काठमाडौ चैत्र २४ । लकडाउनको अवधि एक साता अझै लम्बिने भएको छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ ।
सोही बैठकमा यो प्रस्तावलाई पारित गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको हो ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।
बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।