छत्रकोट १ हुँगाले राहत वितरण सुरु गर्यो

छत्रकोट १ हुँगाले राहत वितरण सुरु गर्यो

Badigad Online
3 Min Read

सागर भण्डारी,चैत्र २३ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ वडा कार्यालय हुँगाले लकडाउनका कारण प्रभावित बनेका अतिविपन्न गरिब परिवारलाई राहत वितरणको काम सुरु गरेको छ ।

वडा कार्यालयको सर्वदलिय सर्वपक्षीय बैठक पछि सकंलन गरिएको अति विपन्न ९१ घरपरिवार मध्ये पहिलो चरणमा आईतबार ६८ घरधुरीलाई राहत वितरण गरिएको र जसबाट २ सय ४३ व्यक्ति प्रत्यक्ष लाभान्वित भएको वडाध्यक्ष धातानन्द भण्डारीले जानकारी दिनुभएको छ । पहिलो दिन साविकको वडा नं १,२,३,४,५,६ र ७ वडामा राहत वितरण गरिएको र बाँकी रहेको २ वटा वडामा सोमबार वितरण गरिने उहाँले बताउनुभयो ।

वडास्तरीय नामावली सकंलनका लागि वडाकार्यालयले सर्वदलीय, सर्वपक्षीय बैठक बसी वास्तविक पीडितको तथ्याङ्क सकंलन गरेको र सोही बमोजिम राहत वितरण गरिएको उहाँको भनाई छ । लकडाउनका कारण अति प्रभावित बनेका नियमित आम्दानीको श्रोत नभएका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको भएपनि लकडाउन लम्बिँदै जाँदा अन्य वर्गपनि प्रभावित हुने कुरालाई मध्येनजर गरेर आवश्यकता अनुसार थप्ने तैयारी भईरहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

वडाध्यक्ष भण्डारीले भोकमरीको कारण कोही पनि मर्ने अवस्था सिर्जना नहुने भन्दै मौकाको फाईदा उठाउने भन्दा पनि वास्तविक पीडितलाई राहत वितरण गर्ने कुरामा आफु चनाखो रहेको बताउनुभयो ।

घरमा उत्पादन भएको खाद्यान्नले १ महिना पनि खान नपुग्ने, परिवारको सबै सदस्य बेरोजगारी भएको अर्थात नियमित आम्दानी हुने कुनै माध्यम नभएको, र ज्यादै न्यून स्तर भएका र कम्तीमा दुई छाक खाना खान समेत नसक्ने व्यक्तिहरुको विवरण सकंलन गरी विवाद सिर्जना नहोस भनेर सामाजिक न्यायका हिसाबले राहत वितरण गरिएको उहाँको भनाई छ ।

विपन्न परिवारलाई प्रतिव्यक्ति ६ किलोको दरले चामल, ३ किलो दाल, १ किलो तेल , १ पोका नुन र २ वटा साबुन कुपनको आधारमा पैँचो पसल प्रालिबाट वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा वडाध्यक्ष धातानन्द भण्डारी, छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी लगायत वडामा क्रियाशिल राजनैतिक दल लगायतको सहभागीता रहेको थियो ।

यसैबीच उक्त वडामा भारत लगायतका तेश्रो मुलुकबाट १ सय ४१ जना भित्रिएका छन् । चैत्र ८ गतेसम्म वडाभित्र उक्त संख्यामा नागरिकहरु भित्रिएको र उनीहरुलाई २ हप्तासम्म अनिवार्य रुपमा एकान्तबासमा बस्न आग्रह गरिएको र अहिलेसम्म वडामा कुनै पनि सक्रंमित व्यक्ति नभेटिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

वडा कार्यालयले आफ्नै क्वारेन्टाईन निर्माण नगरेको भएपनि गाउँपालिकाको तर्फबाट श्रृङ्गा र दिगाममा निर्माण गरिएका क्वारेन्टाईनमा आवश्यक परे पठाउने गरि तैयारी थालिएको उहाँको भनाई छ । साथै वडाध्यक्ष भण्डारीले सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सकांस्पद व्यक्ति भेटिएमा तुरुन्त वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित