सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पौँदी अमराई अरेवाकी रिमा घिमिरेका दिनरात रोएरै बितेका छन् । सगैं जीउने मर्ने कसम खाएर बिहे गरेका श्रीमानले यसरी चटक्कै छाडेर जालान र जीन्दगी यस्तो होला भनेर उनले कल्पना पनि गरेकी थिईनन् ।
उनलाई श्रीमानले छाडेर गएको १० वर्ष बितिसकको छ । दुख विसाउने थलो कतै छैन् न श्रीमान छन् न त आफन्तले नै साथ दिन्छन् ।
ओरालो लागेको हरिणलाई मृगले पनि खेद्छ भनेजस्तै कतैबाट पनि सहारा नपाएकी उनलाई श्रीमानले छाडेर गएको पीडा त छँदै थियो झन त्यसैमाथी ३ सन्तानको पिरलो पनि थपियो । सुरुमा पौदीअमराई थाममा बस्ने उनी श्रीमानले छाडेसगैं गाउँका विभिन्न ठाउँमा भाडा गर्दै बस्दै आईरहेकी छिन् । श्रीमानले छाडेपछि आफन्त छरछिमेक र समाज सबैले अवहेलना गर्न लागे अर्को तर्फ गरिबीको पीडाले छोराछोरीलाई कसरी पालनपोषण गर्ने, पठनपाठन गराउने भन्ने चिन्ताले उनलाई झनपछि झन गाल्दै लग्यो ।
बाग्लुङको भिमगिठे माईत भएकी घिमिरेका अहिले ३ सन्तान छन् । श्रीमानले दिनरात जाँडरक्सी खाएर पिट्ने र शारिरीक एवम् मानसिक यातना दिने पीडा जेनतेन सहँदै आएकी उनलाई अहिले भने तीनै श्रीमानले पनि छोडेका छन् । श्रीमानले रक्सी खाँदा खाँदै सबै सम्पत्ति बेचेर चटक्कै छाडेर गए कहाँ छन् पत्तो छैन् छरछिमेक र आफन्तले पनि सहयोग गर्दैनन् । छोराछोरीलाई बिहान बेलुकी कसरी खाना खुवाउने र पढाई लेखाई गराउने भन्ने चिन्ताले उनलाई रात भरि निद्रा लाग्दैन् ।
भाग्यले ठगिएकी घिमिरेलाई अझै धेरै पिरलो त कान्छी छोरीको छ उनी जन्मिँदै शारिरीक अपाङ्गता छिन् । उनलाई दिसा पिसाब समेत आमाले नै गराउनुपर्छ । घिमिरेले अहिले मासिक ३ हजार घरभाडामा लिएर छोराछोरीलाई सोही घरमा राख्दै आएकी छन् । के खाने के लाउने छोराछोरी कसरी पढाउने भन्ने त परैको कुरा उनलाई त्यही घरभाडा तिर्न पनि मुस्किल छ । सम्पत्ति नभएपछि सबैले हेला गर्ने रहेछन् बरु मर्न पाए हुन्थ्यो उनले भक्कानिँदै भनिन् ।
आर्थिक अभावका कारण उनले कहिले काँही छोराछोरीलाई भोकै पनि सुताउनुपरेको पिडा सुनाईन् । भर्खर कक्षा ६ मा पढ्दै गरेका उनका कान्छा छोराले पुराना अरुले लेखेका कापीका पान्नाहरु च्यातेर लेख्ने गरेको बताए । कहीलेकाहीँ साथी भाईले खाजा खाँदा टुलुटुलु हेरेर बस्ने पीडा त मनमा छनै परिक्षामा परिक्षा शुल्क समेत तिर्नलाई उनले विदाको समयमा अर्काको मेलापात गर्न जानुपर्छ ।
आमाले छोराछोरीलाई खुवाउने की पढाउने ? बरु मर्न पाए हुन्थ्यो यो अपाङ्ग छोरीको पिरलो उनलाई अझै धेरै छ । ३ छोराछोरी मध्ये जेठी छोरी जन्मिँदै शारिरक अपाङ्गता भएर जन्मिईन् । पीडा माथी पीडा कहिलेकाहीँ त खोलामा हाम फालेर मरौँ जस्तो लाग्छ उनले भनिन् म अभागीलाई न आगोले खायो, न पहिरोले लयो, न त खोलाले नै बगायो यसरी बाँच्नु भन्दा बरु छोराछोरीलाई पनि सगैं खोलामा लगेर हाम फालेर मर्न पाए आनन्द हुन्थ्यो ।
उनले छोराछोरीलाई कसैले पढाईदिने मान्छे पाए बरु केही राहत हुने बताईन् । मेरो जिन्दगी त यसरी नै गयो केही सहयोग पाए यी छोराको भविष्य बन्थ्योकी उनले रुँदै भनिन् यो अपाङ्ग छोरी त बरु म भन्दा पहिले मरे हुन्थ्यो यसको दुख देख्नुभन्दा २ वटा छोराछन् गरिबीका कारण यिनीहरुले पनि पढ्न पाएका छैनन् । सहयोग पाए यीनीहरुले त राम्ररी पढ्न पाउँथे होला ।