कोरोनालाई जितेकी अभिलाषाको पत्र

कोरोनालाई जितेकी अभिलाषाको पत्र

Badigad Online
10 Min Read

अभिलाषा शर्मा । दुई हप्ता लामो भाइरससँगको युद्ध जितेर अहिले यत्तिको लेख्नसक्ने भएकी छु । कोरोना भाइरसले तनमन दुवैलाई नराम्रोसँग गलायो तर जीवनदेखि हरेश खुवाउन सकेन । चीनमा २०१९ डिसेम्बरमा देखिएको कोरोना त्यसको दुई महिनापछि अमेरिकासम्म आइपुगेको थियो ।

म यहीँ बस्छु । राष्ट्रपति ट्रम्पले अमेरिकालाई भाइरसले असर गर्दैन भनेर बारम्बार भनिरहन्थे । वासिङ्टन, क्यालिफोर्निया हुँदै न्यूयोर्कसम्म आइपुग्दा कोरोनाको क्षमता र क्षतिको सामान्य अनुमान भने धेरैलाई भएको थियो । कोरोनाको मारमा सबभन्दा पहिले त स्वास्थ्यकर्मी नै थिए र छन् । त्यसको भुक्तभोगी म आफैं हुँ । डर बोकेर काममा जानु, आएर त्यो डरलाई तातोपानी र साबुनले घोटीघोटी पखाल्नु दिनचर्या नै बनेको थियो ।

कोठा ३२७ र ११७ मा बसेका बिरामीको ज्वरो नियन्त्रण भएको छैन । सुख्खा खोकी पनि लागिरहेको छ पिपिई राख्नू है,’ हाकिमले यसोभन्दा मेरो मन चिसो भएको थियो । मैले काम गर्ने ठाउँमा कोरोना दैलो नाघेर मझेरीमै आइपुग्दा पनि कुनै पूर्वतयारी थिएन । एन ९५ मास्कको जोहो गरिएको थिएन, बजारमा पाइने कुरै भएन । सर्जिकल मास्कले नै काम चलाउँदै गइयो । सुरक्षीत हुने अरू उपकरण थिएनन् । दर्के झरीमा कर्कलोको पात ओडेर जोगिन खोजे जसरी के हुन्थ्यो र? भाइरसको सिकार हुनु बाहेक हामीसँग कुनै उपाय थिएन ।

ज्वरो नघटेका बिरामीलाई रेखदेख गर्नेहरूले पिपिई चलाउने निर्णय हुँदै थियो । त्यहीबेला सिडिसी (सेन्ट्रल डिजीज कन्ट्रोल)बाट ’स्पेसिमेन’ पठाए ती बिरामीको टेस्ट गरिदिने भनेर फोन आयो । दुई हप्ता अघि बिहीबारको कुरा हो। सर्जिकल मास्क र पन्जा लगाएर बिरामीको ’स्पेसिमेन’ लिन गएकी थिएँ । दुइटा नासल स्वाब गरेर पठाएँ अनि घर आएँ । उसो त मलाई बुधबारदेखि नै मन्द शरीर दुख्ने, टाउको दुख्ने भइरहेको थियो । शुक्रबार, शनिबार आफ्नो छुट्टि भए पनि यसपालि सहजै मिल्नेवाला थिएन । एसिटामिनोफिन खाएँ । मौसमी एलर्जी हो भने त आइतबारसम्म निको भइहाल्छु भनेर काममा गएँ । यो महामारीको समयमा स्टाफको कमी थियो ।

बिहीबार घर आउनासाथ नुवाइ धुवाइ सकें, कपडा धुन हालें र आराम गरें । शरीरको दुखाइ र थकान कम भएन । खान खासै मन लागेन । हजार मिलिग्राम एसिटामिनोफिन खाएँ । शुक्रबार बिहान उठ्दा घाँटी बेजोडले दुखेको थियो । दुखाइको यस्तो अनुभव मैले पहिलो पटक गरेकी थिएँ । फेरि पेनकिलर खाएर काममा पुगे । तर आधा दिनपछि काम गर्नै सकिनँ ।  मलाई कोभिड १९ को शंका भैसकेको थियो । लक्षणहरू सबै आफूमा मिल्न थालेको थियो, घाँटी दुख्ने, छोटो दूरीको हिँडाइमा पनि सास बढ्ने, लामो सास फेर्दा छाती दुख्ने, साँझपख खोकी लाग्ने, जिउ दुख्ने, ज्वरो आउने भएको थियो । मैले नपत्याए पनि त्यो जिण्डो भाइरसले मलाई संक्रमित बनाएरै छोड्यो ।

म घरमै क्वारेन्टिनमा बस्न थालें । आफूले एउटा कोठा र बाथरूम प्रयोग गर्ने, छोरा छोरीलाई एउटा कोठा र बाथरूम । कोरोना जाँच्न भने आँट आएको थिएन । शुक्रबार र शनिबार धेरै गाह्रो भयो । अर्जेन्ट केयरमा कार्यरत परिचारिका देवरानीले जँचाउन कर गरिन् । हिम्मत जुटाएर नजिकै अर्जेन्ट केयरमा फोन गरें । आफू आउन लागेको र कोभिड १९ मा एक्सपोज भएको जानकारी गराएँ । संभावित कोभिड १९ बिरामीले फोनमा जानकारी गराएपछि फोनबाटै भर्ना गराउने रहेछन् । पार्किंङ लटमै बसेर फोन गर्ने र भित्र आउने अनुमति नभएसम्म गाडीमै पर्खन पर्ने रहेछ । गाडी पछाडिको ढोकामा पार्क गर्ने निर्देशन थियो ।

’मास्क छ ?’ ’सर्जिकल मात्रै छ ।’ ’त्यही भए पनि लगाएर बस्नुस । हाम्रो परिचारिका बाहिरै आउँछन् र टेस्ट गर्छन् ।’ फोन राखेको १० मिनेटमा २ परिचारिका पिपिई लगाएर गाडी मै आए । ’पहिले फ्लू र स्ट्रेप थ्रोट क्लियर आउनु पर्छ अनि मात्र कोभिड १९ टेस्ट क्वालिफाई हुन्छ,’ उनीहरूले भने। ’म बिरामी छु, जे गर्नु पर्ने हो गर्नुस!’ नाक र घाँटीको स्याम्पल लिएर मलाई पन्ध्र मिनेट पर्खिन भने । मैले गाडी मै पर्खिरहेँ । पन्ध्र मिनटपछि एक पुरूष परिचारिकाले भित्र आउन इशारा गरे । यो भन्दा पहिले पनि म धेरै पटक यहाँ आएकी थिएँ । त्यो दिन भने भिन्नै तनाव महशुस भयो । सबैतिर प्लास्टिकका पर्दा, प्रत्येक कर्मचारीका नजर सशंकित र अन्जान परिणामसँग भयभित ! पहिले यहीँ ठाउँमा बिरामी परेर आउँदा अब ठीक हुन्छु भन्ने विश्वास हुन्थ्यो । अहिले कतै छोइएला र भाइरसले आक्रमण गर्ला भनेर सचेत भैरहन पर्ने ।

उस्तै प्रकृतिको काम हुने भएपनि यो अर्जेन्ट केयर जस्तो व्यवस्थित मैले काम गर्ने ठाउँ थिएन । र त मलाई सजिलै कोरोना लाग्यो । सर्जिकल मास्कको भरमा स्वाब लिन तम्सिएकी थिएँ, म साँच्चै गोर्खे नै थिएँ । ’तपाईंको दुवै टेस्ट नेगेटिभ आयो, अब कोभिड १९ टेस्ट गर्नुपर्ने भयो !’ परिचारिकाले भने ।भय मिश्रित ’हस्’ मा टाउको हल्लाएर अनुमति दिएँ । मुटु काम्यो । यसरी यतिका मान्छे प्रत्येक घण्टा मरिरहेका छन् । विश्वको के कुरा भयो ! न्यूयोर्कको समाचारले रातको निन्द्रा लुटेको थियो मेरो । इटली, इरान, स्पेनका समाचार हेर्न बन्दै गरिसकेकी थिएँ ।

केही मिनेटपछि फिजिसियन असिस्टेन्ट आए । अल्लि पर बसेर मलाई सबै कुरा सोधे । जाँचे । कोरोना भएको पुष्टि भैसकेको थियो । मलाई ढाडस दिए । कसरी बस्ने के गर्ने श्वासप्रश्वासमा समस्या भए कुन औषधि प्रयोग गर्ने विस्तारमा बताए । ’सास फेर्न गाह्रो भए तुरून्तै हस्पिटल जाने तर जानुअघि म यो कारणले आउँदैछु भनेर खबर गर्नू है,’ उनले सम्झाए । उनी यस्तै सुझाव दिँदै गए मलाई भने एउटा अनिश्चित डर र त्रासले गाँज्दै थियो । मान्छे भविष्यको कुनै ज्ञान नहुँदा मात्रै खुसीसाथ बाँच्दो रहेछ । भरे के हुन्छ, कहिलेसम्म मात्र बाँचिन्छ भन्ने ज्ञान भए त मान्छे निस्फिक्री हुन नसक्ने रहेछ । घर आएँ, कोठामै बस्न थालें ।

दिनहरू बित्दै गए, खानाको स्वाद हरायो, खाने मन पनि भएन, भोक लाग्न छोड्यो, वाकवाकीले प्रेग्नेन्सीका दिनहरू सम्झाइदियो । टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेले त जिन्दगीसँग मितेरी लाइसकेका थिए । कुनै दिन उठेर इमर्जेसी रूमसम्म पनि पुगें । जिन्दगीमा बाँच्नभन्दा गाह्रो मृत्युको भय रहेछ । कोरोनाको कहरमा ममात्रै कहाँ परेकी थिएँ र? मेरा दुई छोराछोरी पनि छन् । म बिरामी परेलगत्तै छोराछोरीको दिनचर्या समेत फेरियो । स्थानीय स्वास्थ्य संस्थानले आएर उनीहरूलाई पनि मेरो कोठाको ढोका र हेण्डल नछुन, छोइहाले २० सेकेण्डसम्म राम्रोसँग हात धुने निर्देशन दिएको थियो । उनीहरूले त्यो निर्देशन एकदिन पनि उल्लंघन गरेनन् ।

छोराछोरी गाडी कुदाउन सक्दैनन् त्यसैले म कोठामै थुनिएपछि उनीहरू पनि आफ्नै कोठामा थुनिए । मेरा आफन्त र साथीले खाना हाम्रो घरको मूल ढोकासम्म ल्याएर छोडेर जान्थे । छोराछोरीले त्यही तताएर मेरो कोठाको ढोकासम्म ल्याइदिन्थे । कहिले बाहिरैबाट बोलाउँथे र सञ्चो बिसञ्चो सोध्थे । कहिले फेसटाइम गर्थे । मसँग टाँसिएर बस्न पर्ने छोराछोरीहरू २ हप्तासम्म आँखाले देख्ने तर हातले छुन नसकिने दूरीमा बसे । छोरी आएर ढोकाबाट मलाई हेरी बस्थी । मैले के हेरेको भन्यो भने हैन यत्तिकै भनेर छड्किन्थी । कहिले भने तिमीले मलाई हेरेकी छौ कि जस्तो लागेर भन्थी । म उसलाई यसो नगर, त्यसो नगर भन्थें ।

भन्दाभन्दै भित्र कमजोर भैसकेकी हुन्थें । मान्छेको जातलाई आफ्नाको नजिक जान नपाइने कुराले सबभन्दा कमजोर बनाउने रहेछ ।
कोभिडको लागि जँचाउन पठाएपछि मेरा दिनहरू लामा अनि रातहरू अत्यासलाग्दा र पट्यारलाग्दा भएका थिए । ’सुतेको बेला निमोनियाले गाँजेर अवस्था जटिल हुन सक्छ,’ भन्ने डाक्टरको सुझाव सम्झेरै सुत्न डर लाग्थ्यो । निदाएपछि उठिँदै नउठिने त हैन? भन्ने त्रासले निदाउन दिन्नथ्यो । जुन बेला बिमारीले च्याप्थ्यो, त्यो बेला अब मरिन्छ जस्तो लाग्ने । बिमारीले थोरै कम च्यापेको बेला मनमा आउने अनेकन तर्कना र सोचहरूले एन्जाइटीको शिखर चुम्थ्यो ।

ल अब त निको हुन थाल्यो जस्तो धेरै चोटि भयो । अनि फेरि सहनै नसकिने गरी निस्कने अर्को चरणका लक्षण देखिन्थे । बिरालोले मुसा खेलाए झैं कोरोनाले मलाई खेलाएको थियो । म मरी मरी बाँचीरहें । आफन्त र साथीसंगीले दिएको भरले नै कोरोनासँग लड्ने आत्मविश्वास दिलाइरह्यो । यी दिनमा छोराछोरीलाई राम्रोसँग हेर्न पाएकी थिइनँ । सञ्चो भएको पनि ७२ घण्टासम्म उनीहरूलाई अंगालोमा बेर्न पाइनँ । किनभने यहाँको स्थानीय स्वास्थ्य संस्थानको निर्देशन थियो । तिमीले आफन्तको नजिक जान लक्षण नदेखिएको सात दिन र ज्वरो नआएको ७२ घण्टाभन्दा बढी समय पर्खिनू ।

केसहरू बढेसँगै सहर चकमन्न हुँदै गएको छ । फेरि कतै कसै गरी भाइरसले आक्रमण गर्ला भन्ने डरले म भने आतंकित छु । घरमा बाबु नानीले अलि जोडले खोके भने पनि म छांगाबाट खसेजस्ती हुन्छु । शासक अदूरदर्शी, जिद्धी र महामूर्ख भयो भने अमेरिका जस्तो शक्तिशाली राष्ट्रको पनि यो हविगत हुने रहेछ । ठूलो, सानो, धनी, गरिब केही नछुट्टाउने यो भाइरसबाट बच्न नियमहरू पालना गरौं । सरकारले दिनेभन्दा ठूलो भर हामीलाई सहनै नसकिने सामाजिक दूरीले दिनेछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस