गुल्मी चैत्र २९ । लकडाउनका कारण बिद्यालय बन्द भएपछि घरमा खाली बसेका शिक्षकहरुलाई गुल्मीको ईस्मा गाउँपालिले सडकहरुमा आवतजावत गर्ने मानिसहरुको सुरक्षार्थ परिचालन गरेको छ ।
गाउँपालिका भित्रका चौतर्फी नाकाहरुमा ३ सय १२ जना शिक्षकहरु परिचालन गरि आवतजावत गर्ने मानिसहरुको चेक जाँच गर्ने गरेको ईस्मा गाउँपालिकाका शिक्षा प्रमुख लालबहादुर कुँवरले जानकारी दिनुभयो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले शिक्षक मात्र नभई ५० जना हेल्थ वर्कर, ७२ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि सडक चेक जाँचमा खटाइएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा एकदेखि अर्को वडामा आवतजावत गर्न लकडाउन गरिएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताउनुभयो । कोरोना भाइरसको संक्रमणबाट इस्मावासीलाई बचाउन सचेतना कार्यक्रममा कर्मचारीदेखि सबै वडाका जनप्रनिधिहरुलाई परिचालन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिनुभयो । ईस्माका सबै स्वास्थ्य चौकीहरुमा नियमित स्वास्थ्य उपचारमा स्वास्थ्यकर्मीहरु खटिएको पाइएको छ । आईतबार दोहोली स्वास्थ्य चौकीहरुमा विरामीहरुको भीड थियो ।
स्वास्थ्यकर्मीहरु उपचारमा ब्यस्त थिए । लकडाउन सुरु भएको दिनदेखि हालसम्म नियमित स्वास्थ्य उपचारमा खटिएको अहेव निर्मला थापा मगरले बताउनुभयो । गाउँपालिकाका सबै वडामा रहेका ७ वटा स्वास्थ्य चौकीहरुमा नियमित कार्य सञ्चालन भइरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम अधिकारीले बताउनुभयो ।
शाखा प्रमुख अधिकारी र प्रहरी सहायक निरीक्षक मोहनलाल अधिकारीको संयोजकत्वमा प्रहरी सहित स्वास्थ्यकर्मीहरुको मोवाईल टिम टोल टोलमा पुग्ने गरेको जनाइएको छ । हालसम्म लकडाउनको पालना नगर्ने २४ जनालाई कार्बाही गरिएको जनाइएको छ । ईस्मामा तेश्रो मुलुकबाट २० जना, भारतबाट १ सय ५९ सहित १ सय ७९ जना भित्रिएको आइटी अफिसर बाबुलाल थापाले जानकारी दिनुभयो ।