बैशाखदेखि बैंकहरूले व्याजदर घटाउने

बैशाखदेखि बैंकहरूले व्याजदर घटाउने

Badigad Online
2 Min Read

काठमाडौं, चैत २६ । वाणिज्य बैंकहरुले निक्षेप जम्मा गरेवापत सर्वसाधारणलाई दिने व्याजदर घटाएका छन् । बैशाखदेखि लागू हुनेगरी व्याजदर घटाएका हुन् । बैशाखदेखि बचत खातामा बैंकहरुले अधिकतम साढे ५ प्रतिशतसम्म मात्रै व्याज दिनेछन् । हाल बचत खातामा साढे ६ प्रतिशतसम्म व्याज दिँदै आएका छन् ।

त्यस्तै मुद्दती खातामा व्यक्तिगत तर्फ हाल ९. २५ प्रतिशतसम्म व्याज दिँदै आएकोमा बैशाखदेखि ८.२५ सम्म मात्रै दिने छन् ।
यो दरमा ०. ५ प्रतिशतसम्म बैंकहरुले थपिदिन सक्ने व्यवस्था छ । त्यसकारण हाल व्यक्तिगत मुद्दतीमा ९. ७५ प्रतिशतसम्म व्याज बैंकहरुले दिँदै आएका थिए । वैशाखदेखि मुद्दती खाता खोल्नेले अधिकतम ८. ७५ प्रतिशतसम्म पाउने छन् ।

त्यस्तै मुद्दतीमा संस्थागततर्फ बैशाखदेखि अधिकतम ७ प्रतिशतसम्म व्याज पाउने छन् । तीन महिनाभन्दा बढी अवधिको नवीकरणको हकमा ७. १० प्रतिशतसम्म व्याज पाउने छन् । पहिले नै लामो अवधिका लागि मुद्दती खाता खोलेकाहरुले भने तोकिएको अवधिसम्म तोकिएकै व्याजदर पाउने छन्। सो मुद्दती खाताको अवधि परिपक्व भएपछि खुल्ने नयाँ खातामा यही दर लागू हुनेछ । तर बचतको व्याज भने बैशाखदेखि सबैमा लागू हुनेछ ।

बैंकहरुले भद्र सहमतिको नाममा अधिकतम व्याजदरमा क्याप लगाएका छन्। जुन क्यापको अधिकतम सीमा नै घटाउँदै लगेका छन् । नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कोरोनाको प्रभावले ऋणीलाई असर परेकाले ऋणको व्याजदर घट्नेगरी बैंकहरुले नै निक्षेपकर्तालाई व्याज घटाएको बताउनुभयो ।

बचत र मुद्दतीमा दिने व्याजदर घटेपछि आधार दर घट्ने र त्यसले ऋणीहरुलाई राहत पुग्ने उहाँले बताउनुभयो । यसको प्रभावले जेठदेखि नै ऋणको व्याज सस्तो हुन जाने उहाँले बताउनुभयो । वैशाखबाट नयाँ दर लागू हुने भएकाले आधार दरमा त्यसले जेठमा मात्रै असर पार्ने उहाँले बताउनुभयो । सेतोपाटीले समाचार लेखेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित