बागलुङमा विदेशबाट ९ सय आए, क्वारेन्टाइनमा भने ४ जना मात्रै

बागलुङमा विदेशबाट ९ सय आए, क्वारेन्टाइनमा भने ४ जना मात्रै

Badigad Online
2 Min Read

बागलुङ चैत्र २५ । बाग्लुङमा चैत १ गतेदेखि जिल्लामा भित्रिएका सबै मानिसको रेकर्ड स्थानीय तहले निकालेका छन् । अहिले ८ सय २३ जनाको तथ्यांक संकलन भएको छ । छिटपुट रुपमा आएर पत्ता नलागेको समेत ९ सय भएको अनुमान छ ।

उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने सर्वोच्च अदालतले आदेशसमेत जारी गरेको छ । तर बागलुङका सबै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइन भने खाली छन् । उनीहरु होम क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सबै होम क्वारेन्टाइनमा बसेको रेकर्ड भएको भन्दै स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफू र आफ्नो परिवारको सुरक्षाका लागि उनीहरु क्वारेन्टाइन बस्नुपर्ने बताउनुभयो ।

नवौं कोरोना संक्रमितसँगै भारतबाट आएको भनिएका चार जना युवा बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेको अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । अन्य सबैजना भने घरघरमै छन् । जिल्लाका १० वटै पालिकाले संकलन गरेको तथ्यांकमा भारतबाट ६ सय ४६ जना आएको भेटिएको हो । बाँकी तेस्रो मुलुकबाट आएका छन् । सबै पालिकामा गरी अहिले ८ सय ५ वटा क्वारेन्टाइन बनेका छन् ।

कोरोना भाइरसको संक्रमण परीक्षणको दायरा बढाउन नसक्दा क्वारेन्टाइनमा बसेकालाई सुरक्षित भए नभएको बताउन नसकिएको गुरौले बताउनुभयो । स्वाब संकलन गरेर काठमाण्डौ पठाउने क्रम रोकिएको र जिल्लामा गर्ने भनिएको ‘द्रुत परीक्षण’ उपकरण नआएपछि रोकिएको छ ।

शनिबार निर्णय भएपनि मंगलबारसम्म उपकरण आएको छैन । उद्योग वाणिज्य संघ, स्थानीय तह र विभिन्न क्लबहरुले समेत सहयोग गरेर ती क्वारेन्टाइन बनेका थिए । अहिलेसम्म क्वारेन्टाइनमा बस्ने गरी कसैलाई पनि सिफारिस नगरिएपछि सबै घरघरमै बसिरहेका हुन् । लकडाउनको पहिलो दिनदेखि तेस्रो दिनसम्म सार्वजनिक संरचना, विद्यालय, युवा क्लबका भवन र केही स्वास्थ्यचौकी समेतलाई क्वारेन्टाइन बनाइएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित