परीक्षण नै नगरी कोरोना भनिदिएपछि, शव कुर्दा १० दिन बित्यो

परीक्षण नै नगरी कोरोना भनिदिएपछि, शव कुर्दा १० दिन बित्यो

Badigad Online
8 Min Read

बुटवलस्थित कोरोना अस्पतालमा मृत्यु भएका श्रीमानको शव १० दिनदेखि कुरिरहेकी रीता थापा क्षेत्रीको व्यथा उनकै शब्दमा :
मेरो घर पाल्पाको रिब्दीकोट गाउँपालिका ५, कुसुमखोला हो । ३४ वर्षका मेरा श्रीमान् बाबुराम थापाको बुटवलस्थित कोरोना अस्पतालको छाप्रोमा मृत्यु भएको आज १० दिन पुग्यो । उहाँको शव अस्पतालको डिप फ्रिजमै छ ।

म यतिखेर विलचित छु । मनमा अनेक कुरा खेलिरहेका छन् । एकातिर लाग्छ– मृत्यु भइसकेका मानिसको शवलाई फ्रिजमा राख्नु हुँदैन, लगेर दाहसंस्कार गरिहाल्नुपर्छ । अर्को मनले भन्छ– हुँदैन, अस्पतालको लापरबाहीले भएको मृत्युबारे प्रश्न उठाउनैपर्छ । उहाँ र हामीमाथि भएको अन्यायलाई यत्तिकै खरानी बनाउन हुँदैन ।

पाँच वर्षदेखि मेरो श्रीमान् दुबईमा ट्याक्सी चलाउने काम गरिरहनुभएको थियो । चैत ६ गते दुबईबाट काठमाडौं फर्कनुभयो । ७ गते सैनामैना आइपुग्नुभयो । घर आइपुग्दा ज्वरो आइरहेको थियो । मैले ’ज्वरो रहेछ नि’ भनेर सोध्दा काठमाडौं विमानस्थल आइपुग्दा नै ज्वरो आइसकेको बताउनुभयो । शरीरको तापक्रम नाप्दा ज्वरो देखिएपछि प्रहरीले आधा घन्टा त्यहीँ राखेछन् । पछि ’जहाजको चिसोले होला, घरमा गएर आराम गर्नुस् , बाहिर नहिँड्नुहोला’ भनेर छाडेका रहेछन् ।

घर आएर पनि उहाँ छुट्टै बस्नुभयो । ज्वरो ठीक भएन । मुख तितो भयो भनेर खाना पनि राम्रोसँग खानुभएन । दुई दिनसम्म मुर्गिया अस्पतालमा चेक गराउन गयौं । टाइफाइड देखियो । औषधि खानुभयो । तैपनि निको भएन । उहाँ ’ज्यान गलेको छ’ भन्नुहुन्थ्यो । ’खाना नखाएर हो’ भन्दै जबरजस्ती खुवाएकी थिएँ । ज्वरो नरोकिएपछि उहाँ आफै ढुक्क हुनुभएन । मेरो पनि मनले मानेन । ’बुटवल जान्छु’ भन्न थाल्नुभयो ।

घर आएको एक सातापछि चैत १३ गते बुटवल जानुभयो । घरबाट जाँदा ठीकठाक हुनुहुन्थ्यो । ’म पनि जान्छु’ भनेँ । ’त्यहाँ गएर पनि तिमीलाई सँगै बस्न दिँदैनन्’ भन्नुभयो । एक्लै अटो रिक्सा चढेर जानुभएको हो । त्यहाँ अञ्चल अस्पताल (अहिले लुम्बिनी प्रादेशिक अस्पताल) मा ज्वरो चेक गराउनुभएछ ।

ज्वरो देखेपछि डाक्टरले कोरोना हो कि भनेर कोरोनाको अस्थायी अस्पताल पठाएका हुन् रे । त्यहाँ गएपछि सुरुमा ठीक भएको छ भन्नुभएको थियो । फोनमा कुरा भइरहेकाले म पनि गइनँ । १४ र १५ गतेसम्म ’यहाँ अरु पनि बिरामी छन् , पिर मान्नु पर्दैन म ठीक हुँदै छु’ भन्नुभएको थियो । १५ गते शनिबार राति ९ बजे भिडियो कलमा कुरा गरेका थियौं । त्यति बेला पनि ’ठीक हुँदै छ, नआत्तिनु । बाबुहरुलाई खाना खान देऊ, तिमी पनि खाएर सुत’ भन्नुभयो ।

भोलिपल्ट आइतबार मैले ८ बजेतिर फोन गरेँ। धेरैपटक फोन गर्दा पनि उठेन । मन आत्तियो । पाल्पाबाट आमाले पनि फोन गर्नुभएको रहेछ । फोन उठेन भनेर मलाई पनि गर्नुभयो । मैले अन्तै फोन गरेर बुझ्न लगाएँ । उताबाट ’मोबाइलमा चार्ज सकिएर हो, पछि कुरा गर्नुहुन्छ’ भनियो । पछि ९ बजेतिर मात्र उहाँको फोन उठ्यो । बोल्न सक्नुभएको थिएन । दुईपटक ’अहं‘ अहं‘’ मात्र भन्नुभयो । त्यसपछि म आत्तिएँ ।

गाडी बन्द थिए । पुग्न ढिला भयो । १० बजेतिर अस्पतालबाट फोन आयो । ’बिरामीलाई गाह्रो भयो, अक्सिजन दिएका छौ ं। काठमाडौं लैजानुपर्ने भयो । अरु दुई तीन जना मान्छे लिएर आउनु’ भनियो । म साढे ११ बजेतिर अस्पताल पुगेँ । अक्सिजन लगाएको भनेपछि निकै डराएकी थिएँ । अस्पताल पुगेर भेट्छु र बोलाउँछु भनेँ तर भित्र जान दिइएन ।

डाक्टरले ’अहिले हेर्न मिल्दैन, कोरोना लागेको छ । के कसरी उपचार गर्ने हामी सल्लाह गर्दै छौं’ भन्नुभयो । म बाहिर कुरिरहेकी थिएँ । एक्कासि १ बजेतिर खबर आयो, ’तपाईंको मान्छेलाई बचाउन सकिएन‘।’ मलाई त के गरुँ, कसो गरुँ भयो । ’बोली सुन्न नपाए पनि एकपटक मुख त हेर्छु’ भन्दा ’अहिले हेर्न, छुन केही गर्न मिल्दैन’ भनियो । त्यतिबेलासम्म मलाई कसैले पनि उहाँलाई कोरोना लागेको छ भनेको थिएन । यदि कोरोना नै लागेको भए भर्ना भएको चार दिन (१३ देखि १६ गते) सम्म किन रिपोर्ट दिइएन भनेर मैले सोधेँ । तर, कसैले जवाफ दिएनन् ।

उहाँ बितिसकेपछि बल्ल १६ गते स्वाब निकालेर काठमान्डु पठाइएको रहेछ । यो त अस्पताल र डाक्टरको ठूलो लापरबाही हो । उपचार राम्रोसँग नगरेरै उहाँको ज्यान गयो । शनिबार राति मसँग कुरा गरेपछि नै उहाँलाई गाह्रो भएको रहेछ । तर, कसैले हेरेनन् । परीक्षण नै नगरी डाक्टरले कोरोना लागेको भनिदिए । कोरोना भनेपछि कोही अघि सरेनन् । बिहान मैले फोन गरेको र्गयै गरेर मान्छे पठाएपछि बल्ल हेर्न गएका रहेछन् । खाना पनि ढोकामा राख्दिन्थे रे । खायो खाएन, कुनै वास्ता नै थिएन । बिरामीलाई कुकुरलाई जस्तै व्यवहार गरियो । उपचार गर्न आफैं हिँडेर गएको मान्छे, अस्पताल गएपछि झन् यो हाल होला भन्ने मैले कल्पना नै गरेकी थिइनँ ।

पछि उहाँको रिपोर्ट आयो । रिपोर्टमा कोरोना देखिएन भनेका छन् । त्यसो हो भने के कारणले मृत्यु भयो भनेर मैले कारण खोजेकी छु । उहाँलाई अरु कुनै रोग थिएन । कुनै औषधि खाइरहनुभएको थिएन । मलाई अहिलेसम्म कारण दिएका छैनन् । हामी सामान्य मान्छे हौं । डेरामा बसेका छौं । दुई छोरा छन् , सात र आठ वर्षका । उनीहरुलाई पढाउन म तीन वर्षदेखि रुपन्देहीको सैनामैनामा बस्दै आएकी छु । मेरो उमेर २७ वर्ष भयो । कमाउने उहाँ मात्र हो । छोराको बोर्डिङको फि पनि तिरेको छैन । थोरै जग्गा किनेको ऋण छ । मैले अब उनीहरुलाई कसरी पाल्नु, ऋण कसरी तिर्नु? सोच्न सकिरहेकी छैन ।

उहाँ बितेको दिनदेखि कोरोनाले मरेको भनेर हल्ला फैलियो । म अस्पतालबाहिरको चौरमा राति १० बजेसम्म एक्लै रोएँ । एक्लै पल्टिएँ । कोही भेट्न र सान्त्वना दिन पनि आएनन् । राति बल्ल अस्पतालले नै एम्बुलेन्स खोजेर डेरामा ल्याइदियो । त्यसपछि पनि भेट्न आउने कोही छैनन् । आज १० दिन भयो । सद्गत गर्न पाइएको छैन । सरकारका मान्छेले पनि अहिलेसम्म लास लिन आइज भन्नेबाहेक केही भनेका छैनन् । उहाँलाई कोरोना लागेको भनेर हल्ला भएपछि डराएर कोही पनि आएनन् । घरमा ससुरा हुनुहुन्न । जेठाजु पनि बित्नुभयो । मद्रासबाट आउनुभएका अर्का जेठाजुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखेर तीन दिनअघि छोडिएको छ । छोडेपछि उहाँ आएर कुरा गर्नुभएको छ । मेरो दाइ पनि हुनुहुन्छ ।

मेरो आग्रह छ – अरु जे भए पनि लास उठाएर अन्त्येष्टि गर्न पाइयोस् । र, यी छोराका लागि भोलि भोक लाग्यो भन्दा के खान दिने हो ? त्यति व्यवस्था गरिदिए हुन्थ्यो । अहिलेसम्म अन्य कुनै औषधि नखाएको र रोग पनि नभएको मान्छेको मृत्यु के कारणले भयो । त्यो पनि पत्ता लगाइदिनुहोस् । रिपोर्टमा कोरोना नदेखिएपछि उहाँको मृत्यु अस्पतालको लापरबाहीले नै भएको भन्ने प्रमाणित भयो । त्यसैले अब क्षतिपूर्तिको कुरा नगरी लास नउठाउने भन्ने कुरा गर्नुभएको छ । म दाइ र जेठाजुले जे भन्नुहुन्छ त्यही मान्छु ।
यो खबर कान्तिपुर दैनिकबाट लिइएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित