बुटबल चैत्र २४ । प्रदेश ५ मा सोमबारबाट कोरोना भाइरस (कोभिड(१९) को परीक्षण सुरु भएको छ ।
अन्य प्रदेशमा मेसिन जडान गरेर परीक्षण सुरु भइसक्दा पनि प्रदेश ५ मा भने उपकरण जडान र पूर्वाधार निर्माणका कारण प्रयोगशाला सञ्चालनमा ढिलाइ भएको थियो ।
शनिबार र आइतबार उपकरण जडान गरी नमूना स्वरुप पाल्पाका एक बिरामीको स्वाब परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट बिरामीको रिपोर्ट नेगेटिभ देखिएको छ । आजबाट भने प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नियमित रुपमा कोभिड १९ को परीक्षण गर्न थालिएको बताईएको छ ।
यसअघि प्रदेश ५ बाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको थियो । प्रयोगशाला रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रभित्र रहेको वीउविजनको भवनमा स्थापना गरिएको छ ।
प्रयोगशाला सञ्चालन लुम्बिनी प्रादेशिक अस्पतालबाट सुमन सापकोटा र आशिष श्रेष्ठ सहितको टोलीले गरिरहेको जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्रकुमार गिरीले बताउनुभयो । डां गिरीका अनुसार एक पटकमा १६ वटासम्म नमूना परीक्षण गर्न सकिन्छ ।
प्रयोगशाला सञ्चालन भएपछि यस क्षेत्रका अस्पतालले तुरुन्तै रिपोर्ट प्राप्त गर्न सक्नेछन् । काठमाडौंमा परीक्षणका लागि पु¥याएर ल्याउँदा ३ दिनसम्म लाग्ने गरेको थियो । अहिले प्रयोगशालामा पिसिआर मेसिनबाट कोरोना भाइरसको जाँच थालिएको छ ।