बडीगाड अनलाईन सवांददाता, चैत्र २४ गुल्मी । खाद्यान्न बोक्ने ट्रकमा लुकिछिपी भैरहवा हिँड्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका १० जनालाई बुर्तिबाङ नै फर्काईएको छ ।
कोरोना भाईरसको जोखिम बडेसगैं सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान निषेध गरेको अवस्थामा लुकिछिपी ट्रकमा यात्रा गर्दै गर्र्दा प्रहरीले बाग्लुङ र गुल्मीको सिमाना हाँडीखोलाबाट आईतबार बेलुकी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
बुर्तिबाङबाट बुटवलतर्फ खाद्यान्न ढुवानीका लागि जाँदै गरेको ना ५ ख ७५०१ नम्बरको ट्रकमा भैरहवा जान हिँडेका उनीहरुलाई ट्रकसगैं नियन्त्रणमा लिएर बडीगाड गाउँपालिकाले जिल्ला विका समितिको सभाहलमा निर्माण गरेको क्वारेन्टाईनमा राति राखेर सोमबार दिउँसो पुन : बुर्तिबाङ नै फर्काईएको बडीगाड डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो ।
बुर्तिबाङबाट राता रात ट्रकमा लुकेर भैरहवा जाँदै गर्दा भेटिएका उनीहरुलाई बाटोमानै नियन्त्रणमा लिई पुन :उनीहरु जहाँबाट आएका हुन त्यही नै फर्काईएको उहाँले बताउनुभयो ।
बाग्लुङका पश्चिम क्षेत्रमा प्रवेश गर्ने मूख्य नाका हाँडीखोलाबाट ट्रकमा मानिसहरु रातारात भित्रिने गरेको खबर पाएपछि सुरक्षाकर्मी, बडीगाड गाउँपालिकाका जनप्रतिनिधि लगायत स्थानीय युवाहरुले गोस्ती थालेका थिए । गोस्ती थालेको केही बेरमै बुटबल जाँदै गरेको ट्रकमा उनीहरुलाई नियन्त्रणमा लिईएको थियो ।
कोरोनाको बढ्दो जोखिमलाई न्यूनिकरण गर्न सरकारले विभिन्न योजनाहरु अगाडी सारेपनि स्थानीय निकायहरुमा भने लापर्वाही देखिएको छ । अन्य सवारी साधनहरु आवतजावतमा रोक लगाएको सरकारले खाद्यान्न ढुवानी गर्ने गाडीहरुलाई भने छुट् दिएको छ । तर यही मौका छोपेर ट्रकहरुले जोखिमको ख्यालनै नगरी मानिस ओसार पसार गर्ने गरेका छन् ।