काठमाण्डौ चैत्र २४ । नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएयता नेपालमा भारत तथा अन्य मुलुकबाट आएकामध्ये ६१ हजार व्यक्तिको पहिचान भएको छ ।
ती मध्ये ५८ हजार पाँच सय जना स्थानीय तहको निगरानीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उनीहरु कतिपय एकान्तबास र कतिपयलाई सार्वजनिक रूपमा बनाइएका क्वारेन्टाइनमा राखिएको मन्त्रालयको भनाइ छ । वडास्तरमा थालिएको अभिलेखीकरणबाट ती व्यक्तिको पहिचान भएको हो ।
भारतबाट भित्रिएका व्यक्तिको यकिन तथ्यांक लिने काम भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । मन्त्रालयले स्थानीय तहसँग यस बारेमा समन्वय गर्न प्रदेशगत रूपमा एक–एक जना उपसचिवलाई जिम्मेवारी तोकेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
विदेशबाट आएका व्यक्तिबाट उनका आफन्तमा तथा भारतबाट लुकीछिपी प्रवेश गरेका एक जनामा कोभिड–१९ को संक्रमण पाइएपछि विदेशबाट आएकाको पहिचान गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हो ।