ऐजेन्सी चैत्र २८ । कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको ज्यान गएको छ । पुर्ख्यौली घर बाग्लुङ भएका नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको हो । उनी मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा भाग लिन श्रीमतीसहित बेलायत गएका थिए ।
बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि उनलाई लण्डनको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो । १० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्य उपचार कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाका कारण निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा कार्यरत एक सामाजिक आभियान्ता पुडासैनीले दिएको जानकारी अनुसार मुख्य कुरो कोरोना संक्रमणका लागि ज्वरो, स्वाँ स्वाँ र सुख्खा खोकी मात्र कुरेर हुँदो रहेनछ । स्वाद नपाउने, गन्ध नआउने, डाइरिया हुने अथवा सामान्य अवस्थाबाहेक जेसुकै हुँदा पनि चनाखो हुनुपर्छ । आइसोलेसनको नियम पालना गर्ने, सरकारको निर्देशन पालना गर्नुपर्छ । जुन देशमा बसिएको छ, त्यो देशको सरकारले जारी गरेको निर्देशन मान्नुपर्छ ।
उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए । उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन् ।