सागर भण्डारी,गुल्मी । बडिगाड गाउँपालिका वडा नं. २ जिमीमा रहको गौरी संकर रुद्रेश्वर गुफाको भव्य समारोहका विच सिलन्यास एवम् समुद्घाटन गरिएको छ । धेरै समय पहिले नै उक्त स्थानमा गुफा रहेको भएतापनि स्थानियले चासो नदिदा ओझेलमा परेको थियो । गुफाको आईतबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति बाग्लुङका उपाध्यक्ष विष्णु भुषालले उद्घाटन गर्नुभएको हो ।
गुफा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले गौरीशकंर गुफाको अथाहा प्रचार प्रसार र प्रवद्धन गर्न सकेमा ढोरपाटन लगायतका क्षेत्रमा भ्रमणको लागि आउने पर्यटकलाई गुफा अवलोकनका लागि ल्याउन सकिने बताउनुभयो । बडीगाड गाउँपालिकामा थुप्रै जल, खनीज, उद्योग र धार्मिक पर्यटनको सम्भावना रहेको भन्दै उहाँले त्यस्ता सम्भाव्य क्षेत्रको पहिचान सगैं प्रवद्धन गर्न सकेमा पर्यटन विकासमा टेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेयर सिहं पाईजा र वडा नं २ का वडाध्यक्ष ढाल प्रसाद सेरचनले पालिकाले गर्नुपर्ने काम स्थानीयले गरी गुफाको प्रचारप्रसार गरेकोमा धन्यवाद दिनुभएको थियो । गुफाको प्रवद्धनमा गाउँपालिका तथा वडा कार्यालयबाट हुन सक्ने सम्पूर्ण सहयोग रहने अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालय खर्बाङका प्रधानाध्यापक ढालमणी भण्डारी, बडीगाड गाउँपालिका पालिका सदस्य हिमा खराल, लगायतले बोल्नुभएको थियो ।
स्थानीयले केही समय पहिले उक्त गुफा फेला पारेका थिए । गुफामा विभिन्न देवीदेवताका मूर्ति, आकृति, नाग, शिवलिगं, गणेश भगवानका आकृति लगायत रहेका छन् । स्थानीय स्तरमा भएको उक्त गुफालाई प्रवद्धन गर्ने उद्धेश्यले पछिल्लो समय समिति नै बनाएर प्रचारप्रसार र प्रवद्धनको काम अगाडी बढेको छ । ओझेलमा परेको गुफा प्रचारप्रसार एवं संरक्षणका लागि स्थानीय दोर्ण बन अध्यक्ष रहेको संरक्षण समिति गठन गरिएको छ । समितिकै पहलमा शिलन्यास तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
मध्यपहाडि लोकमार्गबाट करिव ५ मिनेटको यात्रापछि पुगिने उक्त गुफाको अवलोकन पश्चात २ मिनेटको यात्रा गरेपछि सिमपानी झरना समेत देख्न सकिन्छ । स्थानीयलाई जानकार भएको भएतापनि गुफा आसपासमा विशाल झाडि भएका कारण कोही पनि जाने गरेको थिएनन् । तर अहिले नेपाल सरकारले लिएको भिजिट नेपाल २०२० लाई लक्षित गरेर गुफा आसपासमा सफाई सहित रुद्री पुजा गरी गुफाको औपचारीक रुपमा सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापन समिति शिवलाल वनको स्वागत र दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।