काठमाण्डौ, चैत्र २६ । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएकोमा त्यसमध्ये तीनजना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
कोभिड १९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपालीको ज्यान गएको छ ।
१०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको संक्रमणमा परेका छन् । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । संक्रमण भएकामध्ये तीनजना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरूबाहेक थप नेपालीमा कोरोना संक्रमण भएको जानकारी प्राप्त भएको छैन । साउदी अधिकारीहरूले जारी गरेको तथ्याङ्कअनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार ९३२ पुगेको दूतावासले जानकारी दिएको छ । साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कर्फ्यू लगाएको छ ।
दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ । रासस