बागलुङ, २७ चैत । कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारका लागि लकडाउन भएको १६ औं दिन बितिसक्दा पनि पश्चिम बागलुङको वडिगाड गाउँपालिकाले राहत वितरण गर्न सकेका छैन । लकडाउनको मारमा परेका अति विपन्न र मजदुरीका आधारमा श्रम गर्नेहरुको पहिचानमा सकस हुँदा यी पालिकामा राहत वितरण हुन नसकेको हो ।
वडा तहबाट वास्तविक मजदुर तथा विपन्नको तथ्यांक नआउँदा वडिगाड गाउँपालिकामा अहिलेसम्म राहत वितरण हुन सकेको छैन । सामग्री खरिद गरेर तयारी अवस्थामा राखिएको तर वास्तविक समस्यामा परेकाहरुको पहिचान गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताउनुभयो । वडाहरुबाट आएका तथ्यांकमा हुनेखानेको समेत नाम आएको भन्दै उहाँले दुरुपयोग रोक्न तत्कालका लागि वितरणको काम रोकेको बताउनुभयो ।
गाँउपालिका राहत वितरण गर्न तयार भएपनि वडाले पठाएका तथ्यांकमा विश्वास गर्न नसक्दा राहत वितरणमा अल्झिनु परेको पाईजाले दुखेसो गर्नुभयो । वास्तविक पीडितको विवरण मागेको तर घरजग्गा र गाडीवालाको समेत नाम आएको भन्दै अध्यक्ष पाईजाले राहतको नाममा राजनीति गर्न खोजिएकाले वास्तविक पीडितको पहिचान नभएसम्म राहत वितरण नहुने बताउनुभयो ।
दलिय छलफल र आवश्यक तयारीपछि तथ्यांक संकलनको काम सुरु भएपनि राहत दिएर भोट जोगाउने खेल भएको भन्दै उहाँले कोरोना आतंकभन्दा राहत आतंक भएको बताउनुभयो । सरकारले दिने भएपनि राजनीतिक रुपमा सिफारिस भएको र सहयोग गर्नुपर्ने बेला मौका हेरिएको बताउनुभयो । गाउँपालिकाको ९ लाख र प्रदेश सरकारबाट प्राप्त हुने ५ लाख गरी १४ लाख रुपैयाँको कोषबाट गाउँपालिकाले राहत दिने भनेको छ । तत्कालै समस्या भएका दर्लिङका दुई परिवारलाई ९० किलो चामल र अन्य सामग्री भने गाउँपालिकाले उपलब्ध गराईसकेको छ ।
ग्रामिण क्षेत्र भएकाले स्थानीय उत्पादन र अैंचोपैंचोमा समेत उनीहरुको दैनिकी चल्ने गरेको छ । विपन्न र मजदुरहरु खाली छाकै बस्नुनपरेको भन्दै चुनौतीको सामना गरेर भएपनि भोकै मर्न चाहिँ नदिने बताउनुभयो । राहत वितरणमा केही समस्या भएपनि बडिगाड गाँउपालिकाले सबै स्वास्थ्य संस्थामा पिपिईको जोहो गरेको छ ।
गोरखामा उत्पादन भएका ५० थान, महाबीर पुनको आविष्कार केन्द्रबाट प्राप्त १० थान, सांसद देबेन्द्र पौडेलमार्फत प्राप्त ५ थान र धौलागिरी अन्चल अस्पतालमार्फत प्राप्त १० थान गरि ७५ थान पिपिई हरेक स्वास्थ्य संस्थामा पुराएको छ । विरामीका लागि सहज उपचार गर्न स्वास्थ्यकर्मीलाई सहज होस भनेर पिपिई तयारी अवस्थामा राखेको पालिकाले जनाएको छ ।
पालिकाभित्र रहेका स्वास्थ्य संस्था, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र आपतकालिन अवस्थामा खटिने स्वयंसेवकका लागि समेत पिपिई तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखाका चुडामणि कँडेलले जानकारी दिनुभयो ।
साभार : बालकृष्ण सुवेदी ढोरपाटन दैनिक