पोखरा,चैत्र २३ । गण्डकी प्रदेश सरकारले उपचार नगरी बिरामी फर्काउने वा तत्काल उपचार नगर्ने अस्पताल र त्यस्ता संस्थाका पदाधिकारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद् बैठकले संक्रमण रोग ऐन २०२० लगायत प्रचलित कानुनअन्तर्गत कारबाही गर्न निर्देशन दिएको हो । सरकारी, निजी, सामुदायिक र विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले सबै बिरामीलाई अनिवार्य उपचारको व्यवस्था गर्न पनि प्रदेश सरकारले भनेको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आबद्ध कर्मचारीको सुत्केरी र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न पनि मन्त्रिपरिषद्ले भनेको छ । स्वीकृत भइसकेका बिदा रद्द गरी कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्म कर्मचारीको राजीनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।