवल प्रतियोगीता, विद्यालय स्तरीय छात्र तथा छात्रा भलिवल प्रतियोगीताको प्रथम चरणका कार्यक्रमहरु सम्पन्न भएका छन्। हिरक महोत्सवको अवसरमा सहयोग गर्ने चन्दादातालाई पञ्चैवाजा, पञ्चकन्या सहित सम्मान गरिएको छ। त्यस्तै लोक गाएक तथा मोडल प्रकाश सपुत, हाँस्य कलाकार निर आले लगाएतले प्रस्तुती प्रस्तुत गर्नुभएको थियो। तेश्रो दिनको कार्यक्रममा संघिय साँसद देवेन्द्र पौडेल, कलाकारहरु देवी घर्ति लगाएतको सहभागिता रहने विद्यालयले जनाएको छ।