सागर भण्डारी, फाल्गुण २६ । शारीरिक अपाङ्गता भएका युवालाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेको समाचार एवम् भिडियो युटबमा प्रशारण भएपछि जापानबाट सहयोग आएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका २ जिमी बेसीका ३२ वर्षीय रेशम रानालाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएको भन्ने समाचार गुल्मी टेलिभिजनको कार्यक्रम सघंर्षका कथा मार्फत प्रशारण भएको थियो ।
उक्त भिडियो युटुबमा हेरेपछि हाल जापानमा रहनुभएका बाग्लुङवासीहरुले सहयोग गरेका हुन् । बडीगाड गाउँपालिका वडा नं २ जीमी नै घर भई हाल जापानमा रहनुभएका गणेश बनको पहलमा जापानमा सकंलित रकम नगद रु २८ हजार ७ सय ५० रुपैयाँ कार्यक्रम सघंर्षका कथा कार्यक्रमका प्रस्तोता दिपक नेपालीले रेशमका बुबा रेश बहादुर रानालाई हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बडीगाड अनलाईनका सम्पादक जीवन पाण्डेय, सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार सम्पादक सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो । रकम बुझ्दै रेशमका बुबा रेश बहादुर रानाले यस्तै देश विदेशमा रहेका अन्य व्यक्तिहरुले पनि सहयोग गरेमा आफ्नो छोराले पुनःर्जीवन पाउने बताउनुभयो ।
मानसिक तथा शारीरिक अवस्था कमजोर भएका तामाङलाई २ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरिएको छ । उनी हिँड्ने, डुल्ने गरेपनि परिवारकै आफन्तलाई समेत चिन्न सक्दैनन् । डोरी खोल्दिने वित्तिकै घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिन, भागेर महिना दिनसम्म घरमा नआउने तथा जसलाई पायो उसैलाई पिट्ने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बुबा रेशबहार रानाले बताउनुभयो ।
१२ वर्षको उमेरमा रोजगारीका लागि भारतको पञ्जाबमा पसेका उनी केही वर्ष राम्रै अवस्थामा रहेको र पैसा समेत पठाउने गरेपनि भारतबाट घर फर्केने क्रममा रेलको झ्यालबाट हाम फालेपछि अहिले यो अवस्था आएको उहाँले बताउनुभयो । उनलाई टिचिङ अस्पताल लगायतका अन्य अस्पतालमा उपचार गराएपनि अब त उपचार गराउँदा गराउँदै सम्पत्ति सकिएको र उपचार गर्न आर्थिक अवस्था भएको बुबा रेश बहादुर रानाले बताउनुभयो ।
ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको उहाँले बताउनुभयो । अझै पनि कसैले साथ सहयोग गरे छोराको उपचार हुन्छकी भन्ने आशा अझै पनि मनमा रहेको बुबाको भनाई छ ।