पर्वत,चैत्र २८ । लकडाउनको बेला किसानहरु घरभित्र बस्नुपर्दा बाँदरले बाली खाएर हैरान पार्न थालेको छ । बाँदर धपाउनकै लागि सबैजना घरबाहिर निस्कन नपाउने भएकाले बाँदरलाई बाली नष्ट पार्न सजिलो भएको छ ।
पर्वतको एक गाउँका युवाले बाँदर नियन्त्रणमा आलोपालो गर्ने जुक्ति अपनाएका छन् । जिल्लाको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका युवाहरुले प्रत्येक घरमा दुईजनाले आलोपालो गरी बाँदर धपाउन पालो लगाएका हुन् । अहिले किसानले खेतबारीमा लगाएको मकै, तरकारी, फलफूलका फूल झारेर बाँदरले हैरान पारेको छ ।
खौलालाँकुरीका दिलराज पौडेलले आलोपालो गरेर बाँदर धपाउन थालेपछि सहज भएको बताउनुभयो । लकडाउनका कारण सबै गाउँले एकै पटक घरबाहिर निस्कन नपाउने भएकाले आलोपालो गरी बाँदर धपाउन थालिएको पौडेलले बताउनुभयो । कुश्मा नगरपालिकाको ठूलीपोखरी, आर्थर, खौला, फलेवासको थापाठाना, शंकरपोखरी, लिमिठाना, भंगारा, विहादीको बाच्छा र बर्राचौरमा लकडाउनको बेला बाँदरले बाली खाएर हैरान पारेको किसानहरुले बताउने गरेका छन् ।