स्वास्थ्यकर्मी सुरक्षाकर्मी र कर्मचारीलाई तलब बराबर भत्ता

स्वास्थ्यकर्मी सुरक्षाकर्मी र कर्मचारीलाई तलब बराबर भत्ता

Badigad Online
3 Min Read

चैत्र २७, काठमाण्डौ । सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रण, उपचार, रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउन मुलुकभर खटिएका चिकित्सक, नर्स, स्वास्थ्यका प्राविधिक, कर्मचारीदेखि सुरक्षाकर्मीसम्मलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

मन्त्रिपरिषद्ले परिचालित सबै स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न जोखिम अवधिभर भत्ता दिने निर्णय गरेको हो । विवरण देशभरबाट सिफारिस भएर आएपछि मात्र यस्तो प्रोत्साहन भत्तामा कति खर्च हुन्छ भनेर यकिन भन्न सकिने अर्थ मन्त्रालयका अधिकारीले बताए ।

मन्त्रिपरिषद् कार्यालयका ती अधिकारीका अनुसार अग्रपंक्तिमा रहेर कोभिड–१९ बाट संक्रमित तथा आशंकित र आइसोलेसनमा रहेका बिरामीको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र नर्सले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेभएका छन् । अर्थात् उनीहरूले तलब बराबर नै थप भत्ता पाउनेछन् ।

दोस्रो पंक्तिमा रहेर पहिलो पंक्तिका चिकित्सक, स्वास्थ्यकर्मी र नर्सलाई सहयोग र्पुयाउने र प्रयोगशालामा काम गर्ने स्वास्थ्यका प्राविधिक कर्मचारीले तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् । पहिलो र दोस्रो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यका प्राविधिक कर्मचारीलाई सहयोग र्पुयाउने सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारी (तेस्रो पंक्ति) ले तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् ।

करारमा कार्यरत चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी, ल्याब र प्रयोगशालाका प्राविधिक तथा सहायक कर्मचारी तथा कार्यालय सहयोगीले समेत यस्तो प्रोत्साहन भत्ता पाउने उल्लेख छ । सरकारले स्वास्थ्य स्वयंसेविकालाई मासिक १५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउन खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीलाई समेत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

अग्रपंक्तिमा रहेर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर संक्रमित, आशंकित र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई समातेर ल्याउने सुरक्षाकर्मीले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् । संक्रमित, आइसोलेसनमा रहेका र आशंकित बिरामीको सुरक्षार्थ दोस्रो पंक्तिमा रहेर खटिने र पीपीई गाउन लगाउनु नपर्ने सुरक्षाकर्मीलाई भने ५० प्रतिशत प्रोत्साहन भत्ता दिइनेछ । आशंकितलाई पक्राउ गरेर ल्याउन तथा क्वारेन्टाइनको सुरक्षार्थ दोस्रो पंक्तिमा रहेर खटिने सुरक्षाकर्मीले समेत ५० प्रतिशत भत्ता पाउनेछन् ।

लकडाउन र सामाजिक दूरीलाई प्रभावकारी बनाउन र उल्लंघन गर्नेलाई नियन्त्रण गर्न तथा जनचेतना फैलाउन देशभरका चोक, सडक तथा बस्तीमा परिचालन हुने तेस्रो पंक्तिका सुरक्षाकर्मीले भने दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् ।  कर्मचारी सञ्चय कोषले समेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित आफ्ना सबै सञ्चयकर्ता कर्मचारीलाई कोभिड–१९ बाट संक्रमित भए १० लाख रुपैयाँसम्मको स्वास्थ्योपचार खर्च बेहोर्ने भएको छ । कान्तिपुर दैनिकबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित