मुसिकोट नगरपालिकाका २ वटा वडामा राहत वितरण

मुसिकोट नगरपालिकाका २ वटा वडामा राहत वितरण

Badigad Online
3 Min Read

विष्णु प्रसाद आचार्य, चैत्र २२ । मुसिकोट नगरपालिका अन्तर्गत रहेका २ वटा वडा कार्यालयहरुले लकडाउनका कारण प्रभावित बनेका र खाद्यान्न अभाव भोगेका परिवारलाई राहत वितरण गरेका छन् ।

मुसिकोट नगरपालिकाको बिहिवारको कार्यपालिकाको बैठकको निर्णय बमोजिम अति विपन्न एवम् गरिबीका खाद्यान्न अभाव भोगिरहेका परिवारको लगत सकंलन गरि राहत वितरण गरिएको हो ।

नगरपालिकाले ९ वटै वडामा राहत वितरणको लागि तैयारी गरेको छ । सबै वडाबाट प्रभावित परिवारको विवरण सकंलनको काम भईरहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ ।

शनिवार पहिलो दिन वडा नं ७ वामीटक्सार र वडा नं ८ वामीमैदानले राहत वितरण गरेका छन् । वडा नं ७ ले लकडाउनका कारण प्रभावित बनेका वडा भित्र रहेका १ सय १ घरधुरीलाई राहत वितरण गरेको छ । पहिलो दिन वामी पल्टारमा राहत वितरण गरिएको र आईतबार काफलटोला, सेरा र परुवामा राहत वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

राहत वितरण सर्वदलीय, सर्वपक्षीयको निगरानीमा वडाभित्र रहेको २१ सदस्यीय कोरोना नियन्त्रण समन्वय समिति मार्फत गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । राहत वितरण कार्यक्रम न्याय सगंत होस भनेर सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि र स्थानीयको रोहवरमा गरिएको उहाँको भनाई छ ।

यसैबीच वडा नं ८ वडाकार्यालय वामी मैदानले पनि वडा भित्र रहेका १ सय घरधुरीमा राहत वितरण गरेको वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभएको छ । वडाभित्र रहेका जम्मा २ सय ५४ घरधुरीको लगत सकंलन भएको र बाँकी रहेको वडामा आईतबार वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकामा रहेका अन्य वडाले भने लगत सकंलन गरिरहेको र आईतबार देखि अन्य वडामा पनि राहत वितरणको काम सुरु हुने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । वडास्तरीय नामावली सकंलनका लागि प्रत्येक वडाकार्यालयले सर्वदलीय, सर्वपक्षीय बैठक बसी वास्तविक पीडितको तथ्याङ्क सकंलन गर्ने र सोही बमोजिम राहत वितरण गरिने उहाँले बताउनुभयो ।

घरमा उत्पादन भएको खाद्यान्नले १ महिना पनि खान नपुग्ने, परिवारको सबै सदस्य बेरोजगारी भएको अर्थात नियमित आम्दानी हुने कुनै माध्यम नभएको, र ज्यादै न्यून स्तर भएका र कम्तीमा दुई छाक खाना खान समेत नसक्ने तथा ३ रोपनी भन्दा कम जग्गा भएका व्यक्तिहरुको विवरण सकंलन गरी विवाद सिर्जना नहोस भनेर सामाजिक न्यायका हिसाबले राहत वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले त्यस्ता परिवारका लागि २५ केजी चामल, २ किलोग्राम दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल र २ वटा साबुन लगायतका अत्यावश्यकीय सामाग्री राहत स्वरुप उपलब्ध गराउन लागेको छ । नगरपालिकाको बिहिवारको बैठकले लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी गर्नेहरु बढी प्रभावित बनेको भन्दै उनीहरुको सहज जीवन यापनका लागि राहत वितरण गर्न राहत कार्यवितरण कार्यविधि पारित गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित