प्रेम सुनार चैत्र २६ गुल्मी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण यतिबेला मजदुर वर्ग निकै प्रभावित बनेका छन् । काम गर्दा गर्दै एक्कासी लकडाउन भएको अवस्थामा उनीहरु हिँडेर कतै जाने अवस्था छैन् । तर म्याग्दीको एक सडकमा काम लगाउने ठेकेदारका नाइके नै भागेपछि भोकै बसेका कामदार ३ दिन हिँडेर बुधवार बिहान गुल्मीको सदरमुकाम तम्घास आएका छन् ।
आफ्नो घर दाङको तुल्सीपुर नगरपालिका वडा नम्वर १८ जान लागेका उनीहरुलाई गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्घा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले उद्धार गरि क्वारेन्टाइनमा राखेर खानको व्यवस्था गर्नुभएको छ ।
‘मलाई बाग्लुङ्घको गल्कोट नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले फोन गरेर ३ जना कामदारहरु आएका छन् खानपिनको ब्यवस्था गरि पठाउनुहोला भनेर फोन गर्नुभयो त्यसैले अहिले बिहानभरी उनीहरुलाई चिदिचौरमा कुरेर बसेको छु’ वडाध्यक्ष भलामील भन्नुभयो ।
तुल्सीपुरका २० वर्षीय बिशाल चन्द, २१ वर्षीय सुवास खनाल र २२ वर्षीय अर्जुन बस्याल डेड महिनाअघि ठेकेदारका नाईके झलकले बोलाएपछि म्याग्दीको वेनीस्थित सडकको नाली बनाउने काम गर्न पुगेका थिए । २१ दिनसम्म काम गरेको पैसा लिन थियो ती नाईके भागेपछि हामी भोकै बस्यौं त्यसपछि अस्ती बिहानै भिमपोखरा र अक्षेते गाउँ हुँदै हिजो राती बाग्लुङको गल्कोट आएका थियौं । त्यहाँका वडाध्यक्षले हिजो राती खाना खुुवाउनुभयो, बाटोमा खाजा पनि पठाउनुभएको थियो । अहिले विहान तम्घास आईपुगेका हौं’ उनीहरुले भने ।
गल्कोट नगरपालिका २ का वडाध्युक्ष भण्डारीले वडामा जो कोही मानिस प्रवेश गर्दा स्वयम सेवकहरुले चेक जाँच गर्ने गरेको र त्यसक्रममा आफुलाई जानकारी दिएको बताउनुभयो । यसर्थ बेखर्ची र भोकाएका उनीहरुलाई खाना र बस्नको ब्यवस्था गर्दै तम्घासका लागि त्यहाँका वडाध्यक्ष भरतजीलाई आग्रह गरेको हुँ । उहाँले यो विपदमा जो कोही मानिसलाई सहयोग गर्नु हामी सबैको कर्तब्य भएको बताउनुभयो ।
यता गुल्मीका वडाध्यक्ष भरत भलामीले ३ युवाहरु साह्रै थाकेकोले आज नगरपालिकाको क्वारेन्टाईनमा आराम गर्न लगाउने, होटलको खाना खर्च आफुुले ब्यहोर्ने तयारी गरिरहेको बताउनुभयो । बाटो खर्च समेत दिएर भोली अर्घाखाँचीका जनप्रतिनिधीहरुसँग समन्वय गर्दै दाङ पठाउने उहाँले बताउनुभयो । लामो यात्रा गरेका तीनै जनाको खुट्टाहरु फुटेर रातै भएका छन् ।